काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन १०–११ अगस्ट २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनमा “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” भन्ने मूल नाराका साथ सफलतापूर्वक सम्पन्न भयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न सो सम्मेलनलाई नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो तथा भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गरेका थिए ।
सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्णकुमार सुबेदी, नेपालका राजनीतिक दलका प्रतिनिधि, सरकार, निजी क्षेत्र, एनआरएनए आईसीसी तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी एवं प्रतिनिधिहरू, विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू, उद्यमी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा ३५ भन्दा बढी देशबाट २५० भन्दा बढी सहभागीहरू प्रत्यक्ष रूपमा तथा भर्चुअल माध्यमबाट समेत गरी ४०० भन्दा बढीको सहभागिता रहेको थियो।
सम्मेलनका विभिन्न विषयगत सत्रहरूमा गैरआवासीय नेपालीहरूको नागरिकता तथा कल्याण, युरोपेली लगानी, क्षेत्रीय चुनौती तथा अवसर, आर्थिक तथा श्रम कूटनीति, महिला तथा युवा सहभागिता, दोस्रो पुस्ताको संलग्नता, डायस्पोराको ज्ञान तथा नवप्रवर्तन र एनआरएनएको रिब्रान्डिङलगायतका विषयमा घनिभूत छलफल, भर्चुअल प्रस्तुति, अन्तरक्रिया तथा विचार–विमर्श गरी महत्वपूर्ण निष्कर्ष र सुझावहरू प्रस्तुत गरिएको थियो । उक्त छलफलबाट प्राप्त निष्कर्ष, सुझाव र प्रतिबद्धतालाई समेट्दै नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई थप सुदृढ, परिणाममुखी र दीर्घकालीन बनाउने, गैरआवासीय नेपालीका अधिकार तथा सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने तथा नेपालको आर्थिक र सामाजिक विकासमा नेपाली डायस्पोराको योगदानलाई थप व्यवस्थित, प्रभावकारी र संस्थागत गर्ने उद्देश्यका साथ १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन डब्लिन घोषणापत्र–२०२६ जारी गरिएको छ ।
यस्तो छ डब्लिन घोषणापत्र–२०२६
१ ) नेपालको विधानको धारा १४ बमोजिम गैरआवासीय नेपाली नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार तत्काल कार्यान्वयन गर्न गैरआवासीय नेपालीसम्बन्धी विधेयक, २०८३ लाई एनआरएनएका सुझाव समेटी यथाशीघ्र संसदबाट पारित गरी कार्यान्वयन गर्न अनुरोध गर्दछ। साथै एक पटकको नेपाली, सधैंको नेपाली” को मान्यताअनुसार वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न आवश्यक संवैधानिक व्यवस्था गर्न अनुरोध गर्दछ।
२) नेपालको आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन युरोपमा रहेका नेपालीहरूको पूँजी, सीप, अनुभव तथा सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्न र गैरआवासीय नेपाली लगानीका कानुनी, प्रशासनिक, वित्तीय तथा प्रक्रियागत अवरोध हटाई लगानीमैत्री वातावरण निर्माण गर्न नेपाल सरकारसमक्ष यो सम्मेलन अनुरोध गर्दछ।
३) एनआरएनए डेभलपमेन्ट फण्ड सम्बन्धमा एनआरएनएले लामो समयदेखि उठाउँदै आएको धितोपत्र जारीसम्बन्धी विषयलाई जारी पुँजीको ८५ प्रतिशतसम्म धितोपत्र जारी गर्न सक्ने गरी कार्यान्वयनको दिशामा अघि बढाउनुभएकोमा नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय तथा नेपाल सरकारप्रति यो सम्मेलन हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। साथै यस फण्डमा ठूला लगानीका अतिरिक्त साना तथा मझौला लगानीमा समेत सहभागी हुन गैरआवासीय नेपाली समुदाय तथा सम्बन्धित लगानीकर्ताहरूलाई यो सम्मेलन आहवान गर्दछ ।विभिन्न क्षेत्रीय सम्मेलनहरुमा रोड शोको तयारीका लागि सम्बन्धित क्षेत्र तथा राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्दछ।
४) नेपाललाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न तथा युरोपलगायत विभिन्न मुलुकमा Nepal House लगायत नेपाल प्रवर्द्धनका संस्थागत माध्यमलाई सुदृढ गर्दै नेपाली उत्पादन, पर्यटन, संस्कृति,कला लगायतका अवसरलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। साथै, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, बजारीकरण र ब्रान्डिङका लागि डायस्पोराको सञ्जाल, व्यावसायिक पहुँच तथा अनुभवलाई प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक पहल गर्न सबैलाई आहवान गर्दछ ।
५) युयुरोपलगायत विश्वभर रहेका नेपाली श्रमिकको अधिकार, सुरक्षित तथा मर्यादित रोजगारी, सीप विकास, सामाजिक सुरक्षा र प्रभावकारी श्रम कूटनीति सुनिश्चित गर्न आवश्यक नीतिगत सुधार गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । नियमित आप्रवासनका अवसर तथा वैधानिक श्रम मार्ग (Regular Migration Pathways) लाई सुदृढ गर्न तथा पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोएसिया, सर्बिया लगायतका मुलुकमा हुने गैरकानुनी मानव ओसारपसार नियन्त्रण र जनचेतना अभियान सञ्चालन गर्न नेपाल सरकार, नेपाली कूटनीतिक नियोग तथा सरोकारवालाबीच प्रभावकारी समन्वयका लागि आग्रह गर्दै त्यसका लागि सहकार्य गर्ने प्रतिबद्ता व्यक्त गर्दछ। साथै नेपालीको उल्लेख्य उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा श्रम सहचारीको व्यवस्था, डेनमार्कस्थित नेपाली दूतावासको निरन्तरताको लागि सरकारसंग आग्रह गर्दछ ।
६) डायस्पोरामा नेपाली महिलाको नेतृत्व, उद्यमशीलता, आर्थिक सहभागिता तथा निर्णय प्रक्रियामा प्रतिनिधित्व बढाउन विशेष कार्यक्रम सञ्चालन गर्दै महिलाको सुरक्षित आप्रवासन, स्वास्थ्य, कानुनी पहुँच, आर्थिक आत्मनिर्भरता तथा नेतृत्व विकासलाई एनआरएनएको प्राथमिकतामा राख्दै आवश्यक सहकार्य र समन्वयका लागि आहवान गर्दछ ।
७) एनआरएनएको वर्तमान तथा भविष्यको नेतृत्वमा युवा तथा दोस्रो पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै उनीहरूलाई नेपाली भाषा, संस्कृति, इतिहास, पहिचान र मातृभूमिसँग जोड्न युरोपस्थित नेपाली समुदाय, विद्यालय तथा सम्बन्धित संस्थाबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। साथै, युवा तथा दोस्रो पुस्तालाई एनआरएनएको नेतृत्व र निर्णय प्रक्रियाका महत्वपूर्ण साझेदारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
८) विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा पेशाकर्मीको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्न Nepali Knowledge and Skills Network निर्माण तथा सुदृढ गर्दै डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनका क्षेत्रमा नेपाल–डायस्पोरा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। साथै, युरोपसहित विश्वभर रहेका नेपाली उद्यमी, व्यवसायी, लगानीकर्ता तथा पेशाकर्मीको Enterprise Mapping गरी उनीहरूको विशेषज्ञता, लगानी क्षमता र बजार पहुँचको तथ्यांक संकलन तथा डिजिटल माध्यमबाट परिचालन गर्न आवश्यक पहल गर्न सरोकारवाला सबैलाई आह्वान गर्दछ।
९) आगामी जनवरीमा आयोजना हुने चौथो विश्व ज्ञान सम्मेलन, पहिलो विश्व महिला सम्मेलन तथा प्रथम र दोस्रो पुस्ता सम्मेलन सफल बनाउन नेपाल सरकार, राष्ट्रिय समन्वय परिषद्लगायत सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सहयोग र सहकार्यका लागि यो सम्मेलन आह्वान गर्दछ। साथै, मध्यपूर्व क्षेत्रीय सम्मेलन नोभेम्बर २०२६, ओसेनिया क्षेत्रीय सम्मेलन डिसेम्बर २०२६ तथा अमेरिकाज् क्षेत्रीय सम्मेलन अप्रिल २०२७ मा सफलतापूर्वक आयोजना गर्न आवश्यक सहयोग र सहकार्यका लागि सम्बन्धित सबैमा आह्वान गर्दछ।
१०) काठमाडौंमा सम्पन्न संघको रणनीतिक कार्यशालाबाट तयार ‘ल्च्ल्ब् च्यबमmबउ तय द्दण्घण्’ कार्यान्वयन गर्न आईसीसीले अघि सारेको रिब्रान्डिङको योजना कार्यान्वयन गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ। साथै, सम्पूर्ण पञ्जीकृत सदस्यहरूले अनलाइनमार्फत आईसीसीको नेतृत्व चयन गर्ने नयाँ वैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न समयमै आवश्यक पूर्वाधार तयार गर्न आईसीसीलाई अनुरोध गर्दछ।
११) यस सम्मेलनबाट पारित घोषणा तथा सुझावलाई कार्यान्वयन योग्य कार्ययोजनामा रूपान्तरण गरी सम्बन्धित विभाग, क्षेत्रीय संरचना, राष्ट्रिय समन्वय परिषद् तथा सरोकारवाला निकायको जिम्मेवारी निर्धारण गर्ने र नियमित अनुगमन तथा प्रगति समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
१२) एनआरएनएको सबैभन्दा ठूलो शक्ति नै एकता हो। संस्थाको हित, उद्देश्य र नेपाली डायस्पोराको साझा अधिकारका लागि आईसीसी, एनसीसी तथा सम्पूर्ण अग्रज, अभियन्ता र सदस्यहरूलाई आपसी मतभेदभन्दा माथि उठी एकता, सहमति र सहकार्यका साथ एकजुट भएर अघि बढ्न यो सम्मेलन आह्वान गर्दछ।
१३) ब्रिटिस गोर्खाहरूले लामो समयदेखि उठाउँदै आएको असमान पेन्सन तथा विभेद अन्त्यको माग र गोर्खा वंशजका लागि नेपाली नागरिकताको निरन्तरतासम्बन्धी मागलाई यथाशीघ्र सम्बोधन गर्न यो सम्मेलन नेपाल सरकारसमक्ष हार्दिक आग्रह गर्दछ। साथै, विश्वप्रसिद्ध पर्वतारोही स्व। निर्मल पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले नेपालको नाम, पहिचान र प्रतिष्ठालाई विश्वभर उँचो बनाउन पुर्याउनुभएको अतुलनीय योगदानको उच्च प्रशंसा गर्दछ।
१४) इजरायललगायतका देशहरूमा सरकार–सरकार ९न्द्दन्० सम्झौतामार्फत कार्यरत नेपाली कामदारहरूको सेवा–सुविधा तथा रोजगारीको अवधि थप गर्न सम्बन्धित सेवा प्रदायक कम्पनी तथा प्रतिष्ठानहरूसँग आवश्यक समन्वय र सहजीकरण गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछ।
१५) संघको आगामी १८औँ युरोप क्षेत्रीय सम्मेलन आयोजना गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूके र पोल्याण्डले इच्छा जाहेर गरेकोमा आईसीसीले आवश्यक निर्णय गरी यी दुईमध्ये एक देशमा सम्मेलन आयोजना गरिनेछ।
सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहकार्य र योगदान पुर्याउनुहुने आयोजक राष्ट्रिय समन्वय परिषद् आयरल्याण्ड, आयोजक समितिका सदस्यहरू, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरू, युरोप क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरू, प्रायोजकहरू, स्वयंसेवकहरू, सञ्चारकर्मीहरू, काठमाडौंस्थित सचिवालयका कर्मचारीहरु, तथा सम्पूर्ण व्यक्ति र संस्थाहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यत्त गरिएकाे छ ।
वि.सं.२०८३ साउन २७ बुधवार ११:१० मा प्रकाशित






























