चितवन । चितवन प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ३ः४० बजे राप्ती नगरपालिका–१० स्थित चिप्लेटीमा गोप्य सूचनाका आधारमा प्रहरीले कार जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको कारलाई चेकजाँच गर्दा चालक दिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कारको पछाडिको डिक्कीमा रातो प्लास्टिकलाई सेतो पानी टेपले बेरेर लुकाइराखिएको अवस्थामा चारपाटे आकारका १२ वटा पोका फेला परेका थिए। ती पोकाबाट कुल १६८ किलो गाँजाजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद गाँजासहित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
वि.सं.२०८३ भदौ ९ मंगलवार ११:०६ मा प्रकाशित






























