काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ। बैठकमा बाढीबाट उत्पन्न परिस्थितिको समीक्षा गर्दै आगामी दिनमा अपनाउनुपर्ने कदमबारे छलफल भएको जनाइएको छ।
बैठकमा प्रधानमन्त्री शाहले सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा खटिएर प्रभावित नागरिकको उद्धार, खोजी तथा राहत कार्यमा सहयोग गर्न अनुरोधसमेत गरेका छन्।
रसुवामा बिहान आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको खबर आइरहेको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रसम्म पर्न सक्ने भएकाले सम्बन्धित निकायले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएका छन्।

वि.सं.२०८३ भदौ १० बुधवार १२:०८ मा प्रकाशित






























