काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्र प्रभावित भएका छन्। भोटेकोसी नदीमा आएको बाढीका कारण बेत्रावती, स्याफ्रुबेसी, शान्तिबजारलगायतका क्षेत्रमा क्षति पुगेको खबर आएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। उनले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकखण्डमा अनावश्यक यात्रा नगर्नसमेत आग्रह गरेका छन्।
भोटेकोसीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी आसपाससम्म पुगेको र आगामी केही घण्टामा मुग्लिन क्षेत्र पार गर्ने सम्भावना रहेको भन्दै त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रधानमन्त्री शाहले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिइएको बताएका छन्।
जोखिममा रहेका नागरिकलाई एसएमएस तथा फोनमार्फत जानकारी गराउँदै तत्काल सुरक्षित स्थानमा जान अलर्ट गरिएको उनले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार अचानक आएको बाढीका कारण ठूलो क्षति भएको हुन सक्ने बताएका छन्। उनका अनुसार बाढी अत्यन्त तीव्र गतिमा आएका कारण क्षतिको यकिन विवरण संकलन गर्न कठिन भइरहेको छ।
बाढीका कारण तल्लो तटीय क्षेत्रमा रहेका केही जलविद्युत् आयोजनामा समेत क्षति पुगेको हुन सक्ने बताइएको छ।
उद्धारका लागि सेना, प्रहरी परिचालन
रसुवामा भोटेकोसी नदीमा आएको अचानक बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको उनले बताएका छन्।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको बताउँदै प्रधानमन्त्री शाहले मेडिकल टोली, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक काम अघि बढाइएको जानकारी दिएका छन्। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको उनले बताएका छन्।
हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा
सम्भावित उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर स्ट्यान्डबाइमा राख्न जानकारी गराइएको र केही हेलिकप्टर प्रभावित क्षेत्रतर्फ गइसकेको उनले जानकारी दिएका छन्।
बाढीपछिको अवस्थाबारे थप आवश्यक निर्णय लिन उच्चस्तरीय बैठक बोलाइएको पनि प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित सरकारी निकायबाट आउने उद्धार तथा राहतसम्बन्धी आधिकारिक अपडेट कुर्न आग्रह गरेका छन्।
उद्धार, सहायता तथा थप जानकारीका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
वि.सं.२०८३ भदौ १० बुधवार ११:१८ मा प्रकाशित




























