काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम तीव्र पारिएको छ।
वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार चोगटे–सरमथली–जीरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडकमा देखिएका समस्या समाधान गर्दै निर्माण तथा स्तरोन्नतिको कामलाई निरन्तरता दिइएको हो।
बिहानीदेखि नै सडक निर्माण तथा स्तरोन्नतिको काममा टोली परिचालन गरिएको जनाउँदै मुख्यमन्त्री थापाले सडकलाई थप फराकिलो र आवतजावतमा सहज बनाउने कामसमेत तीव्र गतिमा अघि बढाइएको बताएका छन्।
विपद्का कारण मुख्य सडकमार्ग प्रभावित भएपछि वैकल्पिक सडकलाई तत्काल सञ्चालनयोग्य बनाउने प्रयास भइरहेको हो। सडक सहज बनेसँगै नागरिकको आवतजावतका साथै राहत, उद्धार तथा अत्यावश्यक सामग्रीको ओसारपसारमा समेत सहजता पुग्ने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री थापाले नागरिकको सहज यात्रा र सुरक्षित भविष्यका लागि सडक निर्माण तथा स्तरोन्नतिको काम निरन्तर जारी रहने बताएका छन्।
उनका अनुसार विपद् व्यवस्थापनसम्बन्धी बैठकबाट भएको निर्णयअनुसार राहत तथा आवश्यक सामग्रीको संकलन, व्यवस्थापन र वितरणमा संघीय, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय र सहकार्य गरी एकीकृत रूपमा काम गर्ने व्यवस्था गरिएको छ।
उनले विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा अत्यावश्यक सेवा र सामग्रीको पहुँच सहज बनाउने कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन्।
वि.सं.२०८३ भदौ १५ सोमवार १२:२७ मा प्रकाशित






























