काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान चौथो दिन पनि निरन्तर फिल्डमा खट्रयाे ।
अभियानअन्तर्गत एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएकाे साे टाेेलीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ र ३ का जनप्रतिनिधिसँग भेटघाट गरी रसुवाबाट काठमाडौं ल्याइएका तथा येलो गुम्बामा आश्रय लिइरहेका करिब ३०० जना बाढीपीडितको अवस्था, आवश्यक सहयोग र तत्कालका आवश्यकताबारे जानकारी लिइएको थियाे।
प्रभावित नागरिकको आवश्यकताका आधारमा आगामी राहत तथा सहयोगका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थानीय तह तथा जनप्रतिनिधिसँग आवश्यक समन्वयसमेत गरिएको एनआरएनएले जनाएको छ।
यसैगरी, नुवाकोटमा बाढीबाट प्रभावित तथा विस्थापित भई हाल काठमाडौंमा रहेका पीडित परिवारसँग भेटघाट गरी उनीहरूको तत्काल आवश्यकताबारे प्रत्यक्ष जानकारी लिइएको छ। बाढीपीडित परिवारका प्रतिनिधिसँग एनआरएनए सचिवालयमा समेत भेटघाट गरी उनीहरूको अवस्था, आवश्यकता र तत्काल सम्बोधन गर्नुपर्ने विषयमा छलफल गरिएको संघले जनाएको छ।
राहत तथा उद्धारसँगै बाढी–पहिरो प्रभावित नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै एनआरएनएले स्वास्थ्य तथा चिकित्सकीय सहयोगलाई समेत निरन्तरता दिएको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा स्वास्थ्य समितिका पूर्वसंयोजक डा. सञ्जीव सापकोटाको नेतृत्वमा स्वास्थ्य टोली नुवाकोट पुगेर विदुर तथा आसपासमा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकको स्वास्थ्य परीक्षण, उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरेको छ।
हेलिकोप्टरमार्फत विभिन्न प्रभावित क्षेत्रबाट उद्धार गरी विदुर ल्याइएका नागरिकलाई राखिएका दुईवटा होल्डिङ सेन्टरमा एनआरएनएको स्वास्थ्य टोलीले प्रत्यक्ष स्वास्थ्य सेवा दिएको हो।
स्वास्थ्य परीक्षणका क्रममा प्रभावित नागरिकमा विभिन्न शारीरिक समस्या देखिनुका साथै विपद्को प्रत्यक्ष अनुभव, आफन्त तथा सम्पत्तिको क्षति र विनाशका कारण उत्पन्न मानसिक तनाव र आघातलाई सम्बोधन गर्न मनोसामाजिक तथा मानसिक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।
स्वास्थ्य टोलीले विपद्का बेला अचानक बेहोस भएका, प्रतिक्रिया नदिने तथा नाडी नचलेका व्यक्तिलाई तत्काल जीवनरक्षक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) कसरी प्रदान गर्ने भन्ने विषयमा व्यवहारिक प्रदर्शनसमेत गरेको छ।
स्वास्थ्य टोलीमा नेपालबाट वरिष्ठ बालरोग विशेषज्ञ डा. शिव श्रेष्ठ र मनोसामाजिक विज्ञ राजन छत्कुली लगायत सहभागी थिए।
एनआरएनएले प्रभावित नागरिकको आवश्यकताका आधारमा राहत, स्वास्थ्य सेवा तथा मानवीय सहयोगका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने रणनीति तय गरेको जनाएको छ।
यसै क्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी प्रभावित क्षेत्र तथा उद्धार गरिएका नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने विषयमा छलफल गरिएको छ। अस्पतालमा आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री तथा अन्य आवश्यकताबारे जानकारी आदानप्रदान गर्दै आगामी स्वास्थ्य सहयोगलाई प्रभावकारी बनाउने विषयमा समेत समन्वय गरिएको संघले जनाएको छ।
यसैगरी, एनआरएनए उपाध्यक्ष प्रविन गुरुङको नेतृत्वमा चितवन महानगरपालिका–१७ मा बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरी प्रभावित क्षेत्रको वास्तविक अवस्था र स्थानीय आवश्यकताबारे जानकारी लिइएको छ।
राहत, स्वास्थ्य सेवा र मानवीय सहयोगका कार्यक्रमलाई प्रभावित नागरिकको आवश्यकता तथा स्थानीय तहसँगको समन्वयका आधारमा निरन्तर अघि बढाइने जनाइएकाे छ।
वि.सं.२०८३ भदौ १५ सोमवार १३:०१ मा प्रकाशित






























