Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

चक्रवर्तीद्वारा नियम विपरीत भर्ना, एकैदिन रु ९२ लाख संकलन



chakrabarti

२७ भदौ, भक्तपुर । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)सँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो ।

सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेर प्रतिविद्यार्थी रु दुई लाख ५० हजार अग्रिम शुल्क लिएर विद्यार्थी भर्ना गराएको हो ।

कलेजका लेखा शाखाका विक्रम देउजाले एकदिनका लागि भर्ना खोलेको बताउँदै १३७ जना विद्यार्थीले आवेदन दिएकामा ३७ जनालाई भर्ना गरिएको र तीनवटा सिट छात्रवृत्तिका लागि राखिएको बताउनुभयो ।

सिटिइभिटीसँग अनुमति नै नलिई कुन आधारमा भर्ना गरिएको भन्ने प्रश्नमा उहाँले यसबारे आफूलाई थाहा नभएको तर विगत दुईवर्षदेखि अदालतबाट अन्तरिम आदेस ल्याएर विद्यार्थीलाई परीक्षामा सहभागी गराउने गरेकाले यसवर्ष पनि सिटिइभिटीविरुद्ध अदालत जाने तयारी भएको बताउनुभयो ।

कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहसँग यसबारे जानकारी लिन खोज्दा उहाँ राससको सम्पर्कमा आउनुभएन ।

कलेजले अवैधानिकरुपमा विद्यार्थी भर्ना गराएर ठगी गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै गुनासो पुगेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले तत्काल भर्ना रोक्न कलेजलाई निर्देशन दिनुभएको छ ।

पोखरेलले भन्नुभयो, “कलेजका प्रतिनिधिलाई बोलाएर तत्काल अवैधानिक भर्ना रोक्न मैले निर्देशन दिएको छु, भर्ना भएका विद्यार्थीले पैसा फिर्ता लान चाहेमा दिने र सिटिइभिटीविरुद्ध अदालत जान्छौँ भन्दै जानुभएको छ ।”

यता सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले चक्रवर्ती हवि नर्सिङ कलेजलाई सिटिइभिटीले विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान नगरेको र नवीकरणसमेत नगरेको बताउँदै विद्यार्थीलाई भर्ना नगर्न सूचना जारी गरेको बताउनुभयो ।

विद्यार्थी भर्ना भए त्यसको जिम्मेवार सिटिइभिटी नहुने बताउँदै उहाँले विगत दुईवर्ष अदालतको आडमा विद्यार्थी भर्ना गराए पनि यसवर्ष भने कलेज खारेज गर्ने प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
कलेजले विगत दुईवर्ष पनि यसैगरी अवैधानिकरुपमा विद्यार्थी भर्ना गर्ने र अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थीको रजिस्ट्रेसन दर्ता गराउने गर्दै आएको थियो ।

सिटिइभिटीको नियमअनुसार हरेकवर्ष विद्यार्थी भर्नाअघि कलेजको भौतिक तथा शैक्षिक पूर्वाधार ठीक भए÷नभएको, शिक्षक गुणस्तरीय भए÷नभएको, आफ्नै अस्पताल वा एकसय शय्याका अरु अस्पतालसँग प्रयोगात्मक शिक्षाका लागि अनुमति लिए÷नलिएको अनुगमन गरेर सिटिइभिटीको मापदण्ड पूरा गरेकालाई मात्रै विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान गर्ने र नवीकरण गर्ने नियम छ ।

चक्रवर्तीले सिटिइभिटीका यी कुनै नियम पूरा नगरेको सिटिइभिटी सम्बन्धन महाशाखाका निर्देशक जीवनारायण काफ्लेले जानकारी दिँदै कलेजमा शिलबन्दी गरिने बताउनुभयो ।

सिटिइभिटीले पनि कानूनी बाटो अवलम्बन गर्ने बताउँदै सदस्य सचिव वाग्लेले भन्नुभयो, “नर्सिङ कलेजको सम्बन्धन दिने, नवीकरण गर्ने अधिकार सिटिइभिटीसँग मात्रै छ, कि ऐन खारेज गर्नुप¥यो, हैन भने ऐन, नियम विपरीत विद्यार्थी भर्ना गर्ने र अदालतको आडमा स्टे अर्डर जारी गरे कलेज खारेजीको प्रक्रियामा अगाडि जान्छौँ ।”

विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विगतमा अदालतको स्टे अर्डरलाई मानेर विद्यार्थीको रजिस्ट्रेसन गरिए पनि यसवर्ष भने ऐन मिच्ने, १०० शय्याको अस्पतालमा प्रयोगात्मक गर्न अनुमति नभएको, पूर्वाधार नपुगेको र नवीकरण नगरेकाले विद्यार्थीको रजिस्ट्रेशन नगर्ने अदालतले सिटिइभिटीको भनाइ छ ।

अदालतले सिटिइभिटी प्रशासन प्रमुख रमेश बखतीले चक्रवर्ती नर्सिङ कलेजले झुटो सूचना जारी गरेर जनमानसमा भ्रम फैलाउँदै विद्यार्थी भर्ना गराएको सुन्नमा आएको बताउँदै सिटिइभिटीले भर्ना नहुन सार्वजनिक सूचना नै जारी गरेकाले त्यसको जिम्मेवारी सिटिइभिटीले नलिने बताउनुभयो ।

विद्यार्थी भर्ना गर्न आएका अभिभावक चाँगुनारायण नगरपालिका–९ का नकुल राउतले कलेजले विद्यार्थीलाई भर्नाको नाममा ठगी गरेको बताउँदै भर्ना भएका विद्यार्थीको रकम फिर्ता गर्नुपर्ने बताउनुभयो ।

भर्ना भएका विद्यार्थी र उनका अभिभावकले कलेजमा दिनभर भेला भएर कलेजले विद्यार्थीको भविष्य अन्योल बनाउन खोजेको बताउँदै रकम फिर्ता गर्न माग गरेका थिए ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब