डम्बर बस्नेत काम नपाएर समय फाल्न यता हाम फालेका होइनन् । बिहान बेलुकाको छाक टार्ने र गुजारा चलाउने माध्यम नभएर गाईपाल्न थालेका पनि होइनन् । गाउँदेखि नै उनी खान पुग्ने परिवारका छोरा हुन् । धनकुटा जिल्ला चौबिसे गाउँपालिका ८ आपडाँडामा जन्मे हुर्केका उनले सानै उमेरमा गुजराती भैँसी पालिसकेका थिए । पदम बस्नेतका नाती पुष्प बस्नेतका छोरा डम्बरकाजी यतिबेला सचेततापूर्वकनै गाईपालन व्यवसायमा लागेका हुन् ।
‘नेपालको समृद्दि उत्पादनबाटै सम्भव छ तर, उत्पादनमैत्री वातावरण नै छैन,’ ऐक्यबद्धतासँग उनले भने । सबै कुरो सरकारले गरीदिन्छ भनेर हारगुहार गर्ने त होइन तर मुलभूत रुपमा सरकार जिम्मेवार हुनुपर्नेमा उनको जोड छ । ‘कल्पतरु’ हाउजिङ तथा मेनपावर व्यवसाय समेत चलाइसकेका बस्नेत गाईपालनलाई नमुना नै बनाउँछु भनेर आफै खट्ने गरेका छन् । भक्तपुरको दधिकोट गाम्चा देखि नजिकै शिकारीटारमा झण्डै ५० रोपनी जग्गा भाडामा लिएर गाईपालन गरेका उनले दैनिक ६५० लिटर शुद्ध दूध उत्पादन र बिक्रि वितरण गर्ने गर्छन् ।
होलेस्टोन जातका खाइलाग्दा र रहरलाग्दा हृष्टपुष्ट गाई उनको फर्मका आकर्षक हुन् । फर्मको बनावट पनि उनले आधुनिक बनाएका छन् । मान्छेलाई झैँ लामखुट्टेबाट गाइलाई बचाउन उनले मसिना जालीको जोहो गर्दैछन् । १० वटा साना बाच्छि, १५–२० वटा वयस्क बाच्छि, ८–१० वटा व्याउने गाई र २५–३० वटा दुहुना गरी ८० को संख्यामा रहेको उनका गाई स्वस्थ्य देखिन्छन् । फमसँगै जोडिएका ठाउँमा उनले ‘सिओ थ्री’ र मलाटो लगायतका विभिन्न प्रजातिका घाँस राम्रैसँग लगाएका छन् भने लगभग २० हजार लिटरको ट्यांकीमा उनले गाईको गहुत भरेर राखेका छन् । सँगै रहेको मलखादमा झण्डै ७०० गाडी अग्र्यानिक मल तयार रहेको छ । ४–५ रोपनीमा फैलिएको सागबारीमा ८–९ प्रजातिका साग हेर्दैमा टिपेर खाउँ -खाउँ छन् ।
हरियो घाँस काट्ने र पिस्ने मेशिन राखेर उनले एउटा सानो घरलाई घाँस घर बनाएका छन् भने अर्को सानो घरलाई दाना घर बनाएका छन् । बजारमा थरी थरीका तयारी दाना पाइन्छन् तर त्यहाँ उनी आफैले तयार गर्ने गरेका छन् । यसबारे थप उनी भन्छन् ‘बजारको दाना खुवाएर पालिएका धेरै गाई फार्महरूमा गाई नब्याएर बिजोग भएको मैले देखेको छु । त्यस्ता दानामा युरिया मिसाउने हुँदा ब्याइसकेका गाईले दूध धेरै त दिन्छ तर पछि नब्याउने र दूध पनि घट्ने सम्भावना बढी हुन्छ ।’ त्यसैले उनी आफैले दाना तयार गर्ने गरेको कोठामा लगेर देखाउँदै भने ‘मसुरो, रहर, मासको दाल, फापर र गहुँको पिठो’ लगायत आफैले ल्याएर पिसेर दाना बनाउने गरेको छु ।’ गाईलाई टुक्रा पारिएका पराल काठमाडौँ बाहिरबाट मगाउने गर्छु, त्यसमा हरियो घाँस मिलाएर दिएपछि गाईले मिठो मानेर खान्छन्, केही फाल्दैनन्, उनले सबिस्तार लगाए । उनले गाईलाई घाँस दिने ढुँड पनि व्यवस्थित किसिमले बनाएका छन् । प्रत्येक गाईलाई छुट्टाछुट्टै ढुँड बनाइएका छन् भने पानी धारा खोलिदिएपछि प्रत्येकको ढुँँडमा जान्छ । धेरै कुरामा आधुनिक प्रविधि अपनाएका उनले ध दुहुने काम भने मान्छेबाटै गराउने गर्दछन्, उनका अनुसार दूध दुहुने मेशिन नेपालमा त्यक्ति सफल छैनन् ।
उनले ५०० लिटर चिस्यान क्षमता रहेको मिनी डेरी राखेका छन् भने पाश्चराइज्ड मेशिन पनि सँगै जोडेका छन् । दहि, महि, घ्यु, नौनी र पनिरका लागि आवश्यक उपकरण पनि व्यवस्था गरेका छन् । शुद्ध दूध खानेलाई शुद्ध साग उपलब्ध गराउने गरी उनले नयाँ बानेश्वरको संसद भवनबाट पुरानो बानेश्वर तर्फको १०० मिटर नजिकै ‘गोलोक डेरी’ पनि खोलेका छन् । डेरीमा पुगेर किन्न नभ्याउनेहरूले यदि फोन गरेर माग गरे घरघरमा समेत पु¥याउने गरेका छन् ।
सरकारले किसानलाई अनुदान दिएर बिगार्नु भन्दा सहुलियत ऋण दिनुपर्छ भन्ने धारणा भएका डम्बर बस्नेत आफैले भने सहुलियत ऋण उपयोग गर्न पाएका छैनन् । झण्डै ६ करोडको हाराहारीमा लगानी गरिसकेका उनले १५ प्रतिशतको महँगो ब्याजमा ३८ लाख बैंकको ऋण प्रयोग गरेका छन् । आफ्नो फर्मलाई अझै आध्ुनिक र भ्रमण तथा तालीम र प्रविधिको केन्द्र मात्र होइन, एग्रो रिर्सोटको सोचमा लैजाने उनले बताए ।
फर्मबाट देखिने हिमालहरूको मनमोहक दृश्यसँगै ढिकी, जाँतो, घट्ट, पोखरी, वल्छि जस्ता मौलिक सेवा प्रदान गरेर ‘अग्र्यानिक स्टे’ प्रबद्र्धन गर्ने तयारीमा लागेका छन् बस्नेत । कृषक र उत्पादनको महत्व सम्बन्धित पक्षले नबुझेका कारण संस्थागत रुपमा अघि बढ्न आफू अष्ट ज अभियानमा सक्रिय भएको र निकट भविष्यमै गाईपालक कृषकहरूको राष्ट्रिय भेला आयोजना गर्ने पनि उनले बताएका छन् । अनुदानका नाममा नक्कली कृषक मोटाउने तर साँचो कृषक भने मारमा पर्ने गरेको र कृषक ऋणै ऋणका कारण व्यवसाय नै परिवर्तन गर्नु पर्ने अवस्था आउने गरेको गुनासो सुनाउँदै कृषकलाई उत्साह प्रदान गर्न र त्यस्ता नक्कली कृषकलाई सार्वजनिक गर्न पनि गाईपालक कृषकहरूको राष्ट्रिय भेला मार्फत संगठित हुन जरुरी रहेको उनको भनाइ छ ।
प्रस्तुतिः चन्दा थापा