back
CTIZAN AD

दुई पार्टीको एकता : व्यङ्ग र बधाईका लहरहरु

वि.सं.२०७४ फागुन ८ मंगलवार

771 

shares

नियत धेरै पहिलेदेखि र प्रयत्न केही समय देखि हुँदै आएको ‘२ पार्टीको कम्युनिष्ट एकता ले सोमबार मध्यरातमा औपचारिकता लिएपछि नेपाली समाजमा अनेकौ क्रिया प्रतिक्रियाहरु तरंगीत भइरहेका छन् ।
मंगलबार बिहाँन देखि यो पंक्तिकारलाई फोनमै आएका व्यंग र बधाईका तरंगहरु लेखी साध्य छैनन् । मेरा मित्र नयाँ शक्तिका एक नेताले भने ‘बधाई छ एमाले बन्नु भएछ ।’ किरण कामरेड नेतृत्वको पार्टीका एक आत्मीय कमरेडले भने ‘देख्नु भो, जनयुद्ध शब्द पनि यिनलाई एलर्जी हुँदै गयो’ विप्लव नेतृत्वको नेकपाका एक नेता कामरेडले भने, ‘भद्दा शंसोधनवादमा डुबेकाहरुले हाम्रै पार्टीसँग नाउँ किन जुधाएको होला !’ माओवादी सँग एकता गा¥हो भन्दै कडा स्टाटस लेखिरहने एक एमाले कमरेडले फोनमा भने ‘आखिर ओली कति उदार छन ?’ कांग्रेस निकट मेरा आफन्तले मुखै फोरे, ‘माओवादी पुरै लम्पसार परेछ नी ! यस्तै क्रममा लामो समयदेखि आन्दोलनमा सँगै लागेका साथीभाईहरुले समेत आत्मसमर्पण वा एकता ! का विषयमा जिज्ञासा शेयर गर्न निकै खोजे ।
पार्टी एकताका सम्बन्धमा पूर्व एमालेका मित्र कामरेडहरुबाटै खासै तिता टिप्पणी आएका छैनन् । आन्दोलनको क्रममा तत्कालिन माओवादीबाट दुःख झेलेका थोरै कार्यकर्ता बाहेक एमाले पक्षको अधिकाधिक पंक्तिले यो एकताको खुलेर प्रशंसा गरेको देखिन्छ र निकै उत्साहित पनि पाईएको छ । तर, १ देखि ७ बुँदा सम्म जनयुद्ध शब्द कतै नदेखिएको भनि धारीलो टिप्पणी गर्ने माओवादी पंक्ति भने निकै बाक्लो पाईएको छ । ७ बुँदाको अन्तर्य र ध्येयलाई व्याख्या गरेर आ–आफ्नो आत्मरती गरेको पनि संजालहरुमा पढ्न पाइएको छ ।
दुई पार्टी बिचको एकतामा आएका प्रतिक्रिया हेर्दा मुख्यत दुई अतिमा आधारीत देखिएका छन् । एउटा अतिले संसारै विजय गरेको जस्तो हौवा फैलाएको छ र आलोचनात्मक चेतलाई पूरै बन्धक बनाएको छ भने अर्को अतिले नकारात्मक मानसिकतालाई पुरै उदांगो पारेको छ । पहिलो अतिले राजनैतिक क्रमभंग, ऐतिहासिक छलाङ नयाँ यूगको शुरुवात भन्दै समाजवाद प्राप्ति गरिसक्यौ भन्ने तहसम्म संप्रेषण गरेको छ भने दोश्रो अतिले माओवादीको निर्लज्ज आत्मसमपर्ण सम्म भन्न थालेको छ । नकारात्मक प्रवृत्ति आलोचनात्मक चेतवाट टाढा पुगेर ध्वंशात्मक योजनामा सम्म सामेल हुने खतरा हुन्छ । पार्टी र आन्दोलन पुरै विग्रीयो वा नेताहरुले विगारे भन्ने अर्को बुझाइ पनि सँगसँगै देखा परेको छ । यो बुझाई अभिव्यक्त गर्नेहरुले ध्वंशात्मक ध्येलाई अस्वीकार गरेका छन् भने हनुमानपन्थीहरुको तिब्र आलोचना गरेका छन् ।
एकतामा जुटेका दुवै पार्टीभित्र धन (पैसावाला) र डन (बन्दुक वाला) को प्रभाव जवरजस्त रहेको र पार्टी भित्रको आन्तरिक प्रतिश्पर्धा समेत पूरै शान्तिपूर्ण बनाउन नसकिएको परिस्थितिका विच बहुदलिय जनवाद र एक्काइसौं शताब्दिको जनवादको संभावित संयोजन पूरा शान्तिपूर्ण कसरी हुन्छ ? भनेर प्रश्न गरीएका छन् । गधालाई धोएर गाई कसरी बन्ला ? यस्तै विभिन्न जोड र कोणबाट प्रश्नहरु उब्जाईएका छन् । दलाल पुँजीवादको वरपरबाट निश्चित र मुठिभरको स्वर्गका लागि एकता गरीएको कुरा प्रचारमा आएको छ । दिल्लीको नयाँ अभ्यासका रुपमा एकतालाई परीभाषित गर्न पनि खोजिएको छ । चमत्कारिक वर्ग उत्थानका हिमायतीहरुले नयाँ आवरणमा ठगि गर्न खोजेको आरोप समेत लगाईएको छ । गौरवशाली जनयुद्धको इतिहास मटियामेट पार्न खोजेको, शहीद वेपत्ता र घाईते योद्धाको हुर्मत लिन खाजेको र नेपाली क्रान्तिमाथि भयानक गद्दारी गरेको संवेदनशील आरोपहरु सहित टिप्पणीहरु आएका छन् ।
‘धेरै अति ः हुन्छ खति’ भन्ने नेपाली उखान यहाँ सान्दर्भिक छ । निश्चय पनि बैचारिक स्खलन, कम्युनिष्ट आचरण र समाजवादी संस्कृतिका प्रश्नहरु उठ्नु उठाइनु जायज छ । तर, त्यसको नाउँमा जनचाहना विपरीत गएर बोलिने चर्को अभिव्यक्तिले कुनै पनि अर्थमा आन्दोलन र क्रान्तिलाई सहयोग गर्दैन । कतिपय नेतृत्वमा समस्या उठेको हो भने पनि नेपाली कम्यूनिष्ट क्रान्तिकारीहरुको एकता चाहाने आम भावमाथि नकारात्मक अभिव्यक्तिले स्वयं क्रान्ति चाहेको बताउनेहरुलाई पनि हित गर्दैन् । नेपाली जनताको चाहना र समृद्ध नेपाल निर्माणको कोर्षलाई छाडेर अन्यथा सोच्न सकिने बेला होइन् यो । दर्शन, विचार, सिद्धान्त र राजनीतिलाई जनव्यवहारसँग नजोडी सुखै छैन । जनयुद्धमार्फत प्राप्त ऐतिहासिक परिवर्तनलाई छिपाएर व्यक्तिगत पद र प्रतिष्ठा हत्याउने पुरानो खेल जनताले राम्रोसँग नियालिरहेको पनि नेतृत्वलाई थाहा हुनैपर्छ ।
जनताको विशाल समर्थन र आन्दोलनबाट प्राप्त परिणामको द्धन्द्धात्मक व्यवस्थापन हुन सके मात्र एमाले–माओवादी एकताको सार्थकता हुनेछ भन्न्ने मत नै सहि र सत्य हो । समाजवाद घोडा चढेर आफैँ नआउने हुँदा मुख्य नेतृत्वहरुमा व्यक्तिवाद हटेर समाजवादी पारदर्शिता आउनुपर्छ भन्ने खबरदारी सहित धेरै टिप्पणी आएका छन् । एमाले र माओवादीमा तात्विक अन्तर खास थिएन भनेर बुर्जुवाहरुको जस्तो बाध्यात्मक एकताको प्रचार पनि तिब्र छ यतिबेला । तर, घुम्दै फिर्दै जहाँको तहि हुन नसक्ने गरी नयाँ रुपान्तरण हुने प्रतिबद्धत सार्वजनिक भएकोले दुईपार्टीवीचको यो एकतालाई सकारात्मक रुपमा सोच्न सक्नु पर्छ । यसको अर्थ आलोचनात्मक चेतको अवसान होइन रुपान्तरणका लागि खबरदारीको भने आवश्यकता जरुरी छ ।

वि.सं.२०७४ फागुन ८ मंगलवार १०:४० मा प्रकाशित