
केहि समय नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी परियोजनामा प्रशिक्षकको रुपमा आफ्नो पेशाको सुरुवात गरेका टंक भट्टराई त्यसपछि युनिलिभर नेपाल र सुविसुमा पनि मानब संसाधन बिभागमा काम गरेको अनुभव छ । वि.सं. २०७२ देखि उनी शंकर ग्रुपमा मानब संसाधन बिभागको विभागिय प्रमुखको रुपमा कार्यरत छन । हाल उनी शंकर ग्रुपको मानव संसाधन व्यवस्थापन बिभाग तथा नेपाल मानव संसाधन समाजको उपाध्यक्ष समेत रहेकाछन । उनै भट्टराईसंग सन्सारन्युज डटकमका लागि लिएको अन्तरवार्ता ।
हाम्रो सन्दर्भमा मानव संसाधन व्यवस्थापन खालि कर्मचारीहरुको व्यवस्थान मात्रै हो की अन्य कुनै कोणबाट पनि हेर्न सकिन्छ ?
मानव संसाधन व्यवस्थापन भन्नाले कुनै पनि संघ, संस्था, कम्पनीले कर्मचारी छनौट तथा भर्ना गर्र्ने,तालिम दिने, सीप अभिबृद्धि गर्ने, कार्यसम्पादन मुल्यांकन गर्ने, दक्षता तथा क्षमता अभिबृद्धि गर्ने, बिभिन्न क्रियाकलापहरुमा सहभागिता गराउने, र छोडेर जाने (अबकाश लिने) कर्मचारीहरुलार्ई व्यवस्थित रुपमा बिदाइ गर्ने आदि महत्वपूर्ण बिषयहरु मानव संसाधन व्यवस्थापन भित्र पर्दछन । नेपालका पनि कुनै पनि संघ, संस्था, कम्पनीमा मानव संसाधन व्यवस्थापन महत्वपूर्ण बिभागको रुपमा क्रमशः बिकास भईरहेको बिद्यमान अवस्था छ । निश्चय नै कुनै पनि संघ, संस्था, कम्पनी वा संगठन संचालन गर्ने मानिसहरुले नै हो । त्यहाँ कार्यरत कर्मचारीहरु जति धेरै सक्षम, सवल, अब्बल र अनुभवि हुन्छन् । मुलतः त्यसकै आधारमा संस्थाको सफलता वा असफलता हुने निश्चय हुन्छ ।
मानव संसाधन व्यवस्थापन एउटा कर्मचारी नियुक्ति देखि अवकाशसम्मको समग्र व्यवस्थापन नै मानब संसाधन व्यवस्थापन हो भन्ने कुरा त भयो, अब शंकर ग्रुपमा कुन कुन तरिकाले कर्मचारीको परिपूर्ति गर्ने गरिएकोछ ?
विशेषः गरेर हामीले जनशक्ति आपूर्ति गर्नको लागि यहाँको सन्दर्भमा कुन बिभागमा कस्तो कर्मचारीको आवश्यकता हो ? कति योग्यता भएको ब्यक्ति चाहिने हो ? उसको उसको अनुभव कति हुनुपर्ने हो ? उसले के के काम गर्नु पर्दछ ? पढाइको कुरा हुन्छ, विशेष ज्ञान, सीप र दक्षताको कुरा हुन्छ । यिनै उल्लेखित बिषयहरुको आधारमा हामी बिभिन्न राष्ट्रिय पत्रिका र अनलाइन जब पोर्टलहरुमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशन गर्दछौं । त्यसपछि कम्पनीको आवश्यकता अनुसारकोे जनशक्ति सर्टलिस्ट गर्दछौं । सर्टलिस्ट गरिसके पछि बिभिन्न चरणको अन्तरवार्ता लिन्छौं । सुरुको अन्तरवार्तामा विभागीय प्रमुख र बिषयगत ब्यबस्थापकहरु पनि हुन्छन । उनीहरुले स्विकृत गरिसके पछि मानव संसाधन विभागले हेर्दछ । मानव संसाधन विभागले विशेषः गरेर उनीहरुको कार्यशैली कस्तो छ ? सकारात्मक कार्यशैली छ कि छैन ? कम्पनीमा लामो समय टिक्छ कि टिक्दैन ? ब्यक्तिगत क्षमताहरु के के छन ? कम्प्युटर सम्बन्धी दक्षता छ कि छैन ? समुहमा काम गर्न सक्छ कि सक्दैन ? आदि जस्ता बिषयको सुक्ष्म अध्ययन गरेर प्रतिष्पर्धाको आधारमा सवल उम्मेद्वार लाई छनौटको चरणमा अगाडि बढाउछँौं । कर्मचारीहरुको अन्तिम छनौट भन्दा अगाडी आवश्यकता अनुसार उम्मेद्वारलाई व्यक्तिगतरुपमा नजिकबाट राम्ररी चिन्ने व्यक्तिबाट रिफरेन्स चेक पनि गर्ने गर्दछौं । निश्चय यि सवै प्रक्रिया अपनाउनु पर्ने प्रमुख कारण भनेको मानब संसाधन बिभागले छनौट गर्दा सहि ब्यक्ति, सहि समय र सहि स्थानमा हुनु पर्दछ भन्ने प्रमुख मान्यता रहेको हुन्छ ।
यो भनिरहँदा आम मान्छेको एउटा गुनासो रहने गरेकोछ, निजी क्षेत्रमा कर्मचारी आबश्यकता सम्बन्धी गरिने बिज्ञापन देखाउनका लागि मात्रै हो, भित्र भित्रै आफ्ना मान्छे नियुक्ति गर्छन भन्ने आरोप छ नि? यसमा के भन्नु हुन्छ ?
त्यसको लागि म स्पष्टपार्न चाहान्छु, यो कम्पनीको ओनरसिप कस्को हो भन्ने तपाईंले बुझ्नु भएकै छ, । यस संस्थामा म पनि कुनै व्यक्तिगत सम्बन्धका आधारमा छनौट भएर आएको होइन । अहिले म आफैं नै यत्रो ठूलो संस्थामा आएर मानव संसाधन विभागको प्रमुख भै व्यवस्थापन गरिरहेको छु । मलाई कम्पनीका सन्चालकहरुले मेरो व्यक्तिगत दक्षतालाई हेरेर नियुक्त गर्नु भएको हो । मैले पनि त्यहि क्षमतालाई प्रयोग गरेर कर्मचारी नियुक्ति गर्ने हो । पहिला पहिला तपार्इँले भनेको जस्तो अबस्था पनि थियो होला म त्यसलाई अन्यथा मान्दिन तर बिस्तारै हामीले त्यस्तो सोच हटाउँदै गइराखेकाछौं । जब की कम्पनीले कर्मचारी नियुक्ति गर्ने ठाउँमा नै स्वतन्त्र मान्छे राखेको छ भने त्यस्तो कार्य निरन्तर शुन्य नै छ भन्ने नै बुझ्नु पर्ने हुन्छ ।
शंकर ग्रुपको तर्फबाट कर्मचारीको बृत्ति बिकासमा के कस्ता कार्यहरु गरिरहनु भएको छ ?
बिषयगत दक्षता, क्षेत्रगत अनुभवका आधारमा कुनै पनि कर्मचारीहरुको छनौट र भर्ना प्रक्रिया अपनाईने हुनाले सोहि अनुसार नै कम्पनीको आवश्यकता र व्यक्तिगत दक्षताको आधारमा कर्मचारीहरुको बृत्ति बिकासको प्रबन्ध गर्ने गरेका छौं । हरेक बिभागीय प्रमुखहरुले गरेको कार्यसम्पादन मुल्याङ्कनलाई आधार मान्दै कर्मचारीहरुमा भएको कमि कमजोरीलाई सुधार गर्ने, उनीहरुलाई थप उत्साह र मनोवल प्रदान गर्ने गरि कर्मचारीहरुको बृत्ति बिकासमा विशेष ध्यानाकर्षण गर्ने कार्य शंकर ग्रुपले गरिरहेको छ । कर्मचारीहरुको बिषयगत अभिरुचि, दैनिक कार्यमा आवश्यक ज्ञान, सिप र दक्षता आदि कर्मचारीहरुको लागि बृत्ती बिकासका प्रमुख आधारहरु हुन । अहिलेको आवश्यकता कम्प्युटर सम्बन्धी समय सापेक्ष ज्ञान, सिप एक प्रमुख आधार नै हो भने कर्मचारीहरुको नेतृत्व क्षमताुको विकास, समुहमा काम गर्न सक्ने क्षमता, सकारात्मक सोचको बिकास गराउने, के कसरी आफ्नो कार्य र कम्पनी प्रति थप जिम्मेवार बनाउन सकिन्छ भन्ने आदि थप आधारमा कर्मचारीहरुलाई तालिम दिने, कार्यक्षमता अभिबृद्धि गर्ने गराउने जस्ता कार्यहरु गर्दछौं ।
कर्मचारीहरुको बर्गिकरण र शसक्तिकरण कसरी गर्ने गर्नुभएकोछ ?
हामीले छनौट गरेको कर्मचारीहरु सवै निपुर्ण र दक्ष हुन्छन् भन्ने हुँदैन । नियुक्त गरिसके पछि उनीहरुमा भएको अन्तरनिहित ज्ञान, सीप र दक्षताले के कति काम गर्न सक्छन ? हामी त्यसको क्रमशः अध्ययन गर्दर्छौं । त्यसपछि उनीहरुसँग भएको ज्ञान, सीप र क्षमतामा भएको अभाव र कम्पनीलाई दैनिक कार्य सम्पादनमा आवश्यक पर्ने दक्षताको अभिबृद्धि गर्न आवश्यक तालिमा र व्यक्तित्व बिकासको माध्यमबाट हामी सिकाउँछौं । उनीहरुमा भएको क्षमतालाई अरु थप परिस्कृत बनाएर सम्पादन गरिने दैनिक कार्य र कम्पनी प्रति प्रतिबद्ध बनाउँछौं । दैनिक कार्यलाई छिटो, छरितो र सहज रुपमा सम्पादन गर्नको लागि कर्मचारीहरुलाई अटोनमी बनाउने तर्फ समेत हामी बिशेषः पहल गर्दछौं ।
आवश्यकताको सिद्धान्त अनुसार कर्मचारीका दैनिक आबश्यकताहरु पनि बढ्दै गइरहेका हुन्छन, यसलाई कसरी सम्बोधन गरिरहनु भएको छ ?
हामीले कर्मचारी छनौट गर्दा कार्य अनुवभ, व्यक्तिगत दक्षता, शैक्षिक योग्यता र कम्पनीको आवश्यता अनुसार निश्चित तह वा पोजिसनमा गर्ने गर्दछौं । त्यस पछि कर्मचारीहरुको क्रमशः बृत्ति बिकास हुदै व्यक्तिगत दक्षता बृद्धि हुदै क्रमशः उनीहरुको प्रमोसन हुने गर्दछ । नेपाल राष्ट्र बैकले प्रत्येक बर्ष सार्बजनिक गर्ने मुद्रा स्फितिलाई आधार मानि न्युनतम र बढिमा त्यसको दुई वा तीन गुणासम्म व्यक्तिगत कार्य सम्पादन मुल्याङ्कनको आधारमा तलवमान बृद्धि गर्दछौं । यस बाहेक उनीहरुले देखाउने अतिरिक्त क्षमताको आधारमा उनीहरुलाई प्रोत्साहन भत्ता वा अन्य अतिरिक्त सेव सुबिधा समेत प्रदान गर्ने गरेकाछौ. ।
निजी क्षेत्रमा कर्मचारीहरु छिटो छिटो कम्पनी परिवर्तन गर्ने(जम्पिङ) प्रवृत्ति पनि छ, शंकर ग्रुपमा यसलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?
समयको माग हो कि सवै मानिसहरुको व्यक्तिगत आवश्यकताहरु दिन प्रतिदिन बढिरहेको हुन्छ । जुन स्वाभाविक प्रक्रिया पनि हो । अहिलेको यूवा पुस्ताकोे चाहाना तथा योजना अत्यन्तै महत्वकांक्षी रहेको हुन्छ । त्यसैले उनीहरुको आवश्यकतालाई पनि समय सापेक्ष सम्बोधन गर्नै पर्दछ । सबै कर्मचारीहरुको निष्पक्ष कार्य सम्पादन मुल्याङ्कन गर्दछौं । व्यक्तिगत कार्य सम्पादन मुल्याङ्कनको आधारमा बृत्ति बिकास गर्ने, तालिममा सहभागिता गराउनुको साथै तलवमान र अन्य सुविधाहरु समेत समय सापेक्ष बृद्धि गर्ने गर्दछौं । बजार माग र समान उद्योगहरुमा चलेको तलव सुविधाको मापदण्डलाई आधार मानी कम्पनीले समय सापेक्ष तलब भत्ता र अन्य सुबिधाहरु समेत बढाउँदै आवश्यकताहरुमा विशेषः ध्यान दिईदै आएको हुनाले कर्मचारीहरु छिटो छिटो कम्पनी परिवर्तन गर्ने समस्या न्युन रहेको छ । यसै कारणले गर्दा शंकर ग्रुपमा कर्मचारी अट्रिसन रेट २ प्रतिशत भन्दा कम छ ।
शंकर ग्रुपमा कर्मचारीहरुले प्राप्त गर्ने बिदा र सेवा सुविधा के छ ? कर्मचारीको समाजिक सुरक्षा र आत्म सम्मानपूर्ण जिवन यापनका लागि के व्यवस्था छ ?
एकोहोरो काम मात्रै गर्दा कर्मचारीहरुमा मोनोटोनस हुने सम्भावना रहन्छ । मानिसको एक महत्वपूर्ण दायित्व सामाजिक रहन सहनमा रमाउनु पर्ने दयित्व पनि भएकोले समय समयमा आफ्ना सम्पूर्ण आफन्तजन र परिवारका सदस्यहरुलाई समय दिनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा व्यक्तिगत आवश्यकता अनुसार बिदा दिनुपर्ने हुन्छ । हामीले प्रचलित कानुन अनुसार कर्मचारीहरुलाई बिदा दिने, बिदाको लागि आवश्यक लचकता अपनाउने गरेकछौं । नियम अनुसार पाउने बिदा नलिनेहरुलाई पनि समयमा नै ईन क्यास गने गरेका छौ । हाम्रा सबै कर्मचारीहरुलाई समान दृष्टिकोणले हेर्ने, सबै कामको लागि सम्मानजनक कार्य र संस्कारको बिकास गर्ने आदि कुराले थप प्रोत्सहान प्राप्त हुन्छ । समय समयमा कर्मचारीहरुलाई रिफ्रेसमेन्टको व्यवस्था गर्ने÷गराउने, बिभिन्न खेलकुद कार्यक्रममा कर्मचारीहरुका परिवारका सदस्यहरु सहित सहभागिता गराउने जस्ता कार्य समेत गर्दै आईरहेकाछौं । जसले गर्दा कर्मचारी र व्यवस्थापन बिच सुमधुर सम्बन्ध कायम हुनुका साथै कर्मचारीहरुमा उच्च मनोबलको बिकास भएर आफ्नो दैनिक कार्यमा थप उत्प्रेरित भइ कार्य गर्न÷गराउन सहज हुने गर्दछ ।
अन्त्यमा केहि भन्न चाहानु हुन्छ ?
नेपालमा मानव संसाधन व्यवस्थापनको आवश्यकता र विकासको खाँचो अत्यावश्यक रहेको छ । क्रमशः यसको विकासले गति लिइरहेको अवस्था बिद्यमान रहेको छ । मानव संसाधन व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण सामाजिक साझेदारहरु बिच सहकार्य गरि एकजुट भएर कार्य गर्नु आजको आवश्यकता हो । हामीले बुझ्नुपर्ने महत्वपूर्ण बिषय के हो भने देश विकासको आधारभुत सूचकाङ्क भनेको मानव संसाधन व्यवस्थापनको विकास हुनु हो भन्ने बुझ्नु जरुरी छ । आजको हाम्रो देशको आवश्यकता भनेको नै देशको विकास र समुन्नत नेपाल हो भन्नेमा जो कसैको दुई मत नहोला । अतः खोजमुलक र अनुसन्धानात्मक मानव संसाधन व्यवस्थापन गर्न देशको उच्च नेतृत्वतहको ध्यानाकर्षण होस्, जुन देशको हालको बिद्यमान अवस्थामा अत्यावश्यक भएको हामी सबै देश विकास प्रेमी नेपालीहरुको साझा धारणा र चाहाना हो ।
वि.सं.२०७४ फागुन २० आइतवार ०६:२९ मा प्रकाशित
























