back
CTIZAN AD

कापी कलम किन्न लालीगुराँस बेच्दै बालबालिका

वि.सं.२०७४ फागुन २० आइतवार

720 

shares

२० फागुन, कुलेखानी, मकवानपुर । मकवानपुरको कुलेखानीस्थित सुगौराकी सोनी तामाङ फाखेलको कालिका सेकेन्डरी स्कुलमा कक्षा २ मा पढ्छिन् ।

गाउँमा तीन कक्षा पढेर उनी फाखेलमा दुईमा भर्ना भएकी हुन् । काठमाडौँ–हेटौँडा सडकखण्डअन्तर्गत कुलेखानी नजिकै सडक छेउमा उनको एक डोका लालीगुराँस छ । हातमा लालीगुराँस बोकेर ओहोरदोहोर भएका गाडीतिर दौडँदै थिइन् सोनी । कति गाडीका यात्रुले गुराँस किनेर लग्थे भने कतिले वास्तै गर्दैनथे । हरेक शनिवार उनको दैनिकी यसैगरी बित्दै आएको छ, अचेल ।

स्कुल समय बाहेक फुर्सदमा जंगल गएर लालीगुराँस टिप्ने अनि शनिवार सडकमा आएर बेच्ने सोनी र उनका दौंतरीहरुको दैनिकी बनेको छ । हरेक शनिवार सडकमा समूह समूहमा लालीगुराँस बेच्ने बालबालिकाको भीड नै लाग्छ ।

हिजो शनिबार पनि सडकमा गुड्ने गाडीलाई लालीगुराँसका लोभलाग्दा थुंगा देखाउँदै ‘लालीगुराँस लिनुस्, लालीगुराँस लिनुस्,’ भन्दै गरेका एक हूल बालबालिका भेटिए । सोनीसँग रोजिना बल, जेनिसा घिसिङ, विमला घ्यावा, अशोक घिसिङ र कर्साङ बल थिए । पल्लो डाँडामा बालबालिकाको अर्को समूह देखिन्थ्यो । उनीहरु गुराँस बेच्न गाडी कुरेर बसेका थिए । उनीहरु ७ देखि १५ वर्षसम्मका हुन् ।

उनीहरुमध्ये केहीले गुराँस बेचेको पैसाबाट पढाइ खर्चको जोहो गर्ने र केहीले आमाबुबालाई पैसा दिने गरेको बताए । सोनीले भनिन् – ‘दिनमा रु २००÷३०० सम्म गुराँस बेच्छु ।’

त्यो पैसा के गर्ने हो भन्ने प्रश्नको जवाफमा तिनले भनिन् – ‘त्यो पैसाले कापी कलम किन्ने ।’ । एक थुंगा लालीगुराँसको उनीहरु रु १० देखि २० रुपैयाँसम्ममा बिकाउँछन् ।

कसैले राम्रै पैसा दिएर लैजाने गरेको र कसैले वास्तै नगर्ने गरेको उनीहरु बताउँछन् । कसैले गुराँस नकिनी उल्टै १०÷२० रुपैयाँ सहयोग दिएर जाने गरेको पनि उनीहरुको अनुभव छ ।

एक÷दुई कक्षामा पढ्ने ती बालबालिका हरेक शनिवार यहाँ लालीगुराँस बेचिरहेका भेटिन्छन् । जंगलमा फुलेको गुराँस टिपेर उनीहरु आफ्नै लागि र घरका लागि केही रकम जोहो गरिरहेका छन् । जेनिसा बल भन्छिन् – ‘कमाएको पैसा घरमा आमालाई लगेर दिने हो ।’

चितवन भरतपुरका गणेश गिरीले उनीहरुले लालीगुराँस बेच्दै गरेको देखेपछि गाडी रोक्नुभयो । केहीबेर उनीहरुसँग बिताउनुभयो । ती बालबालिकामध्ये धेरैले गुराँस बेचेको पैसाले कापी कलम किन्ने बताए भने केहीले घरमा बुबाआमालाई दिने गरेको जवाफ दिए । त्यसपछि उहाँले सबै बालबालिकालाई रु १० का दरले पैसा दिनुभयो ।

‘ल, लालीगुराँस लानुस्,’ जेनिसाले भनिन् । ‘हैन, तिमीहरु नै राख, अर्को गाडीलाई बेच है ।’ त्यति भनेर गिरी आफ्नो गन्तव्यतर्फ लाग्नुभयो ।

मोटरसाइकल हुँइक्किएर आउँछ । उनीहरु कुदेर नजिक पुग्छन् । रोकिहाले भने गुराँस लिनुस् भन्छन् । नरोके फेरि अर्को गाडी भएतिर कुद्छन् । भरसक गुराँस बेच्ने ध्याउन्नमा रहन्छन् । पल्लो डाँडाबाट गाडी आएको देखेपछि उनीहरु गुराँस बेच्न तम्तयार हुन्छन् । अनि, गाडी नजिक पुग्छन् र गुराँसको थुंगा अगाडि बढाउँछन् ।

नयाँ मान्छेको अघिल्तिर उनीहरु लजाउँदै बोल्दै थिए । शनिबार एक दिन मात्र उनीहरु यसरी सडकमा आएर गुराँस बेच्छन् अरु दिन विद्यालय जान्छन् ।

कक्षा २ मा पढ्ने विमला घ्यावा पढाई खर्चकै लागि गुराँस बेच्न आएको बताइन् । मकवानपुरको कुलेखानी, देउराली, चिसापानीगढी, फाखेललगायतका ठाउँमा हरेक शनिवार लालीगुराँस बेच्ने उत्साही बालबालिकालाई यात्रुहरुले देख्न र भेट्न सक्छन् ।

वि.सं.२०७४ फागुन २० आइतवार १०:०५ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...