back
CTIZAN AD

अब पर्वातारोहणका लागि पथप्रदर्शक अनिवार्य

वि.सं.२०७४ फागुन २० आइतवार

636 

shares

काठमाडौँ । हिमालचुली आरोहणका लागि जाने आरोही दलले आधार शिविरदेखि चुचुरोको अन्तिम बिन्दुसम्म जाँदा र फर्कंदा सम्पूर्ण दूरी पैदल यात्रा नै गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरिएको छ ।

सरकारले पर्वतारोहणसम्बन्धी(पाँचौँ संशोधन) नियमावली, २०७४ लागू गरेर उक्त व्यवस्था गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयनमा ल्याएको उक्त नियमावलीमा पर्वतारोहणका लागि जाँदा एकजना पर्वतीय पथ प्रदर्शक लिई जानुपर्ने व्यवस्था गरिएको छ ।

पर्वतारोहणमा जाँदासमेत विदेशी पदयात्रीले पथप्रदर्शकसमेत नलिएको गुनासो आएपछि अनिवार्य रुपमा त्यस्तो व्यवस्था गरिएको हो । पर्वतारोहीको आपत्कालीन उद्धारका लागि हेलिकप्टर, हवाईजहाज र बेलुनको प्रयोग गर्न भने बाधा नपर्ने कार्यविधिमा उल्लेख छ ।

पर्वतारोहणसम्बन्धी उपकरण तथा सामग्री पर्वतारोही वा सो दलसँग जान अनुमति प्राप्त कामदारले मात्रै लैजान पाउने व्यवस्था गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको कार्यविधि ‘नेपाल राजपत्र’मा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ ।

यस्तै, पर्वतारोही दलबाट प्रतिनिधि नियुक्त भएको इजाजत प्राप्त टे«किङ एजेन्सीले त्यस्तो दलको पर्वतारोहणका लागि आवश्यक पर्ने कामदार उपलब्ध गराउन, पर्वतारोहण सञ्चालन गर्न, आरोही दलका पथप्रदर्शक तथा सहयोगीको बीमा र स्वास्थ्य परीक्षण गर्न, सरकारलाई तिर्नुपर्ने राजश्वलगायतका रकम तिर्न, पर्वतारोहीलाई सहजीकरण र सहयोग गर्न तथा आपत्कालीन उद्धारका लागिसमेत सहज व्यवस्था गरिएको छ ।

बीमा रकम बढ्यो

नयाँ नियमावलीअनुसार पर्वतारोहणमा जाने सम्पर्क अधिकृतका लागि रु १५ लाख बराबरको बीमा गरिएको छ । यस्तै सरदार, पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदार प्रत्येकका लागि समान रु १५ लाख र आधार शिविरका कामदार प्रत्येकका लागि रु आठ लाखको बीमा गर्ने व्यवस्था गरिएको छ ।

यसअघि सम्पर्क अधिकृतका लागि रु छ लाख, सरदार तथा पर्वतीय पथ प्रदर्शकका लागि रु पाँच लाख, उचाइमा जाने कामदारका लागि रु चार लाख र आधार शिविरका कामदारका लागि रु तीन लाखको मात्रै बीमाको व्यवस्था थियो । स्थानीय कामदारको बीमा भने रु दुई लाख ५० हजारमा नघटाई गर्नुपर्ने व्यवस्था थियो ।

पर्वतारोही दलले आफ्नो साथमा जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदार दुर्घटनामा परी सामान्य चोटपटक लागेमा औषधोपचार गर्न प्रत्येक कामदारको बीमा गराउनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । नियमावलीअनुसार छ हजार ५०० मिटरसम्म उचाइका हिमालचुली आरोहण गर्नु पर्दा कम्तीमा रु तीन लाख र छ हजार ५०० मिटरभन्दा बढी उचाइका हिमालचुली आरोहण गर्दा कम्तीमा रु चार लाखसम्मको बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथप्रदर्शक उचाइमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारको दुर्घटनामा परी सामान्य चोटपटक लाग्दा गर्नुपर्ने औषधोपचारका लागि सरकारबाट मान्यता प्राप्त बीमा कम्पनीसँग कम्तीमा रु ५० हजारको मात्रै बीमा गराउने व्यवस्था गरिएको थियो । सोह्र वर्ष उमेर नपुगेका, गम्भीर रोगका कारण पर्वतारोहणका लागि अयोग्य भएको भनी चिकित्सकबाट प्रमाणित भएका र दुवै हात वा खुट्टा नभएको तथा दुवै आँखाले देख्न नसक्ने व्यक्तिलाई भने आरोहणको अनुमति नदिइने नियमावलीमा उल्लेख छ । पर्वतारोहणमा विकृति बढेपछि सरकारले यस्तो प्रावधानको व्यवस्था गर्दै कडाइ गरेको हो ।

पन्ध्र वाकिटकी लान पाइने

हिमाल आरोहणलाई थप व्यवस्थित र मर्यादित बनाउन नयाँ नियमावली कार्यान्वयनमा ल्याइएको हो । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ मा पर्वतारोहीलाई स्वदेश फिर्ता लैजाने शर्तमा दुईवटा स्याटेलाइट फोन, १२ वटा वाकिटकी, आधार शिविरबाट काठमाडौँसम्म कुरा गर्न सक्ने क्षमता भएका दुईवटा वायरलेस र आधार शिविरदेखि सबैभन्दा नजिकको प्रहरी चौकी वा दूरसञ्चार साधन भएको ठाउँसम्म कुरा गर्न सकिने क्षमता भएका दुईवटा वायरलेस प्रयोग गर्न स्वीकृति दिइएको थियो । नयाँ नियमावलीमा भने १५ वटा वाकिटकी लैजान दिने व्यवस्था गरिएको छ ।

यस्तै पाँच हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा जानेले २० किलो, छ हजार मिटरदेखि सात हजार मिटरसम्मको उचाइमा जानेका लागि १७ किलो, सात हजारदेखि आठ हजार मिटरसम्मको उचाइमा जानेले १४ किलो र आठ हजार मिटरभन्दा माथिको उचाइमा जाने कामदारले १२ किलोमात्रै भारी बोकाउन पाउने व्यवस्था कायम छ ।

पथप्रदर्शकको माग सम्बोधन

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले नयाँ नियमावलीले मुलुकको पर्वतारोहणलाई विश्वासिलो, सुरक्षित र मर्यादित बनाउन सहयोग पुग्ने बताए । आरोहणमा जाने सरदार, सहयोगी तथा भरियाको जीवनसँग जोडिएका विषय विगतमा सम्बोधन हुन नसक्दा उनीहरुको क्षमता पहिचानसमेत हुन नसकेको सन्दर्भमा नयाँ नियमावलीले उनीहरुको चासो र चिन्तालाई समेत सम्बोधन गरेकाले आरोहण थप व्यवस्थित हुने उनको विश्वास छ ।

पर्वतारोही सुरक्षा संवेदनशीलतालाई सम्बोधन गरेकाले नियमावलीले नेपाली कामदार, उचाइमा जाने पथप्रदर्शक, सरदार तथा आरोहीलाई पहिलो पटक आरोहणको प्रमाणपत्र दिने व्यवस्था गरिएको छ । यसअघि त्यस्तो कुनै व्यवस्था थिएन । दर्जनौँ पटक आरोहण गरे पनि पथप्रदर्शक कुनै दुर्घटनामा परे क्षतिपूर्ति नपाउने अवस्था थियो । पथप्रदर्शक तथा आरोहण दलका सदस्यले लामो समयदेखि उठाउँदै आएका मागको सम्बोधन भएको महानिर्देशक भट्टराईको भनाइ छ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका महासचिव तुलसिंह गुरुङले बीमा रकम बढाइनु सकारात्मक र ऐतिहासिक उपलब्धि रहेको बताए । उनले तेस्रो पक्ष बीमा तथा सुरक्षाका अरु विषयमा नियमावलीले प्रष्ट व्यवस्था भएको भए राम्रो हुने धारणा राखे । इन्टरनेशनल माउण्टेन गाइड एशोसिएसनबाट मान्यता प्राप्त पथप्रदर्शकको संख्या ६७ रहेको छ । पथप्रदर्शक उत्पादन गर्न जोखिम र खर्चिलो रहेको उनको भनाइ छ । नेपालमा वर्षेनी पाँचजना मात्रै चुली आरोहण गराउने पथप्रदर्शक थपिने गरेका छन् ।

नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष माया शेर्पाले सरकारले कार्यान्वयनमा ल्याएको बीमालगायतका व्यवस्था सकारात्मक रहेको र आरोहणमा नयाँ सञ्चार गर्ने बताईन् । उनले भएका व्यवस्था र नियममात्रै कार्यान्वयनमा आए पनि त्यसले धेरै सकारात्मक प्रभाव पार्ने उल्लेख गरिन् ।

वि.सं.२०७४ फागुन २० आइतवार १०:१६ मा प्रकाशित

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा...

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

काठमाडाैँ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ (एनडब्लुएफपीईए)...