
२३ फागुन, पथरी, मोरङ । माटोको सामग्री बनाउने कुम्हाले समुदायको पुख्र्यौैली पेशा संकटमा परेको छ । प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा संकटमा परेको हो ।
बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खाइदिएको विगत ३० वर्षदेखि माटाका भाँडा बनाउँदै आएका विराटनगरका सत्यनारायण पण्डितको भनाइ छ ।
पण्डितका अनुसार करिब २० वर्षपहिले माटोका भाँडा बनाएर एक परिवारले वर्षमा रु ५ लाख देखि ६ लाख कमाई हुने गरेको थियो । तर अहिले अरू बेला बिक्री नै हँुदैन, भइहाल्यो भने चाडपर्वको याममा एक परिवारले रु ५०÷६० हजारसम्म माटोको सामग्री बेचेर आम्दानी हुन्छ । उनले भने, “आम्दानी नभएपछि वर्षभरि परिवार पाल्न साहुमहाजनसंग लिएको ऋण तिरेर छाक टार्ने जोहो गर्छौं ।”
अर्का रामसुफल पण्डितले आपूmहरुको पुख्र्यौंली पेशा परम्परागत संस्कारले मात्रै धानेको बताउछन् । “माटोको सामग्रीको व्यावसायीकरण नभएकाले आपूmहरुको पेशा परम्परागत मान्यताले मात्रै थामेको छ,” उनले भने, “अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रंग लगायतको सामग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।” आपूmहरुको पेशा व्यवसायीकरणका लागि सरकारी निकायका साथै गैरसरकारी संघसंस्थाको ध्यान पुग्न नसकेको उनको गुनासो छ ।
आपूmहरुको जातीय पेशा व्यवसायीकरण नहुँदा युवापुस्ता अन्य पेशा व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको उनको भनाइ थियो ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार कुम्हाले जातिका महिला ३० हजार ४१६ र पुरुष ३१ हजार ९८३ गरी कूल ६२ हजार ३९९ जनसंख्या रहेको छ । उनीहरु तराई मधेशका जिल्लामा छरिएर बसोबास गर्दै आइरहेका छन् । कुमालेले माटोका कलश, कोहा, ढकन, घैला, दियो बनाउने गर्दछन् ।
वि.सं.२०७४ फागुन २३ बुधवार ०६:२७ मा प्रकाशित






























