८ चैत, काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अलैँची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैँची विकास बोर्ड स्थापना गर्ने बताए ।
अलैँचीको विकासका लागि स्वायत्त निकाय स्थापनाका सम्बन्धमा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले भने – “अलैँची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लगेर चाँडै नै बोर्ड स्थापना गराउँछु ।”
मन्त्री खनालले अलैँची खेतीका लागि उपयुक्त जमिनको पहिचान गरी यसलाई राष्ट्रियरुपमा फैलाउनुपर्ने बताउँदै “अलैँची खेतीको गुणात्मक उत्पादन बढाउनका लागि सरकार सहयोग गर्न तयार छ”, भने ।
“नेपालमा ठोस नीति नभएका कारण कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ भन्ने थाहा छैन, अब नीति बनाएर खेतीको निश्चित ठाउँ तोकिनेछ,” उनले भने – “उत्पादित वस्तुमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेकाले यसको नियन्त्रणका लागि आवश्यक उपाय अपनाउने छ ।”
वि.सं.२०७४ चैत ८ बिहीवार २२:१९ मा प्रकाशित





























