१७ चैत, रामपुर, पाल्पा (रासस) । रामपुर नगरपालिका–३ ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला परेको छ । रामपुर फाँट सिँचाइ आयोजनाअन्तर्गत रहेको नहरमा स्थानीयवासीले आज बगाएर ल्याएको अवस्थामा शव फेला पारेको हो ।
मृतावस्थामा फेला परेको पुरुषको शव निस्दी गाउँपालिका–२ सहलकोट घर भई हाल रामपुर नगरपालिका–१ छम्के बस्दै आएका ५३ वर्षीय नरबहादुर सारुको रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
स्थानीयवासीले नहरले बगाएर ल्याएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । शवको कुनै पनि भागमा चोट नरहेकाले नहरमा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । रामपुर अस्पतालमा शव परीक्षण भइरहेको छ ।
वि.सं.२०७४ चैत १७ शनिवार २०:५७ मा प्रकाशित




























