१२ वैशाख, लहान । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ ।
राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन् ।
दैनिक हजारांै सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।
असार साउन महिनाको अबिरल वर्षाका कारण भत्केका सो सडक झन्डै आठ महिना बितिसक्दा पनि टालटुलसमेत हुनसकेको छैन । खासगरी पूर्वमा मिर्चैयाको मटियर्वा चौकदेखि पश्चिममा सल्हेश चौकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाई छ ।
मिर्चैयाको मटियर्वा चौक, थाना चौक, कटारी चौक र पश्चिम बस पार्कमा रहेका ठूल–ठूला खाल्डाखुल्डिले पैदलयात्रीलाई आवतजावत गर्न समेत समस्या भइरहेको छ । एकातिर सडकमा रहेका खाल्डाखुल्डि पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको छ भने अर्केतिर सडकमै माटो रहेकाले मिर्चैयाको मुख्य व्यापारिक क्षेत्रमा सवारी साधनको चापसँगै उडेको धुलोधुवाँले व्यापार–व्यवसाय पनि कमी आएको स्थानीय व्यापारी अशोक साह बताउँछन् ।
राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक÷पटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।
राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डि भएका छन् भने कतिपय स्थानमा ग्राभेल हालेर पुरेको अवस्था छ । तर, सडक डिभिजन कार्यालय लहानले कालोपत्रे गरेर दिगो समाधान गर्न तर्फ खासै ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।
वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नुपरेको छ । मुख्य मार्गमा पैदलयात्री आवतजावत गर्नेलाई पनि कठिनाई भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकहरुले यातायात सञ्चालन गर्ने गरेका छन् ।
यता राजमार्ग मर्मतको ठेक्का लिएका ठेक्केदार रामबाबु यादवले एक हप्ताभित्रै सडक मर्मतको काम शुरु गर्ने बताएका छन् । सडकलाई मर्मत गर्नका सबै तैयारी भए पनि कामदारको अभावले केही ढिलो भएको यादवको भनाइ छ ।
वि.सं.२०७५ वैशाख १२ बुधवार १३:२२ मा प्रकाशित





























