२७ वैशाख, रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकामा मापदण्ड विपरीत बालगृह सञ्चाल भइरहेको छ । नगरपालिका–१ बागबजारमा ‘नरसिङ हिमालय अनाथ’ नामको बालगृह न्यूनतम मापदण्ड पनि पुरा नगरेर सञ्चालन भइरहेको हो । बालगृह सञ्चालका लागि न्युनतम मापदण्ड पनि पुरा नगरेको जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले बताए ।
मापदण्ड पुरा गरेर बालगृह सञ्चालन गर्न मुसिकोट नगरपालिकाले पटक–पटक निर्देशन दिंदा पनि अटेर गरेको उनको भनाइ छ । बालगृह सञ्चालनका लागि दर्ता नै नगरेको आधारभुत भौतिक पूर्वाधार नभएको, बालबालिकालाई खुवाइने खाना गुणस्तरीय नभएको, सरसफाई तथा बसाइको राम्रो व्यवस्था नभएको उनको भनाइ थियो ।
साथै बालगृह कसरी सञ्चालन भएको छ र यसको आयस्रोत के हो ? भन्नेसमेत नखुलेको मुसिकोट नगरपालिकाकी उप–प्रमुख प्रेमकुमारी सुनार केसीले बताइन् । बालगृह संञ्चालक बिवेक बुढाले आफुहरुले दिएको निर्देशनलाई पनि अटेर गरेकाले कानुनी कारबाही गरिने अधिकृत ओलीले बताए ।
बालगृहमा अहिले ३३ बालबालिका छन् । बालगृहमा आमाबाबु नभएका टुहुरा बालबालिकालाई राख्नुपर्ने कानूनी व्यवस्था भएपनि २९ ती बालबालिकाका आमाबाबु रहेको उनले जानकारी दिए ।
बालगृह सञ्चालकले यो भन्दा केहि वर्ष पहिले रुकुम पूर्वको तकसेरामा पनि मापदण्ड पुरा नगरी सञ्चालित बालगृहबाट बालबालिका जिल्ला बाहिर लैजाँदै गर्दा केहि बर्ष पहिले प्रहरीले नियन्त्रणमा लिएको थियो ।
वि.सं.२०७५ वैशाख २७ बिहीवार १५:२० मा प्रकाशित





























