३ जेठ, भक्तपुर । महानगरीय प्रहरी परिषर भक्तपुरमा नयाँ आएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिएका छन् ।
उक्त परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिषरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएका हुन् । दुवै वृत्तका प्रमुखलाई निर्देशन दिँदै उनले भने, “कुनै पनि घटना भए प्रवक्तालाई तत्कालै जानकारी गराउनुहोस्, प्रवक्ताबाहेक अरू कसैले पनि सञ्चारकर्मीलाई सूचना नदिनुहोस्, एकद्वार प्रणालीबाट सूचना प्रवाह होस् ।”
पत्रकारलाई विभिन्न व्यक्तिले जथाभावी सूचना दिँदा अनुसन्धानमा बाधा पर्ने बताउँदै उनले जथाभावी सूचना दिने र सूचना चुहाउने प्रहरीलाई तत्काल कारबाही गर्नसमेत निर्देशन दिए ।
सञ्चार कर्मीलाई पनि प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंसँग मात्रै आधिकारिक रुपमा सूचना लिन आग्रह गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले सञ्चारकर्मीलाई भने, “कुनै पनि घटनाको सूचना चाहिएमा प्रवक्तासँग लिनुस् मलाई फोन गर्नु पर्दैन, अनुसन्धान गर्नुपर्ने घटनाको सूचना नमाग्नुहोस्, अनावश्यक सूचना मागेर दबाब नदिनुहोस् ।”
सञ्चार कर्मीले भने प्रहरीसँग सूचना लिन निकै गाह्रो भएको र प्रहरीले नै सूचना लुकाउने गरेको गुनासो गर्दै सहज र छिटो रुपमा सूचना पाउने व्यवस्था गर्न वृत्तका प्रमुखबाट पनि सूचना पाउनुपर्ने व्यवस्था गरिदिन माग गरेका थिए ।
वि.सं.२०७५ जेठ ३ बिहीवार १३:४७ मा प्रकाशित






























