३ जेठ, हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गरेका छन् ।मन्त्री ढुंगेलले प्रस्तुत गरेका आगामी वर्षको बजेटमा पहिलो प्रदेशसभा र सरकार भएको कारणले बजेट निर्माण तथा कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।
आज बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा उनले २०७५/७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारको प्राथमिकताको विषयमा जानकारी दिएका हुन् ।बजेटले प्रमुख प्राथमिकतामा सुशासन, आर्थिक विकास, प्रदेश गौरवको योजना, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, मुख्यमन्त्री ग्रामीण सडक निर्माण लगायत विषयलाई उच्च प्राथमिकतामा राखेको छ ।
बजेटले अनुदानको विषयमा सरकार गम्भीर रहेको भन्दै परिणाममुखी अनुदान वितरण, सीमान्तकृत समुदाय लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा पारेको छ । शिक्षा, स्वास्थ्य, सांस्कृतिक धरोहरको विषय पनि बजेटमा महत्वका साथमा आएका छन् ।
बजेटले प्रदेश नं ३ को १३ जिल्लामा नै सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म कालोपत्रे, प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल, विद्यालय, प्रदेशमा नमूना विद्युत्गृह, शीत भण्डारण कक्षको निर्माणलाई समेत प्राथमिकतामा पारेको छ ।
मन्त्री ढुंगेलले प्रदेश सरकारले औद्योगिकी करणलाई बढवा दिँदै कृषिलाई अब निर्यातमुखी बनाउने गरी प्रदेश सरकारले योजना निर्माण गरेको बताए । उनले प्रत्येक मन्त्रालयले आफ्नो तहबाट प्राथमिकताका आधारमा ल्याएका योजनाको विषयमा गहन छलफल गरेर बजेट ल्याइने समेत उल्लेख गरे ।
वि.सं.२०७५ जेठ ३ बिहीवार १४:२१ मा प्रकाशित






























