१५ असोज, मुस्ताङ । नेकपा (एमाले) मुस्ताङको छैटौँ जिल्ला अधिवेशन शुक्रबारदेखि जोमसोममा सुरु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिनाले तत्काल स्थानीय निकायको निर्वाचन गर्न मागका साथ त्यसका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा सांसद श्रीमाया थकाली र महेन्द्र शेरचन, जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन, एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव माधव पौडेल, केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल र ढाकाराम अर्याल, पूर्वसांसद चन्द्रबहादुर गुरुङ, नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि सुकबहादुर विक, पूर्वसहायकमन्त्री नरबहादुर हिराचन, अनेमसङ्घका सचिव सुन्देवी रसाइली, नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष मोतीलाल चपाईं, नेपाल शिक्षक सङ्गठनका अध्यक्ष प्रेमप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनअन्तर्गत आज बन्दसत्रका कार्यक्रम सुरु हुनेछ । अधिवेशनका लागि १६ वटै गाविसबाट प्रतिनिधि आएका छन् । अधिवेशनले आगामी त्रिवर्षीय कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । रासस

