१६ असोज ,काठमाडौँ,। बबरमहलस्थित नेपाल कला परिषद्मा तीन वर्षीया विदेहा रञ्जनले बनाएका चित्रकलाको आज प्रदर्शनी गरिएको छ ।
‘सिर्जनाको बिहानी’ शीर्षक दिइएको उक्त एकल चित्रकला प्रदर्शनीमा उनी नौ महिना हुँदादेखि कोर्न थालेका चित्रकला राखिएका छन् ।
आजको दिन आफ्नो तेस्रो जन्मदिन मनाउँदै गरेका बेला उनका बाबु पल्लव रञ्जनले उपहारस्वरुप उक्त प्रदर्शनी गरिएको बताउनुभयो । पल्लव स्वयम् पनि कलाकार तथा लेखक हुनुहुन्छ ।
उहाँले भन्नुभयो–“बच्चालाई कहिल्यै पनि के चित्र बनाउने भनेर सिकाउने हैन, चित्र कोर्न आवश्यक पेन्सिल, कलर, मार्कर दिएर छाडिदिने हो । सिकाउन थाल्यो भने हामीले बनाएको चित्र नै कपी गर्ने मात्र हुन्छ । उनीहरुको सिर्जना निस्कन पाउँदैन ।”
विदेहाकी आमा भगवतीले छोरीले बिहान ६ बजे उठिसक्दा नै चित्र कोर्न थालिसक्ने बताउनुभयो । उहाँले भन्नुभयो–“हामी सबै सुतिरहेका बेला उनी उठेर चित्र कोरिरहेकी हुन्छिन् । उनी जुन ठाउँमा पुग्छिन्, त्यहीँ वरिपरि देखेका चिजको चित्र बनाउँछिन् ।”
विदेहाको चित्रमा विभिन्न जनावर, व्यङ्ग्यचित्रका पात्र, पुतली, परिवारका सदस्य, हाँस, कुखुरा, मादल, बाँसुरी, मःमजस्ता चित्र देख्न सकिन्छ ।
प्रदर्शनीमा ८० चित्रकला देख्न सकिन्छ । प्रदर्शनीले बाल मनमस्तिष्कभित्रको झलक मात्र नदिई शिशु विकास, कौशलता परिवर्तन, बौद्धिकता, सिर्जनशीलता, शारीरिक र रचनात्मक क्षमता अभिवृद्धिसम्बन्धी चेतनालाई देखाउने कोसिस गरेको छ । रासस

