२७ असोज, रत्ननगर (चितवन) । रत्ननगर नगरपालिकाका घरघरमै पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न प्रक्रिया सुरु भएको छ ।
बालश्रममुक्त नगर बनाउन यहाँका घरघरमा पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न लागिएको रत्ननगर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
रत्ननगरका करिब २१ हजार घरधुरीमा पुगेर बालबालिकाको सङ्ख्या, स्वास्थ्य अवस्था, श्रमिक बालबालिकाको सङ्ख्या तथा हालको अवस्थाबारे जानकारी लिन सर्वेक्षण थालिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो ।
युनिसेफ नेपाल र रत्ननगर नगरपालिकाको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य सङ्घद्वारा बालश्रममुक्त नगर बनाउनका लागि वडा नं १४, १५ र १६ मा छलफल समेत भएको विसुरालले जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिकाका सामुदायिक शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले बालश्रम न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिँदै सर्वेक्षणपछि अवस्था पत्ता लाग्ने र बालश्रम न्यूनीकरणमा योजना बनाउन सहयोग मिल्ने बताउनुभयो ।
बालमैत्री स्थानीय शासन अन्तगर्त नै सहरी अनौपचारिक बाल शिक्षा अन्तर्गत १०० भन्दा बढी रत्ननगरका बालबालिकालाई शिक्षा प्रदान गरिएको जनाइएको छ ।
चितवनको भरतरतपुर र रत्ननगर लगायत क्षेत्रमा झन्डै दुईदेखि तीन हजारको हाराहारिमा बालश्रमिक रहेको अनुमान छ ।
बालश्रम ऐन २०५६ अनुसार १४ वर्ष नपुगेकालाई श्रमिकको रुपमा काम लगाउन नहुने, १४ देखि १६ वर्ष सम्मका बालबालिकालाई साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म काममा लगाउन नपाउने नियम भए पनि जिल्लामा यो लागू हुनसकेको छैन । रासस