आज फूलपाती । म मरिसकेको ५ घण्टा बितेछ । दसैं सुरु भएको ७ औ दिन आज । सबैका घर–घरमा फूलपाती भित्राउदैछन् । मेरो मृत शरिर अस्पतालमा छ । लाग्छ पुलिस केस पनि हुँदैछ क्यारे । मानिसहरु यताउता खासखुस गरिरहेका छन् । मेरो छेउमा भिनाजु र भाउजु हुनुहुन्छ ।
पोस्टमार्टम गर्ने भन्दै डाक्टरहरुले मेरो घाँटी चिरेर हेरे । “अ हो, यति सानै उमेरमा किन ज्यान फालि होली यो केटीले ?”
डाक्टरहरु विस्तारै कुरा गर्दै मेरो घाटीमा चिर्दैछन् । बाहिर भिनाजु टाउँकोमा हात राखेर रोइरहेका छन् । उता भाउजु र दिदी आँखाबाट बलिन्धारा आँसु खसाउँदै रोइरहेकी छन् । मलाइ लिएर आएका गाउँका अन्य व्यक्तिहरु निराश हुँदै केटीले व्यर्थैमा ज्यान फाली भनेर कुरा गरिरहेका छन् ।
“ल, आउनुस यो कागजमा सहि गर्नुस्” प्रहरीको बोलाहटले झस्याङ भइन् दिदी अनि भाउँजु । खोइ के लेखेको थियो कागजमा ? भाउजु, भिनाजु दिदी अनि अन्य व्यक्तिहरुले सहि धस्काइदिए । मैले भन्दै थिए, “के लेखेको रहेछ पहिले पढेर सहि गरन् । अह उनीहरुले मेरो कुरै सुनेनन् । सबैलै पालैपालो सहि धस्काइदिए ।
“ल गइहालौं अब, आजै जलाउनु पर्छ । भोली अष्टमी, काटमार गर्नेदिन काम सबै त्यसै छ, बोका लिन जानु छ । हेर त दसैं आएको बेला यो केटीले कस्तो दुःख दिइहोला सबैलाई ।” भन्दै थिए गाउँका साइला काका ।
मलाइ गाडीमा राखेर रातको १० बजे घर फर्काए ल्याए । गाउँका सबैले दाउरा जम्मा गरिसकेका रहेछन् । कसैले कात्रो, कसैले फूल अबिर, कसैले लावा, कसैले माला । मेरो विदाइका लागि तयार हुँदै थिए यी सबै ।
म, मनमनै आमालाई खोज्दै थिए खोइ आमा ?” कहाँ गइन, कति विरह प¥यो होला मेरो मृत्युमा आमालाई ! कति रोई होलिन आमा ! अनि मलाई सताउने, मलाइ तड्पाउने ती मेरा उनले के गरेका होलान ? के उनी रोइरहेका छन त म सँगको बिछोडमा ? वरिपरि आँखा डुलाए । अ,ह घरका त कोही पनि आएका रहेनछन् । मेरा जेठाजु भने सँगै रहेछन् ।
ल, आउनुस लासलाई बानौ । फर्किदा फेरि ढिलो हुन्छ ।
भिडबाट कसैले करायो ।
-होइन् आमाले मुख हेर्नुपर्छ, आमा आउन्जेल कुरौं ।
आमा कहिले आउने हो, टाढा गएकी छन् ।
होइन् आमालाई छोरीको अन्तिमपटक अनुहार हेर्न दिनुपर्छ पाप लाग्छ फेरि ।
अनि त मलाई नचलाईकन राम राम लेखेको पहेलो पछ्यौरा ओढाएर मन्दिरको छेउमा राखे । बासको लठ्ठिमा दुई वटा वल्व राखिएको थियो । त्यहि बल्वको सहारामा रातभरी सविन, प्रेम, अनद लगायतले कुरे मलाई । दसैंको बेला भएर होला । उनीहरु रातभरी तास खेलेर रात बिताए । मलाई अप्ठ्यारो लाग्यो । आफू मस्त सुतिरहेकी छु !
यीनिहरुलाई किन दुःख दिएको होला मैले ?
ए, जाउँ तिमीहरु सबैजना घरमा गएर आनन्दले सुत् ।
अ,ह कसैले सुन्दैनन् मेरा कुरा । उठेर झकझकाए । तर, उनीहरुले थाहै पाउँदैनन् । अनदलाई त एक झापड हाने । भाइ हो । सधै आइराख्थ्यो । अनि दिदी भन्दै जिस्क्याउथ्यो । मेरो झापडले अनदलाई कतै छोएन् । लाग्यो । कति निर्बल भइसकेछु म, आखिर हिजो मात्रै त हो, मैले आत्महत्या गरेको । मर्नुभन्दा अघि खाना पनि खाएकी हुँ नी । किन बल आउँदैन ह, यो शरिरमा !
उनीहरु खेली नै रहे । मैले बोलाउँदा, उठाउँदा, झकझक्याउँदा अनि चिच्याउँदा पनि उनीहरु नउठेपछि म फेरि मेरो विस्तरामा फर्के । विस्तरामा उत्तानो परेर सुत्दा शरिर दुखी सकेको थियो । घाटीमा पनि गा¥हो भइरहेको थियो । नजिकमा पानी खोजे । अह हरियो घास र मन्दिरभित्र भगवानको मुर्तिबाहेक एकलोटा पानी कसैले राखेको छैन ।
कोल्टे फेर्न खोज्छु सक्तिन् । हात दिएर उनीहरुलाई बोलाउँछु–आउन ए केटाहरु मलाई कोल्टे पारिदेउ ज्यान थाकिसक्यो हिजो दिउँसो दुईबजेबाट सुतेको । झण्डै २४ घण्टा भइसक्यो म सुतेको । देख्दैनौ तिमीहरुले । तिमीहरुलाई मेरो पीडा दुःख्दैन ? कस्तो ढुंगाजस्तो मन तिमीहरुको ? म त ती सारा दुःखबाट पार पाउनका लागि मरेकी हुँ नी ! तिमीहरुलाई छुँदैन् मेरो पीडाले ! म रोए, कराए, बोलाए । अह उनीहरु सुन्दै सुनेनन् । केटाहरुले तास खेलेर रात छर्लङ्गै काटे ।
बिहान मिर्मिरे उज्यालो भयो । मलाइ सदा झै नित्य कर्ममा जान मन लाग्यो । उठ्न खोजे । आँखा खोल्न खोजे । अह खोलिनै मान्दैनन् आँखाले । मन्दिरको आँगनमा सबै बोलिरहेका थिए । कसैले आँखाभरी आँसु बनाएका छन् । कसैले रुदा रुदा थाकेको न्याउरो अनुहार लिएर आएका छन् । कसैले टाउँकामा कपडा बानेका छन् । कोही भन्छन् “ कस्तो अचम्म किन यस्तो गरी होली यो नानीले, हे भगवान यसको आत्माले शान्ति पाओस, अकालमा ज्यान फाली ।
कोही आँगनको डिलमा बसेर एकोहोरो मेरो शरिरमा हेरिरहेका छन् । कसैले मुख खोलिदेउन हेरौं भन्छन्, कसैले “आमा कतिखेर आउने हो ?” भनेर बाटोतिर आँखा बिछ्याइरहेका छन् ।
बिहानको ७ बजेको छ । बसमा दाउरा भरिरहेका छन् । केहीले मलाइ सुताउने बासको खटिया बनाइसकेका छन् । लाग्यो कहाँ लैजान लागे यिनीहरुले मलाई, । किन बासको खटिया मेरा लागि ? कोल्टे बनाएर राखे हुन्थ्यो नी बरु मलाइ ! कति आनन्द हुन्थ्यो शरिरमा । सविन दाइ र मेरा जेठाजुले उठाएर बासको खटियामा विस्तारै राखे मलाई ।
उनीहरुले उठाउँदा मेरो पछाडिको कपडा माथि तानियो । लाग्यो सबैले देखे । आत्तिएर आफैले हात पछाडि लगेर तान्न खोजे । अह हुँदै हुँदैन । हात पछाडि जादै जादैन । धेरै प्रयास गरे लुगा तल झार्ने सबै कोशिष कोशिषमै रहे । सक्तै सकिन् । फेरि उनीहरुलाई चिच्याए –विस्तारै राखन हो, मेरा लुगा सबै माथि तानिए । होइन्, मेरो बोलीमा पावर नभएको हो की यीनिहरु कान नसुन्ने भएका हुन् ? यतिधेरै चिच्याउँदा पनि सुन्दैनन् । अरुबेला त विस्तारै बोल्दा पनि सुन्थेनी कस्ता मान्छे रहेछन् । –ए जेठाजु, पख्नुस न मेरो लुगा माथि तानियो, मिलाउँछु र राख्नुहोला खटियामा । उनले पनि सुनेनन् ।
बासको खटियामा राखेपछि मेरो शिरदेखि पाउसम्म सेतो लावा र अविर खन्याइदिए सविन दाइले । कसैले धुप बालिदिए । कसैले लुगा ओढाइदिए । ठम्मरे काकाले कपडाको धर्सा काट्न लागे मलाई बान्नका लागि । होइन, किन बान्न लागेका होलान् यिनीहरुले, त्यसै त यो शरिरले कति दुःख पाएको छ, कति थाकेको छ । अझै बाध्दा झन के होला ?
खोइ, आमा आएनन ?
अमिकले आफ्नो गाडीमा ल्याउने हो रे त्यसैले ढिला गरे ।
ल, अमिकको गाडि आयो । आमा आइन होला, सुन्तली दिदीले भनिन् ।
कठैबरी ती आमाले कसरी सहने होला ? छोरीको यो हालत देख्दा, सीमलटारीका साइली आमाले भनिन् ।
“आमा आएनन्, घरभित्र छिरेको अघिनै हो, जा न, ए केटा हो, बोलाएर लेरा आज अष्टमी, धेरै काम बाँकी छ । बजारैको हातमा काम आएन ।” लौन, छिटो बोला ! सिरके दाइ कराए ।
ल, परिवारबाट कोही पनि नआउँने रे, । निबेदन दिन जाने रे जिल्ला प्रशासन कार्यालयमा । तिमीहरु लैजाने भए लैजा हामी जिम्मेवार छैनौ । हाम्री छोरीलाई न्याय चाहिन्छ भनेर कराए नी परिवार त सबै ।
के को न्याय दिने हो, झुण्डेर मरेकालाई पनि । पहिले पनि कतिपटक झुण्डेर मर्छु भन्दै नाम्लो बोकेर हिड्ने केटी । माइतीले आफ्नो छोरीमा के बितिरहेको छ, उ कुन समस्यामा छे भनेर खोजी गर्नु पर्दैन ? लाकुरे काका कराउँदै उफ्रिए । –जा भन्दे लास लान नदिने हो भने, आफै जिम्मा लिएर बस्न भन । हामी घर फर्कन्छौं ।
के, झुण्डिनु पाप थियो र ? मलाई त दुःख र पीडाले बाटो नदिएर पो यसो गरेकी । के मैले आत्महत्या गर्नु जायज थिएन र ? नभए के गर्ने त कहाँ जाने ? जाने बाटो थियो र मेरो कतै ? कसैले यो गलत हो र यो सहि हो भनेर भनेको थियो र मलाई ? के कसैले बाहिर निस्के त्यहाँ नबस भनेका थिए र ? के मलाई मेरी आमाले एक झापड हानेर भएपनि त्यस्तो पीडा सहेर नबस भनेर बाहिर तानेकी थिइन् र ? मलाई पीडा र दुःखका बीचपनि संघर्ष गरेर भविष्य सफल बनाउन सकिन्छ भनेर कसैले भनेको थियो र ? अ,ह थिएन् । दुःख र पीडाको भुमरीमा म पस्दा माइतीले भनेका थिए, “एकछिन दुःख गर, सम्पत्ति छ, पछि ठाउँमा आउनेछन् जवई ।”
के गरिन् र मैले त्यो घरका लागि अनि त्यो परिवारका लागि । झण्डै आधा दशक त पिडै पीडामा बिताए नी । कलेज पढ्दा पढ्दै आमा बाबाको काख छुटाएको थियो उसले ।
होइन्, हामीबीच पानी चल्ने भएपनि जात मिल्दैन्, तिमी भन्दा मेरो जात ठूलै भएपनि तिम्रो परिवारले मलाई नअपनाउला । तिम्रो मेरा माया नबुझ्ला यो संसारले । जे छौ यतिमै ठिक छौ भन्दा उसले भनेको थियो– छोडिदेउ दुनियाको कुरा, पहिले तिमी र म राम्रो भयौ भने पछि सबै राम्रो हुँदै जान्छ । म तिमी बिना बाँच्न सक्तिन् प्लीज त्यसो नभन । उसले नै जर्वजस्ती त्यसो गरेपछि मैले उसलाई आफ्नो जीवन सुम्पने बिचार गरेकी थिए ।
अलि टाढा मधुरो आवाजमा कोही चिच्याएर रोइरहेको थियो । को होला यसरी रुने ? आमाको आवाज त होइन, केटाको आवाज जस्तो छ यो त । रुवाइको आवाज नजदिक नजदिक आइरहेको थियो । दुइजनाले उसलाई झ्याइकुटी पारेर मन्दिरको खुड्किलो चढाउँदै थिए । मन भक्कानियो । उ रोएको देखेर । म पनि रोए, तर किन हो जत्ति बल गर्दा पनि उसको जस्तो मेरो आँखाबाट आँसु आउन सकेनन् । उ चिच्याएको देखेर सबैले बर्रर आँसु खसालेका थिए । तर, म रोएको किन कसैले देख्दैनन् ? म चिच्याइ, चिच्याइ रोए, अह कसैले सुनेनन् । उसले दिएको पीडाले मैले यो कदम उठाउन बाध्य भएकी थिए, तर, उल्टै सहानुभुति उ माथि पो जताइरहेका छन् मानिसहरु । के म मान्छे नै होइन ? मेरो दुख्ने मनै छैन ? किन म चिच्याएको रोएको कसैले पनि देख्दैन ? न राति कुर्नेहरुले देखे, न विहान आएर रुनेहरुले न त छोरी भन्दै मुहार मुसारेरका बाबाले देखे म रोएको ।
उ रुदै थियो–मलाई मात्रै एक्लै छोडेर किन गएको तिमी, मलाई पनि लैजाउँ सँगै ।
एकछिन त, म भावुक भए, तिमीले यति माया पहिल्यै देखाइदिएको भए, मैले आत्महत्या गर्थे ? तिमीले मेरो आवस्यकता कति छ भनेर बुझिदिएको भए, मैले संसार छोड्न बाध्य हुन्थे र ? तिमीले मेरो कोखमा हुर्किन लागेको भ्रुण पनि त फ्याकिदिएका थियौं नी अहिले बच्चा नजन्माउने भनेर ! हो की होइन् भन त ? त्यो बच्चा भएको भए, तिमीले दिएको यातना र पीडा भन्दा बढी सन्तानको मायाले जित्थ्यो की ? मलाई बाँच्ने आधार हुन्थ्यो की ! म उसलाई हेरेर बाँच्न सिक्थे नी, अ,ह तिमीले त्यो मौका मलाई कहाँ दियौं र ? के के भन्यौ के के ग¥यौं, यहि मनलाई थाहा छ, त्यसैले त सुख पाउनका लागि म हिडेको नी टाढाको बाटो ।
उता सासु आमा पनि “हामीलाइ एक्लै बनाएर गयौ भनेर रुदै थिईन् । हो, उनको मनमा पाप थिएन, भएको भएपनि मैले महसुस हुने गरेर कहिल्यै देखाएकी थिईनन् । गाउँ घर हो, काममा भने अलि पेल्थिन् । छिटो गर्नुपर्छ भन्थिन् । म रोइरहेकी सासु आमाको नजिकै गए, नरोउ भन्दै आँसु पनि पुछिदिए । तर, खोइ किन हो, मैले पुछिदिएको आँसु थामिएकै थिएन् । मैले उनको हात समाएर नरुन आग्रह गरे, रुवाइ थामिएन, अरु केही उपाए नलागेर गम्लंग अंगालो हाले– सासु आमा नरुनुस् न मलाई केही भएको छैन । मैले त तपाइको छोराले दिएको पीडाबाट मुक्ति पाउन मात्रै यसो गरेकी हुँ । सासु आमा मैले विगतमा गरेका माया सम्झिरहनुस है, जीवनभरी । खोइ, कति निठुरी बनिन् सासु आमा, सुनिनन् । हुन्छ पनि भनिनन् ।
हो, सासु आमा मलाइ थाहा छ, तिमीले उसलाई गाली पनि गरेकी थियौं मलाई यति धेरै नसताउन भन्दै । उसले कहाँ मान्यो र ? मलाई हरेक दिन मानसिक पीडा दियो उसले । नेपाली संस्कार अनुसार मैले उसले भनेको मान्नु पथ्र्यो । उसलाई सम्मान गर्नुपथ्र्यो । उसको गाली पीटाइ खाएर पनि बाध्य भएर पत्नि धर्म निभाउनु पथ्र्यो मैले, जसरी गाउँमा अन्य दिदी बहिनीहरुले निभाएका छन् । तर, तिमीले त, उसलाइ कसेर गालामा हानेर बानी सुधार भनेर पिट्न सक्थ्यौं नी, आखिर उ तिम्रो छोरो थियो सासुआमा ।
जसरी सानोमा तिमीलाई दुःख दिदा मायै मायाले तिमीले कति पिट्थ्यौ उसलाई । जसरी तिम्रो दूध पोसिलो थियो उसको शरिरका लागि त्यसरी नै तिम्रो झापड उसको जीवन सुधारका लागि राम्रो बाटो बनेको थियो । तिम्रो मायाले नै उसले जति ठूलो हुँदै गयो उति आफूलाई परिपक्व बनाउँदै गएको थियो । एकछिन तिमीसँग रिसाए पनि उसले आफूलाई सुधारेर जीवनको सहि मार्ग अपनाउन सक्थ्यो ।
सासु आमा, साच्चै भनौ भने, उसले म पनि मानब भएको र मेरो पनि यो संसारमा मानव भएको अस्तित्व छ भनेर बुझ्नै सकेन् कहिल्यै पनि । सासु आमा गल्ति तिम्रो पनि हो, तिमीले मानबियताको संस्कार समेत भर्न सकेकी रहिनछौ छोराको मन मष्तिष्कमा । अर्को कुरा मैले आधा दशक त्यो घरमा बिताउँदा पनि कानुनी रुपमा स्वास्नी बन्ने कुनै अधिकार उसले दिएन । अरु त परै जावोस हाम्रो बिबाह दर्ता समेत भएको थिएन सासु आमा त्यो तिमीलाई पनि थाहा छ ।
हो, सासुआमा । आफ्नो छोराछोरी जत्ति नै गलत भएपनि कुनै पनि बाबु आमाको मायालु मन, मान्न तयार हुँदैन् उ गलत छ वा उ फटाहा छ भनेर । तर, त्यो गलत व्यवहारको संस्कार मौलाउँदै गएपछि न आमा बाबुको अधिनमा हुन्छ, न आफ्नै मनको अधिनमा रहन सक्छ मान्छे ।आमाको अधिन र आफ्नै मनको अधिनमा मानिस नभएपछि थाहा छ, सासु आमा मैले जस्तै नियति निर्दोष व्यक्तिले भोग्नुपर्छ । सासुआमा एउटा अर्को कुरा पनि स्मरण गराउन चाहे तिमीलाई, प्रेम बिबाह गर्दाको परिणाम परिवारको दकसको भुक्तभोगी त तिमी पनि त थियौं नी फेरि हाम्रो प्रेम बिबाह तिम्रो अभिभावकत्वमा किन सहि तरिकाले मौलाउन सकेन सासुआमा ?
मनमा भएको औडाहा सासु आमालाई सुनाएर मन हल्का पारे । तर, सासु आमा पारी हेर्दै टोलाउँदै बसिन् । मेरो कुराको कुनै प्रतिक्रिया जनाइनन् । लाग्यो अहिले यिनी शोकमा छन् । म फेरि फर्केर सुते आफ्नै ठाउँमा ।
–दिनको तीन बजिसक्यो । उनीहरु जिल्ला कार्यालयबाट अझै आएनन् ? के गर्दैछन ह, त्यहाँ, दसैंका बेला हेर त घरमा कति काम छ । यो मुढो यहाँ राखेर कसरी कसका घरमा खुसी आउँछ ह ? तरामी ठूलाबा कराउँदै थिए । अर्को गाउँबाट आएको दाइले भन्दै थिए, “केटीले न्याय पाउनुपर्छ ।”
–यिनले कुरा बुझेछन् बल्ल । हो नी म माथि माया गर्छु भन्नेले अन्याय गरेकै हो, माया नदिएर । मेरो अस्तित्व नबुझेर ।
बाबा फेरि आएर अनुहार मसारे । खल्तीमा रहेको एक रुपिया निकालेर ढोगे । अनि मेरो मुखमा राखिदिए । मनमनै सासैसासमा भन्दै थिए ‘तिम्रो आत्माले शान्ति पावोस छोरी ।’
बिहान मन्दिरको आँगनभरी भरिएका सबैजना घर लागिसकेका थिए । मेरी सासु, उनका छोराहरु र आफन्त र एक दुईजना अरु गाउँले बाहेक सबै गइसकेका थिए ।
यत्तिकैमा फोन आयो ठम्मरे काकालाई । “लौ लास लैजाउ रे” ।
म त लास बनिसकेको पो रहेछु । मैले त उनीहरुलाई डर देखाउन मेरो पीडा बुझाउन पो यसो गरेकी थिए । के अब मैले कहिल्यै फर्कन सक्तिन् ? आमासँग भलाकुसारी गर्न सक्तिन ? के मलाई तड्पाउने मान्छेलाई सजाय दिन सक्तिन् ? मलाइ तड्पाए जसरी उसलाई तड्पाउन सक्तिन ? म यहि सोच्दै थिए, अनद, ठम्मरे काका, तरामी ठूला बा लगायत सबैले मलाई बेस्कनी बाँधे । फेरि अबिर छर्किदिए । फूल राखिदिए छातिमाथि ।
मलाई अप्ठ्यारो लाग्यो । लौ न मलाई नलैजाओ, मैले बदला लिनुछ । लड्नुछ उँ सँग । म सँग शिक्षा अनि सिप पनि छ नी म केही गरेर खान सक्छु ।, भयो के, अब मन बलियो बनाउँछु प्लीज मलाई नलैजानुस् फेरि यस्तो गर्नेछैन । मलाई छोडिदिनुस । म अन्यायको निम्ति लड्न चाहान्छु यो समाजमै अझै केही समय बाँचेर ।
छोड्नुस । म उचालिए । रोए । कराए । हात हल्लाए । खुट्टा पछारे । अह, कसैले सुनेनन् । मैले फेरि हारे । जित्ने चाहानामा फेरि पछारिए म । फेरि एक्लिए म ।
अन्ततः बसमा राखेर हिडाले मलाई । मेरो शब जलाएर दसैंको तयारी गर्नका लागि हतारिए सबैजना । लाग्यो मैले भुल गरेछु आत्महत्या गरेर ।
अन्तिममा मेरा दुइ सब्द सबै जीवनका लागि । प्लीज कसैले पनि जीवन देखि हार खाएर यसो नगर्नु होला । म त मरिहाले । यिनीहरुको बलियो बाहुबाट फुस्केर म फेरि आउन नसक्ने भए । सबै घटनाको साक्षी मै, म, नै मरेपछि त अरुले त एक दुईदिन आँसु न खसाउने न हुन् । प्रकृतिको नियम हो, एकछिन भावनामा बहेपनि, त्यसपछि त सबै आ–आफ्नो वास्तविकतातिर फर्कनुपर्छ ।
त्यसैले तिमी बाँच्यौ भने धेरै गर्न सक्छौ । संघर्ष गर, अनि कोशिष गर जीवनमा खरो उत्रने । तिमी आफै डढेलो लगाएर जीवन मास्यौ भने त मासिइहाल्यो नी जीवन ! फेरि न उम्रन सक्छ नत तिमीले जीवनको नयाँ पालुवा पलाएको महसुस नै गर्न सक्छौ ।
पतझड पछि पालुवा पलाउने संसारको रित हो । सुख पछि दुःख र दुःखपछि सुख संसारको रित हो । त्यसैले धैर्य गर । जीवनमा सुनौला दिन अबस्य आउनेछन् । त्यो तिमीले नै ल्याउनुपर्छ ।
अलबिदा !
वि.सं.२०७३ असोज ३० आइतवार ०८:१७ मा प्रकाशित