वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ
विशाल सिमलको टुप्पोमा रहेको कलिलो पालुवाले जमिनतिर हेर्दै भन्यो,
“ओइ, फोहोरी जरेहरू! थुइक्क तिम्रो जिन्दगी ! जहिल्यै अन्धकार र हिलोमा डुब्छौ हैन। मलाई हेर, जिन्दगी त मेरो जस्तो हुनुपर्छ । यी आकाश छुँदैछु, सूर्य आएर जहिल्यै मेरो निधार चुम्छ।”
जमिनमुनिबाट एउटा पाको जराले शान्त आवाजमा भन्यो,
“ठिक भन्यौ नानी, तिमी सुन्दर छ्यौ, हामी काला र फोहोरी छौँ । तर नानी ! तिमीलाई उचाइ दिन र सुन्दरता भर्नमा हाम्रो हात छ भन्ने नभुल।”
खिसीट्युरी गर्दै पालुवा खित्खिताएर हाँस्यो र भन्यो,
“के रे, के रे ? मेरो प्रगतिमा तिम्रो हात छ रे ! कस्तो भद्दा मजाक । कति डाहा गर्छौ हगि, मेरो ? यो सुन्दरता र उचाइमा मेरो आफ्नै मेहनत छ, बुझ्यौ ? यिनीहरूको त अनुहार सम्झिदा पनि घिन लागेर आउँछ, छि: छि:।”
लगत्तै आकाशले आफ्नो अनुहार कालोनिलो पार्यो, भीषण हावाहुरीको रूप लियो। घनघोर वर्षा भयो । हावाहुरी, वर्षा थामिँदासम्म रूख साविक स्थानमै ठडिएको थियोे भने पालुवा भुइँमा असरल्ल थियो । हिलोमा गाडिएको पालुवाले हात जोर्दै रूखसँग अनुनय विनय गर्दै भन्यो,
“लौन हजुर ! मलाई बचाउनुहोस्, मेरो उद्धार गर्नुहोस् !”
वि.सं.२०८२ चैत २१ शनिवार ०७:११ मा प्रकाशित






























