४ कात्तिक, अर्घाखाँची । यस जिल्लाको धनचौर गाविस–५ की कल्पना भुसालको हत्या आरोपमा पक्राउ परेको दुईजनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बुधबार सार्वजनिक गरेको छ ।
पक्राउ परेका धनचौर गाविस–५ का गणेश भुसाल तथा गणेशका बाबु खेमराज भुसाललाई बुधबार यहाँ आयोजित पत्रकारसम्मेलनमा सार्वजनिक गरिएको हो ।
प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले असोज १८ गते बेलुकादेखि हराएकी कल्पनाको हत्या गरेको अभियोगमा गणेश र खेमराजलाई अनुसन्धानका लागि हिरासतमा लिइएको र अहिले अनुसन्धान भइरहेको बताउनुभयो ।
अनुसन्धानका क्रममा गणेशले कल्पनाको हत्या गरी झिम्रुक नदीमा फालेको प्रहरी समक्ष स्वीकार गरेको प्रनाउ पौडेलले बताउनुभयो ।
धनचौर–५ की २४ वर्षीया कल्पना असोज १८ गते देउरालीस्थित रुद्र किरना पसलबाट दशैंका लागि सामान लिइ घरतर्फ आउँदै गर्दा बाटोबाटै हराएकी थिइन् । रासस