
१७ असोज, काठमाडौं । डेढमहिने शिशु च्यापेर एउटा सुत्केरीलाई टहरामा गुजारा गर्न कति सकस होला ? बिहान, दिउसो, बेलुकी पौष्टिक आहार त परको कुरा, उनले दुई छाक हातमुख जोर्न पनि अभिभावकको रुखो बचन सहनु परेको छ ।
सुत्केरी आमाले त जसोतसो पुराना कपडा फेरफार गर्र्दै आएकी छन् तर, शिशुको लागि स्वास्थ्य चौकिले दिएको न्यानो झोला बाहेक अन्य कपडा छैन । गोरखा नगरपालिका ४ की २० वर्षीया सिर्जना आले विगत डेढ महिनादेखि कष्टपूर्ण जीवन बिताउन बाध्य भएको आजको नागरिक दैनिकमा समाचार छ ।
सिर्जना अविवाहित हुन् । साउन २४ गते सुत्केरी भएकी उनलाई स्वास्थ्य संस्थामा कसैले लगिदिएन । परिवारका सदस्यले छि.छि र दुर दुर गरिरहन्छन् । रुखो बचन नलगाई खाना दिदैंनन् । ‘आजै गइ हाल, भोलि नै गईहाल् भन्छन,’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘ म घरमा बस्छे भनेर अहिलेसम्म भूकम्पपछि बनाएको नयाँ घर छाएका पनि छैनन् । मैले छाडेर गएपछि छाउने भनेका छन् ।’ उनी घरकी कान्छी छोरी हुन् ।
कम बोल्ने र कम सुन्ने उनी भीमसेन थापा गाउँपालिका बगुवाका युवकसँग प्रेम सम्बन्ध रहेको बताउँछिन् । गत वर्ष असोजमा उनी ती युवकसँग गएकी थिइन् ।
युवकले आफ्नो दाजुको घरमा राखेका थिए । पेटमा बच्चा भएको थाहा पाएपछि युवक सम्पर्कमा नरहेको उनले बताइन् । उनको भनाइ अनुसार ती युवक गाडीका सहचाल थिए । अहिले उनी न त आफू ती युवकलाई खोज्न जान सक्छिन् नत परिवारले नै सघाउछ ।
वि.सं.२०७५ असोज १७ बुधवार ०६:१५ मा प्रकाशित