६ मंसिर, काठमाडौं । क्रान्तिकारी पत्रकार संगठनले पार्टी र संगठनवाट निष्काशितहरुसँग सचेत रहन आग्रह गरेको छ संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले मातृ पार्टी र संगठनबाट कारवाहीमा परिसकेका व्यक्तिले पार्टी र संगठनको नाम भजाएर हिडिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् । यसअघि पार्टी र सँगठनको कारवाहीमा परिसकेका र अहिले कुनै सम्पर्कमा नरहेका केही व्यक्तिहरुले लगायतले आफूलाई पार्टी निकट र संगठनको मान्छे भन्दै विभिन्न ठाँउमा पुगेको जानकारी आएपछि क्रान्तिकरी पत्रकार संगठन, नेपालले सबैलाई सचेत गराएको हो ।विज्ञप्तिमा भनिएको छ – ‘आस्था र विचारका हिसाबले नेपाल कम्युनिष्ट पार्टी निकट रहेको यस संगठनलाई बदनाम केही केहि अराजक व्यक्तिहरु निरन्तर लागिरहेकाले सचेत रहन सबैलाई आग्रह गर्दछौं ।’
विज्ञप्तीमा नेपालले यही मंसिर ८ गते हुन गईरहेको मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीको बृहत आमसभालाई सफल पार्नका लागि सहयोग गर्न आम जनसमुदायलाई आग्रह समेत गरिएको छ । काठमाण्डौंमा हुने बृहत आमसभालाई सफल बनाउन सहयोगका लागि सम्पूर्ण मिडियाकर्मी,नागरिक समाज, बुद्धीजीवि, अधिकारकर्मी लगायत आम जनसमूदायलाई आग्रह गरिएको हो ।
क्रान्तिकारी पत्रकार संगठनले बृहत आमसभाको प्रचार प्रसारका लागि मातृ पार्टीलेनै प्रचारप्रसार उपसमिति गठन गरेर केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ को संयोजकत्वमा काम गरिरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘मिडियाहरुसँग सहकार्य गर्ने विषयमा उपसमितिले नै काम गरिरहेको अवस्थामा यस संगठनको नाम बेचेर केही व्यक्तिले भ्रम छर्ने प्रयास गरिरहेको भन्ने सूचना आएकाले सचेत रहन सबैलाई आग्रह गर्दछौं । प्रचार प्रसार तथा मिडियालाई औपचारिक आग्रह गर्नका लागि प्रचार प्रसार उपसमिति र क्रान्तिकारी पत्रकार संगठन नेपालका पदाधिकारीसहितका सदस्यहरु आफै कृयाशिल रहेको जानकारी गराउँदछौ ।’

वि.सं.२०७५ मंसिर ६ बिहीवार १४:२७ मा प्रकाशित



























