back
CTIZAN AD

गौतमबुद्ध विमानस्थल युद्धस्तरमा काम–आगामी जेठभित्र उडानयोग्य

वि.सं.२०७५ मंसिर ६ बिहीवार

606 

shares

 ६ मंसीर, भैरहवा ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ ।

हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रेको काम भइरहेको छ । सो विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार करीब एक किमी धावनमार्गमा पहिलो चरणको कालोपत्रे सम्पन्न भएको छ । यही गतिमा काम भएको खण्डमा आगामी ४५ दिनभित्र पहिलो चरणको कालोपत्रे काम सकिनेछ । धावनमार्गमा तीन तहको कालोपत्रे गर्नुपर्ने भएकाले पहिलो चरणको काम सकिएपछि क्रमशः दोस्रो र तेस्रो चरणको कालोपत्रे गर्न १५÷१५ दिनको समय लाग्नेछ ।

विमानस्थलको निर्माण चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । आयोजनाको कूल लागत मूल्य अभिवृद्धि करसहित रु छ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ रहेको छ । आयोजना प्रमुख अधिकारीका अनुसार हाल निर्माण व्यवसायीले दुई वटा अलकत्रा र गिट्टी घोल्ने यन्त्र जडान गरेर धावनमार्गमा कालोपत्रे गरिरहेको छ ।

सन् २०१९ को जुन २८ सम्म सञ्चालन योग्य बनाउने गरी काम भइरहेको छ । राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगति न्यून र आशातीत रुपमा राम्रो नभइरहेको अवस्थामा गौतमबुद्ध विमानस्थलको काम लोभलाग्दो तवरले भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दैनिकजसो नै विमानस्थल निर्माणको प्रगतिबारेमा जानकारी लिने र समस्या आए समाधान पनि तत्काल नै गर्ने गरेका छन् ।

स्थलगत निरीक्षणका लागि बुधबार विमानस्थल पुगेका मन्त्री अधिकारीले आयोजना प्रमुख अधिकारीलाई सोध्नुभयो, “समस्या के छ, अहिल्यै भनी हाल्नुस् ।” आयोजना प्रमुखले तत्काल खासै समस्या छैन भन्दै विमानस्थल निर्माणको प्रगतिबारेमा जानकारी गराए । आयोजना प्रमुख अधिकारीले भने, “सामान्य रुपमा निर्माण व्यवसायीलाई भुक्तानी दिन केही रकमको अभाव छ, अरु त सबै काम युद्धस्तरमा भइरहेको छ ।”

उनका अनुसार एक दर्जन बढी निर्माण उपकरण धावनमार्ग कालोपत्रे गर्न परिचालन गरिएको छ । विमानस्थलको अन्य भौतिक निर्माणको कामसमेत द्रुतगतिमा नै अगाडि बढाइएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, कार्यालय भवन, विद्युत् सवस्टेशन, अग्नि नियन्त्रक कक्ष, पानी ट्याङ्की, सुरक्षाकर्मीको आवासगृहको कामसमेत अन्तिम चरणमा पुगेको छ ।

कूल तीन हजार मिटर लामो धावन मार्गको कालोपत्रे सकिएपछि आयोजनाको भौतिक प्रगति ७० प्रतिशत माथि पुग्ने दाबी गर्दै आयोजना प्रमुख अधिकारीले भने, “सरकारको चासो, राष्ट्रिय आवश्यकताका आधारमा पनि हामी तोकिएको समयअगावै विमानस्थल निर्माण सम्पन्न गर्छौं ।”

ट्याक्सी वे को निर्माण भने सम्पन्न भइसकेको छ । सञ्चालनमा रहेको धावनमार्गलाई समेत उपयोग गर्ने नीति लिइएको छ । उहाँका अनुसार धावनमार्ग, अन्तर्राष्ट्रिय एप्रोन तथा अन्य भौतिक निर्माणको कामसँग एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरणको आयात तथा जडानका लागि समेत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । सो विमानस्थलमा बोइङ ७७७–२०० सम्मका जहाज उडान तथा अवतरणलाई योग्य हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समेत विकल्पमा सो विमानस्थललाई सञ्चालनमा ल्याउन सकिनेछ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको र कुनै पनि समस्या हुन नदिइएको मन्त्री अधिकारीको भनाइ थियो । “हामीले नियमित अनुगमन गरिरहेका छौँ, सामान्यदेखि जटिल समस्यासमेत समाधान गरिएको छ, आयोजना, निर्माण व्यवसायी, परामर्शदाता तथा अन्य सरोकार भएका सबै निकायलाई पनि उत्तिकै परिचालन गरिएको छ । आशा गरौँ, आगामी जेठभित्र सो विमानस्थल सञ्चालनमा आउनेछ ।”

धावनमार्ग बनेपछि महत्वपूर्ण पाटो ‘कम्युनिकेसन नेभिगेसन’ उपकरण जडानका लागि समेत बोलपत्र तथा अन्य प्रक्रियागत कामलाई तीव्रता दिइएको छ । बोलपत्रको प्रक्रिया पनि केही दिनभित्रै टुङ्गो लाग्नेछ । विमानस्थलको टर्मिनल भवनको छानो हाल्ने बाँकी काम दुई महीनाभित्र सकिने छ । विमानस्थल परिसरमै रु एक अर्ब लागतको कार्गो भवन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

आयोजनाका लागि थप ५०० बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । हालसम्म अधिग्रहण गर्न रु १० अर्ब खर्च भइसकेको छ । बाँकी अधिग्रहणका लागि रु ११ अर्ब चाहिनेछ । सञ्चालनमा रहेको धावनमार्गलाई पार्किङस्थल बनाएर निर्माणाधीन धावनमार्ग नै सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्री अधिकारीको भनाइ थियो । सन् २०१९ सम्ममा त्यहाँबाट अन्य गन्तव्यमा समेत उडान गरिनेछ ।

निर्माण व्यवसायी चिनियाँ कम्पनी ग्रुपका परियोजना निर्देशक सुइले पनि विमानस्थल निर्माणमा कुनै पनि समस्या हुन नदिन आफूहरु प्रयत्नशील रहेको र तोकिएको समयभित्रै सम्पन्न गरिने जानकारी दिए । “हामी प्रयत्नशील छौँ, सबै प्रकारको क्षमताको उपयोग गरेका छाँै, प्रगति असाध्यै राम्रो भइरहेको छ । यो काम मात्रै होइन नेपाल चीन सम्बन्धलाई नयाँ उचाइमा उठाउने अभिभारा पनि हो” सुइले भने ।

भैरहवा विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालनमा आउनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ७० लाख यात्रु क्षमता रहेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न र भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवद्र्धन गर्नसमेत सहयोग पुग्नेछ ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार १५:३८ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...