back

‘स्वास्थ्य चौकी बन्यो, अब सहज उपचार हुन्छ होला’ सेमजोङवासी

वि.सं.२०७३ कात्तिक ८ सोमवार

552 

shares
GLOBAL IME AD
NTC AD

सेमजोङ (धादिङ) । काठमाडौँसँगै सिमाना जोडिएको भए पनि धादिङको सेमजोङ गाविस निकै विकट मानिन्छ ।

धादिङको गल्छीबाट करिब ३७ किमीको दूरीमा रहेको यो गाविस पुग्न करिब तीन घन्टाको मोटर यात्रा गर्नुपर्छ ।

छ सय ९० घरधुरी रहेको सेमजोङका मानिसका लागि छ महिना खुल्ने र छ महिना बन्द हुने यो बाटो निकै कष्टपूर्ण छ । कहिलेकाहीँ पुग्ने मानिसका लागि यो ठाउँ निकै रमाइलो र मनमोहक छ । कतिले यो ठाउँलाई सानो दार्जिलिङ पनि भन्ने गर्छन् ।

अन्य कुरा सहजै टार्न सकिने भए पनि सानासाना छोराछोरी बिरामी हुँदा र गर्भवतीको समयमा भने गाउँमा उपचार हुन नसक्ने अवस्थामा भने निकै कष्ट हुने स्थानीयवासी मधु तामाङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीलाई अन्य सुविधा नभएको भन्ने गुनासो छैन तर सुत्केरी हुन नसक्दा, ठूला अस्पतालमा लैजानुपर्ने अवस्थामा भने निकै समस्या हुन्छ ।”

सेमजोङवासीलाई सामान्य बिरामी हुँदा पनि नुवाकोटको त्रिशूली, धादिङबँेसी र काठमाडौँसम्म जानुपर्ने वाध्यता छ । निकै अप्ठ्यारो बाटो भएकाले यो ठाउँमा एम्बुलेन्स वा अन्य सवारी साधन जान नमान्दा बिरामीलाई बोकेरै अस्पतालसम्म ल्याउनुपर्ने अवस्था रहेको बताउनुहुन्छ, ५५ वर्षीय फूलमाया तामाङ ।

भूकम्पले गाविसमा भएको एकमात्र स्वास्थ्य चौकी पनि भत्काइदिँदा त्यहाँका जनताले थप कष्ट व्यहोर्नु परेको थियो । भूकम्पले भत्काएको करिब डेढ वर्षपछि निर्माण भएको स्वास्थ्य चौकी हेर्दै फूलमायाले यस्तो राम्रो स्वास्थ्य चौकी बनेको छ । अब त सबै उपचार यहीँ हुन्छ होला ? “ सबैभन्दा बढी समस्या यो गाविसमा गर्भवती महिलालाई नै छ । केही समस्या आयो भने त्रिशूली वा धादिङबेँसीसम्म पु¥याउन हामीलाई रु १५ हजारसम्म एकोहोरो भाडा लाग्ने गर्छ”– सानोकाजी तामाङले भन्नुभयो ।

तामाङ र दलित समुदायको बाहुल्यता रहेको यो गाविसमा रहेको स्वास्थ्य चौकी जर्मन विकास सहयोग (जिआइजेट) अन्तर्गतको नेपाल–जर्मन रिकभरि कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो ।

स्वास्थ्य चौकीको उद्घाटनमा भेला भएका सेमजोङवासीले निकै हर्षित हुँदै नेपाल सरकार र जिआइजेटका प्रतिनिधिलाई आफ्नो जातीय सांस्कृतिक झाँकी र वेषभूषामा सजिएर धन्यवाद दिएका थिए । आफू सुत्केरी हुँदाको बेला सम्झँदै २० वर्षीय चनमति सुनार अब नयाँ स्वास्थ्य चौकी बनेपछि महिलाले सजिलै बच्चा जन्माउनसक्ने भन्दै खुसी व्यक्त गर्नुभयो ।

साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष सङ्गीता तामाङले भूकम्पमा स्वास्थ्य भवन भत्किएपछि उपचार गर्न जाँदा कहिले औषधि नहुने, कहिले स्वास्थ्यकर्मी नभेटिने कारणले स–सानो स्वास्थ्य समस्या पर्दा पनि धाएर टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने आशा व्यक्त गर्नुहुन्छ ।
स्वास्थ्य भवन बनाउन आफ्नो जग्गा प्रदान गर्नुभएकी छयो तामाङ आफ्नो घर आँगनमै स्वास्थ्य भवन बन्दा आफूले सहजरुपमा उपचार पाउने भन्दै दङ्ग हुनुहुन्थ्यो ।

सेमजोङमा निर्मित उक्त नयाँ स्वास्थ्य चौकी भवनले मासिक रुपमा करिब ३०० जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने बताइएको छ ।

जिआइजेटको ‘नेपाल–जर्मन रिकभरी प्रोग्राम’ले धादिङमा बनाएको सबै स्वास्थ्य चौकी भवनमा चिकित्सा उपकरणको आपूर्तिमा वानहर्ट वल्डवाइल्डको सहयोग रहेको छ । प्रोग्रामले जिल्ला स्वास्थ्य कार्यालयसँगै धादिङमा १६ वटै प्रिफ्याब्रिकेटेड स्वास्थ्य भवन निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको नेपालका लागि जर्मनका राजदूत माथियास मेयरले बताउनुभयो ।

उहाँले नवनिर्मित स्वास्थ्य भवनबाट जनताले उत्कृष्ट स्वास्थ्य सेवा पाउने विश्वास पनि व्यक्त गर्नुभयो । जिआइजेडले धादिङका नौबिसे, महादेवबँेसी, जीवनपुर, जोगीमारा, मुरलीभञ्ज्याङ, डोला, दुवाकोट, दुवाकोट २, कटुन्जे, सेमजोङ, खाल्टे, सुनौलाबजार, मूलपानी, सल्यानकोट, बुढाथुम र किरणचोकमा स्वास्थ्य चौकी निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । यी सबै अस्थायी रुपमा बनाइएका प्रिफ्याब्रिकेटेड भवन हुन् । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०३:०६ मा प्रकाशित