१० कात्तिक ,काठमाडौं। अठार नेपाली कलाकार र एक चिनियाँ कलाकारका कलाकृतिको प्रदर्शनी बेइजिङको ७९८ आर्ट भिलेजमा अवस्थित ‘जु लिन इस आर्ट सेन्टर’मा सुरु भएको छ ।
नेपालमा दुई दशकदेखि नेपाली कलाको प्रवद्र्धनको काम गर्दै आइरहेको थाङ्का हाउस र सेन्टरको संयुक्त आयोजनामा सो प्रदर्शनीको आयोजना गरिएको थाङ्का हाउस ठमेलका सञ्चालक वीरेन्द्र शाहीले बताउनुभयो । यही कात्तिक २ देखि १४ गतेसम्म रहने सो प्रदर्शनीमा नेपालबाट समुद्रमानसिंह श्रेष्ठ, मुकेश श्रेष्ठ र राजप्रकाश तुलाधर सहभागी हुनुहुन्छ । प्रदर्शनीमा नेपाली कलाकार पूर्ण ह्योजु, उजय वज्राचार्य, रितेश शाही, मदन किजु, हरिप्रसाद वैद्य, शुक्रराज तामाङ, रवीन्द्र मुनिकर्मी, देवेन्द्र सिङ्खवाल, शिवप्रसाद किजु, मीनु शाक्य लगायतका र चीनका हान ली रोङका कलाकृति पनि राखिएको छ ।
नेपाल र चीनको मित्रतलालाई प्रगाढ बनाउने उद्देश्य राखेर प्रदर्शनीको आयोजना गरिएको शाहीले बताउनुभयो । चिनियाँ कला प्रवद्र्धक गो जिङ चाओले नेवारी कला प्रवद्र्धन गर्नका लागि चीनमा १० वर्षदेखि आफूसँग मिलेर काम गरेको शाहीले बताउनुभयो । चाओले विशेषगरी नेवारी कलालाई चीनमा चिनाउन ठूलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामीले नेपाली कलाको प्रवद्र्धन मात्रै होइन, सांस्कृतिक रुपमा एक अर्काका देशका कलालाई परिचित गराउने र कलाकारलाई अवसर प्रदान गर्दै आइरहेका छौँ, यसले अन्तर्राष्ट्रिय रुपमा नेपाली कलाको विकास र प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पु¥याउन सक्छ भन्ने मेरो विश्वास हो ।”
नेवारी कला भनेपछि हुरुक्कै हुने चाओले थुप्रै नेपाली कलाकारका कला सङ्ग्रह गरेको प्रदर्शनीमा सहभागी कलाकार तुलाधरले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई वर्षअघि पनि चाओले नेपाली कलाकारका कला प्रदर्शनी गर्नुभएको थियो, अहिले पनि उहाँले शाहीसँग मिलेर अझ भव्य रुपमा चीनमा कला प्रदर्शनीको आयोजना गर्नुभएको छ ।”
चीनबाट अनलाइनमार्फत कुरा गर्दै चाओले भन्नुभयो, “चीन र नेपालको पुरानो सम्बन्धलाई ताजा र चिरस्थायी बनाउनका लागि सांस्कृतिक सम्बन्धको महत्वपूर्ण भूमिका रहन्छ । यसै भएर नै हामीले नेवारी कलालाई चीनमा चिनाउने काम गरेका छौँ । आगामी दिनमा हामी अझ सशक्त रुपमा सम्बन्ध विस्तार संस्कृति आदानप्रदानको काम गर्नेछौँ ।”
प्रदर्शनीमा सहभागी अर्का कलाकार मुकेशले प्रदर्शनीमा सहभागी हुन पाएकामा आफू उत्साहित रहेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपाली कलाको विकास र अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि यो कला प्रदर्शनी कोसेढुङ्गा साबित हुनेछ ।” नेपाली पौभा कलाका परिचित कलाकार समुद्रमानसिंहले चीनको भ्रमण र त्यहाँको कलाको माहोलले आफूमा नयाँ उत्साह थपिएको बताउनुभयो । उहाँले प्रदर्शनीमा राखिएका कलाकृतिमा विविधता रहेको र त्यसले नेपाली कलालाई बाहिरी संसारसँग परिचित गराउने अवसर रहेको स्पष्ट गर्नुभयो ।
प्रदर्शनीमा तुलाधरले बनाएको हरितताराको चित्रलाई मोनालिसासँग तुलना गरेकामा गर्वको अनुभूति भएको सुनाउनुभयो । सोही प्रदर्शनीका अवसरमा नेवार कलाका बारेमा जानकारी गराइएको शाहीले बताउनुभयो । प्रदर्शनीमा नेपालबाट पाँच जनाको टोली आठ दिनको भ्रमण सकेर सोमबार नेपाल फर्किएको ललितकला पत्रकार देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो । रासस
वि.सं.२०७३ कात्तिक १० बुधवार ०२:३६ मा प्रकाशित