back
CTIZAN AD

सशस्त्र प्रहरीबलको स्थापना दिवसमा पूर्व महानिरीक्षकहरु नै अनुपस्थित

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

819 

shares

११ कात्तिक ,काठमाडौँ। सशस्त्र प्रहरीबलले १६औँ स्थापना दिवस मनाउन आज बिहान आयोजना गरेको कार्यक्रममा विगतमा जस्तो बलका पूर्व प्रहरी महानिरीक्षकहरुको उपस्थिति थिएन ।

कार्यक्रममा बलका जीवित पाँच पूर्व महानिरीक्षकमध्ये एक जना मात्रै पूर्व महानिरीक्षक किशोरकुमार राई उपस्थित हुनुहन्थ्यो । तत्कालीन बहालवाला प्रहरी महानिरीक्षक कोषराज वन्तसहित पूर्व महानिरीक्षक सनतकुमार बस्नेत, वासुदेव ओली, शैलेन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ र यस सम्बन्धी अदालती प्रक्रिया जारी छ । सोही कारण पूर्व महानिरीक्षकहरु कार्यक्रममा उपस्थित नभएको अनुमान गरिएको छ ।

बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिवाकर केसीले सबै पूर्व महानिरीक्षकहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “हामीले सबै पूर्व महानिरीक्षकहरुलाई आमन्त्रण गरेका थियौँ । उहाँहरु किन आउनुभएन, त्यसको जानकारी भएन ।”

बलका हालसम्मका सात पूर्व महानिरीक्षकमध्ये संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठको द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा (माओवादी)को आक्रमणमा मृत्यु भएको थियो । त्यसपछिका महानिरीक्षक सहवीर थापाको छ वर्षअघि निधन भएको थियो ।

माओवादी विद्रोह फैलिएको र नेपाली सेना परिचालन गर्न तत्कालीन दरबारले असहयोग गरेको परिपेक्ष्यमा माओवादीलाई दबाउन विसं २०५८ मा बलको स्थापना गरिएको थियो ।

बलका अधिकाँश नेतृत्वविरुद्ध भ्रष्टाचारको आरोप लागेपछि यो सङ्गठनको प्रतिष्ठामा धक्का लागेको छ । भूकम्पपछिको उद्धार तथा राहत, बाढी, पहिरो, दुर्घटनालगायतमा उल्लेखनीय भूमिका खेलेर बलले आफ्नो छवि सुधार्न प्रयास गरिरहेको छ ।

नेपाल राज्यको कुनै भागमा भएका वा हुन सक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्नु, आतकङ्कारी गतिविधि र दङ्गा नियन्त्रण गर्नु बलको कार्यक्षेत्र भएको सशस्त्र प्रहरी ऐन २०५८ मा उल्लेख छ ।

त्यसैगरी, राज्यको सीमा सुरक्षा, बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्ने, सार्वजनिक महत्वका भवन, संरचनाको सुरक्षा, विशिष्ट व्यक्तिलाई सुरक्षा प्रदान गर्ने, भन्सार, राजस्व र औद्योगिक सुरक्षा प्रदान गर्ने कामसमेत बलको कार्यक्षेत्रभित्र पर्छ ।

पक्राउ पुर्जीका सम्बन्धमा एक वर्षअघि नेपाल प्रहरी र बलबीच सम्बन्ध चिसिएको थियो । पक्राउ परेका व्यक्तिलाई पक्राउ पुर्जी आफूले पनि दिन पाउनुपर्ने बलको मागमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहमति दिएपछि दुई सङ्गठनबीच विवाद देखिएको थियो ।

बलका तत्कालीन महानिरीक्षक वन्त भ्रष्टचार मुद्दामा निलम्बित भएपछि महानिरीक्षक बन्नुभएका दुर्जकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको आपसी सम्बन्धमा अहिले सो विषय थामथुम पारिएको छ ।

तर भोलिका दिनमा फेरि सो विषय बल्झने प्रशस्त सङ्केत देखिएकाले यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा सुरक्षाविज्ञले जोड दिएका छन् ।

स्थापना दिवसमा विविध कार्यक्रम

बलले स्थापना दिवसको अवसरमा आज प्रधान कार्यालय हलचोकमा प्रभातकालीन कार्यक्रमको आयोजना ग¥यो । साँझसमेत स्थापना दिवससम्बन्धी बेग्लै कार्यक्रम हुँदैछ ।

बिहानको कार्यक्रममा देशभरबाट उत्कृष्ट भएका प्रहरी कर्मचारी, उत्कृष्ट गण, वर्ष जवान, खेलकुद प्रतियोगिता, चाँदमारी प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।

गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट स्थान ल्याउने बलका बहालवाला र पूर्व कर्मचारीका सन्तति र अमर सशस्त्र प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

सो अवसरमा महानिरीक्षक राईले सङ्गठनले दिएको जिम्मेवारी इमान्दारीतापूर्वक पूरा गर्न सबै प्रहरी अधिकृत र जवानलाई निर्देशन दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १०:०० मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...