

प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी अप्रिल २८ तारिखका दिन निर्वाचन गर्ने गरी शुक्रबार मिति घोषणा गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।
क्याटलोनियासम्बन्धी विवाद र त्यसबाट सङ्कट उत्पन्न भइरहेकै बेला संसदले बजेट प्रस्ताव अस्वीकृत गरेपछि उनले निर्वाचन घोषणा गर्नुपरेको हो ।
स्पेनमा गत चार वर्षको अवधिमा अहिले तेस्रो पटक निर्वाचनको मिति घोषणा भएको समाचारमा जनाइएको छ ।
“दुई विकल्पमध्ये बजेट विना केही नगरी बस्ने वा स्पेनी नागरिकहरूलाई नै फैसलाको जिम्मा दिनेमध्ये मैले दोस्रो रोजेँ,” प्रधानमन्त्री सान्चेजले संवाददाताहरूसँग भने ।
नयाँ प्रधानमन्त्रीका रूपमा ४६ वर्षीय सान्चेजले आठ महिना अगाडि मात्रै जिम्मेवारी सम्हालेका थिए । तत्कालीन प्रधानमन्त्रीलाई अविश्वासको मतको प्रस्ताव राखेर पराजित गरी उनी नाटकीय तरिकाले प्रधानमन्त्री बनेका थिए ।
संसदमा क्याटलोनिया पृथकतावादीहरूको तर्फबाट १७ सांसद रहेका छन् । उनीहरूले प्रधानमन्त्रीको बजेट प्रस्तावको विपक्षमा मत जाहेर गरेपछि उनको बजेट प्रस्ताव अस्वीकृत भएको हो । उनीहरूले यसअघि प्रधानमन्त्रीको निर्वाचनका बेलामा सान्चेजलाई नै मतदान गरेका थिए ।
त्यस बाहेक सोसलिष्ट पार्टी, तत्कालीन विपक्षी पार्टी पुडेमोस र बास्क्युका क्षेत्रीय पार्टीहरूले पनि सान्चेजलाई मतदान गरेका थिए ।
स्पेनका समाजवादी नेता सान्चेज तत्कालीन प्रधानमन्त्री मारियानो राहोएलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका हुन । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राहोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री भएको समाचारमा जनाइएको छ ।