

४ फागुन, बेइजिङ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले एशियाली देशहरूको भ्रमण गर्ने क्रममा चीनको पनि भ्रमण गर्ने भएका छन् ।
उनले यही फेब्रुअरी २१ देखि २२ तारिखसम्म चीनको भ्रमण गर्ने तय भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
साउदी अरबका उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीसमेत रहनुभएका सलमान चीनका उपप्रधानमन्त्री हान झेङको निमन्त्रणामा चीन आउन लागेका हुन् ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले भ्रमणका क्रममा युवराज सलमानले चिनियाँ उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।
उनले यसअघि पाकिस्तानको दुईदिने भ्रमण यही फेब्रुअरी १६ र १७ तारिखमा गर्ने कार्यक्रम तय भएको छ ।
त्यसपछि यही फेब्रुअरी १८ देखि १९ सम्म युवराज सलमानले इण्डोनेसियाको भ्रमण गर्ने जनाइएको छ । इन्डोनेसिया आउनुभन्दा अगाडि उहाँले मलेसियाको पनि भ्रमण गर्नेछन् भने त्यसपछि उनी भारत आउने छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको उनको दुईदिने भारत भ्रमण यही फेब्रुअरी १९ देखि शुरु हुने अधिकारीले जनाएका छन् । भारतपछि उनी चीन आउने भएका हुुन् ।
साउदी युवराजको आसन्न भ्रमणको तयारीका लागि सम्बन्धित देशहरूले सुरक्षा व्यवस्थाको तयारीलाई तीव्र पारेका छन् भने साउदी अरबबाट पनि सुरक्षा टोली खटिएका छन् ।
त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीको टोली पनि सम्कन्धित देशहरूमा गइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
उनको सबै भ्रमण आपसी सम्बन्ध, दुई पक्षीय हित र सहयोग आदानप्रदानका विषयमा केन्द्रित हुने समाचारमा जनाइएको छ ।
युवराज सलमान नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मन्त्री, उच्च सरकारी अधिकारी, उच्चस्तरीय व्यवसायीलगायत सहभागी हुने भएका छन् ।