
३ चैत, काठमाडौं । सिन्धुली, पाँचथर, तेह्रथुम, ईलाम, कपिलवस्तु र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ८३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिन्धुली, दुधौली नगरपालिका–५ पोखरे बस्ने शान्तीमाया खवतरीको २ तले घरमा शनिबार राति आगलागी हुँदा घर जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल समेत नष्ट भएको छ ।
उक्त आगो निभाउन दमकलमा लिफ्ट मागी आएका सोही नगरपालिका सिम्राही बस्ने ४७ वर्षीय रेवती अधिकारी सोही ठाउँस्थित सुधार भन्ने ठाउँमा खसेर गम्भीर घाइते भएकाले उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।
पाँचथर, हिलिहाङ गाउँपालिका–३ रमिते भिरको जंगलमा शनिबार दिउसो आगलागी भई बस्तीमा फैलिएर ५० वर्षीय बेदमायाँ पौडेल समेत ६ जनाको ६ वटा कच्ची घर र घरभित्र रहेका अन्य धनमाल जलेर करिब ४१ लाख बराबरको धनमाल नष्ट भएको छ ।
तेह्रथुम, लालिगुँरास नगरपालिका–६ स्थित सल्लेरी सामुदायिक बनमा शनिबार दिउसो आगलागी हुँदा बन नजिकै बस्ने दुर्गाबहादुर कार्की समेत २ जनाको कच्ची घर सहित घरमा रहेको नगद रुपैयाँ ३ लाख २० हजार तथा अन्य धनमाल जलेर करिब १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ईलाम, फाकफोकथुम गाउँपालिका९३ रातोमाटा बस्ने नरबहादुर लिम्बुको घरमा शनिबार राति आगलागी हुँदा घर जलेर करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको धनमल नष्ट भएको छ ।
कपिलवस्तु, सुद्धोधन गाउँपालिका९१ प्रगतिनगर बस्ने भरत थारुको कच्ची घरमा शनिबार दिउसो आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाही, धनकौल गाउँपालिका९५ हरकठवागोठ बस्ने बिनोद रायले उखुको पात जलाउने क्रममा आगो फैलिएर सोही ठाउँ बस्ने राजिन्न राय समेत ४ जनाको ९ विगाह ५ कट्ठाको करिब १८ लाख ५० हजार रुपैयाँ बराबरको उखु जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७५ चैत ३ आइतवार १३:०८ मा प्रकाशित





























