११ चैत, काठमाडौ । नेपाल सरकारले विप्लव नेतृत्वको माओवादी घटकलाई फकाउने, तर्साउने र गलाउने रणनीति अख्तीयार गर्ने भएको छ । एकातिर उच्चस्तरीय वार्ता समितिलाई पनि सक्रिय राखीरहने अर्कोतिर कडाइ पनि पर्ने गरी उक्त समूहलाई शान्ति प्रक्रियामा ल्याएरै छाड्ने सरकारका उच्च सुत्रहरुले दाबी गरेका छन् ।
सरकारले गठन गरेको उच्चस्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डे अहिले पनि नेत्र विक्रम चन्दसँग सम्पर्कमा रहि रहेको बुझिएको छ । पाण्डेले विषयको गम्भीर्यता अनुसार विप्लव सँग संवाद गरीरहेको गृह मन्त्रालय श्रोतले बताएको छ । वार्ता समितिले पनि विप्लव सँगको सम्पर्क बारे पुष्टि गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि विप्लव लाई फकाउने, तर्साउने र गलाउने सबै रणनीति अख्तीयार गर्न तयार रहेको बुझिन्छ । आइतबार प्रतिनिधिसभाको हिउदे अधिबेशनको समापनमा संवोधन गर्दै प्रधानमन्त्री ओलीले लुकी बसेर क्रान्तीको सपना नदेख्न चेतावनी दिइरहँदा पाण्डे भने विप्लवसँग टेलीफोन संम्वादमा रहेको बुझिएको छ ।
गृह मन्त्रालयमा पनि एकजना सहसचिवको नेतृत्वमा विप्लव समुहका गतिविधि नियाल्न ‘वाच टिम’ समेत निर्माण गर्ने गृहकार्य भइरहेको उच्च श्रोतले जनाएको छ ।
गृहमन्त्री राम बहादुर थापा र वार्ता संयोजक पाण्डे दुबै जनाले आ–आफ्नो तहबाट विप्लवलाई मुल धारमा ल्याउने प्रयास गरीराखेका छन् । अहिलेको वातावरण कायम रहे साउनभित्रै विप्लवले हतियार विर्सजन गर्ने अवस्था बन्ने वार्ता टोलीका एक सदस्यले संसान्यूजलाई बताएका छन् ।
वि.सं.२०७५ चैत ११ सोमवार ०९:०७ मा प्रकाशित






























