
१३ चैत, काठमाडौं । यहि चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा विश्वका ४० देशका उच्च पदस्थसहित ६०० को सहभागीता हुने बताइएको छ । त्यस्तै उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
लगानी सम्मेलनको पुर्वसन्ध्यामा संचारमन्त्री गोकुल वास्कोटाको आतिथ्यतामा अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मलेनमा अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनका बारेमा जानकारी दिदैं ४० देशका ६ सय लगानीकर्ताले सम्मेलनमा भाग लिने जानकारी दिएका हुन् ।
उक्त सम्मेलनले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य हासिल गर्न सहयोग पु¥याउने बताउँदै सम्मेलनलाई उत्सबको रुपमा लिएको बताएका छन् ।
सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाहरु, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ताहरु लगायतको सहभागीता रहने बताइएको छ ।
‘नेपाल चिनाउने, नेपालबारे नजकिबाट बुझ्ने, परियोजनामा लगानी गर्दा कस्तो प्रतिफल प्राप्त गर्न सकिन्छ र प्रतिफल फर्काएर लिएर जानेदेखि कानुनी झमेलाहरु पर्दा समस्या समाधान गर्ने कानुनी बाटो के हो ? प्रशासनिक बाटो के हो ? तथा कतिपय आयोजनाहरु कार्यान्वयन गरिरहदा व्यवहारिक समस्याहरु हल गर्ने बाटो के के हुन् ? भनेर नजिकबाट चिन्ने चिनाउने अवसर पनि हो यो ।’ पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने ।
संविधान बनेपछि २०७३ मा गरिएको लगानी सम्मेलनलाई विस्तृत, अझै तयारी तथा त्यसकै जगमा उभिएर अझै धेरै विदेशी लगानी ल्याउने, त्यसको प्रतिफल लिँदै अझ बढी र अझ परिस्कृत ढंगले हेर्ने र लगानीका परियोजनाहरु बारे छलफल गरेर एउटा टुंगोमा पुग्नलाई यो सम्मेलनको आयोजना गरिएको पनि मन्त्री खतिवडाले बताए ।
पछिल्लो वर्षमा देखिएमा विकासका सम्भवनाहरु, त्यसमा निजी क्षेत्रका लगानीका थप सम्भावनाहरु र अवसरहरु उजागर भएको बताउँदै त्यसलाई शोकेसिङ गरेर राख्नुपर्ने बताउँदै त्यससँग सम्बन्धीत परियोजनाहरु ७७ वटा जति रहेको र केही तयारी अवस्थामा रहेका लगानीका समझदारीहरुलाई मसिमै उतारेर समझदारी गरेर कार्यान्वयनमा लैजाने तयारी सम्मेलनमा रहेको पनि उनले बताए ।
सरकारका निति कार्यक्रमहरु नीजी क्षेत्रलाई चिनाउन जरुरी रहेको बताउँदै मन्त्री खतिवडाले भने, ‘सरकार विकासका र समृद्धिको बाटोमा निजी क्षेत्रसँग कसरी सहकार्य गर्दै अगाडि बढ्न सक्छ भन्ने कुरा पनि जनाउन पनि आवस्यकता रहेको तथा त्यो गरिरहँदा सरकारले कस्तो कानुनी रेगुलेटरी तथा नियामक र कार्यान्वयन पक्षका कस्ता कस्ता प्रावधानहरु अघि बढाइहरको छ भन्ने नजिकबाट हामीलाई सुनाउनु पनि छ, र त्यसमा केही कमीकमजोरी छन् भने त्यसमा पृष्ठपोषण पनि लिनु छ त्यो हिसावले पनि लगानी सम्मेलनको आयोजना गरिएको हो ।’
स्वदेशी र विदेशी लगानीकर्ताहरुका बीचमा एउटा राम्रो नेटवर्किङ र उनीहरुका बीचमा कसरी परिपुरक भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सरकार लागि परेको बताउँदै मन्त्री खतिवडाले भने, ‘लगानीका आवस्यकता पूरा गर्नका लागि स्वदेशी निजी क्षेत्रले विदेशी निजी क्षेत्रलाई कसरी परिचालन गर्न सक्छ तथा त्यसमा सरकारको भूमिका के हुनुपर्ने भन्ने विषयमा अनुकुल वातावरण निर्माण, त्यसको नियामक व्यवस्थालाई सहज बनाइदिने, कार्यान्वयन पक्षमा अलि छिटो छरितो गरिदिने तथा त्यो सम्बन्धी कानुनहरुको निर्माण भइसकेको अवस्था भएको हुनाले यो सम्मेलनको अवसरबाट सरकार, स्वदेशी र विदेशी निजीक्षेत्रको विचमा नेटवर्किङ बनाउने सुनौलो अवसर पनि हो ।’
उक्त दुई दिने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन यातायात, सहरी पूर्वाधार र शिक्षा एवंम् स्वास्थ्य क्षेत्र सम्बन्धी साझेदारी क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजनाहरु प्रस्तुत गरिनेछ भने एकदर्जन जति समझदारी पत्र तथा सम्झौताहरुमा हस्ताक्षर हुने तयारी रहेको पनि अर्थमन्त्रीले बताए ।
त्यसैगरी सरकारले सम्मेलनलाई मध्येनजर गर्दै सार्वजनिक, निजी साझेदारी तथा लगानी ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐन पनि ल्याइसकेको अर्थमन्त्री खतिवडाले बताएका छन् । साथै औद्योगिक व्यवसाय ऐन तर्जुमा भइसकेको र आउदो संसदको अधिबेशनमा पास गराउने तयारीमा रहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
वि.सं.२०७५ चैत १३ बुधवार १३:२५ मा प्रकाशित






























