
बाढीपहिरो, आगलागी, हावाहुरी अथवा अन्य कुनै कारणबाट बिपत्तिमा परेकाहरुलाई तत्काल राहतका रुपमा हामी चाउचाउ र बिस्कुट बोकेर जाने गर्दछौँ । पीडितलाई तत्काल राहत त होला तर यसले नागरिकमा कुपोषण निम्याउने बताउँछिन्, डाक्टर अरुणा उप्रेती । सामाजिक सञ्जालमा उनले यहि विषयमा लेखेकी छिन् :
हुरी र बर्षाबाट पीडितलाई कती सम्म चाउचाउ दि रहने ?
पीडितहरुलाई बिस्कुट र चाउचाउको पोको दिइरहयो भने बिशेष गरी हुर्कने बालबालिकालाई कुपोषण गराउँछ। अहिलेको कठिन अवस्थामा व्यक्ति र बालबालिकाको दीर्घ रुपमा कुपोषण भयो भने कसरी यसबाट मुक्ति पाउने ?
अब बालबालिकाको शारीरिक र मानसिक स्वास्थको ख्याल राखेर यसरी बिस्कुट र चाउचाउ बाँडने कामलाई निरुसाहित गर्ने पर्छ। आगोको जोहो गरेर सजिलोसँग पकाउन सकिने खिचडी, जोगीभात उसिनेको आलु र वरिपरि हुने सक्ने तरकारीको प्रयोगलाई नै जोड दिन लगाउनु पर्छ।
प्रायः यस्तो अवस्थामा बाहिरबाट आउने “प्लम्पीनट जस्ता पोषणका गुलिया” प्याकेटहरुले हाम्रो बालबालिकाको स्वास्थमा नकारात्मक असर पार्छ। यस्तो कठिन परिस्थितीमा सुक्ष्म पोषण तत्वको अभाव हुन्छ भनेर अनेक प्याकेटमा “सुक्ष्म पोषण तत्व” मिलाएर वस्तु दिएर बालबालिकालाई ख्वाउनु भनेर कति संस्थाले भन्छन् होला। तर स्वास्थ तथा जनसख्या मन्त्रालयले एक चोटी हाम्रा वरिपरि पाइने र अहिले नेपालमा सजिलैसँग उपलब्ध हुने विभिन्न खाद्य पदार्थ प्रयोग गर्न सिकाएर, त्यस्ता वस्तुहरु लागि हुरी र बर्षा आहात भएको घरहरुलाई दिएर सुक्ष्म पोषण आदि तत्वबाट हुने कमीलाई न्युन गर्न सकिन्छ।
तिल, आलस, तोरी, टुसा उमारेका विभिन्न गेडागुडी आदि यस्ता उदाहरण हुन, जसले भोजनमा स्वाद दिन्छन् र यसको सुक्ष्म पोषण तत्व भिटामीन, क्याल्सियम प्रदान गर्छ। तर तिलमा भएको पौष्टिकताको कतै कदर हुँदैन। तिलमा क्याल्सियम, लौह, तत्व भिटामिन, रेसादार पदार्थ आदि पर्याप्त हुन्छ। त्यसैगरी लट्टेमा प्रोटिन, क्याल्सियम कार्बोहाइड्रेट आदि पर्याप्त पाइन्छ। त्यसैगरी बदाम र (तराइतिर मुँगफली) आदिमा पनि पर्याप्त मात्रामा सुक्ष्म पोषक तत्व पाइन्छ।
लट्टेको दानालाई पनि पाइन्छ। तर यस्तो राम्रो वस्तु नेपालमा हामीले प्रयोग गर्दैनौं। ‘नजिकको तीर्थ हेला’ भनेको यही हो। तर किन हो यस्ता सजिलो र सस्तोसँग पाइने वस्तुहरुको उपयोगमा ध्यान नदिई केवल बाहिरैबाट आउने प्याकेटलाई मात्र प्राथमिकता दिइने हो, बुझ्न गाहृो छ।
अहिले त स्वास्थकर्मी र रेडियो र पत्रिकामा कार्यरत संचारकर्मी, पत्रकार आदि सबैले हुरी र बर्षामा परेका बालबालिकालाई कुपोषणबाट बचाउन, आफ्नै वरिपरिको वस्तुहरुको प्रयोग गराउनको लागि आवाज उठाउनु पर्छ।
सुडानमा काम गर्दा, म सँगै काम गर्ने एक इथोपियन डाक्टरले भनेका थिए। ‘हाम्रो देशमा बच्चाहरुलाई सुक्ष्म पोषण तत्व र प्रोटिनको कमीबाट हुने समस्याको समाधान गर्ने विचार गरेर, विभिन्न गेडागुडीको टुसा उमारेर त्यसलाई सुकाएर र पिठो बनाएर, बालबालिकाको भोजनमा हालेर, सुप बनाएर ख्वाइन थालियो। यस्तो पिठोमा साधारण आटाको पिठो भन्दा बढाी सुक्ष्म पोषण तत्वहरु पनि पाइने भएकाले बच्चालाई प्रोटिनको सुक्ष्म पोषणको कमी पनि भएन ।”
नेपालमा पर्याप्त मात्रामा गेडागुडी पाइने हुनाले अहिलेको कठिन परिस्थितीको साथै सामान्य जीवनभर पनि यसरी टुसाउमारेको पिठो बनाउन सकिन्छ। यस्ता सस्तो र सहज तथ्यको विचार नगरेर हामी बाहिरबाट आउने पाउरोटी र रोटीमा भर पर्यौ भने यसले दीर्घकालिन रुपमा कुपोषण नै निम्ताउँछ ।
समुदायमा मानिसहरुलाई पनि र “अब तपाईहरुले बिस्कुट र चाउचाउ लिएर आउने संस्थाहरुलाई यस्ता वस्तु हामीलाई चाहिन्न। हाम्रा बालवालिकालाई “हामी यस्ता पत्रु खाना खान दिदैनौं भनेर भन्नुस् र फिर्ता गराइदिनुस्” भन्नका लागि प्रेरित गरौं।
असामान्य र अति कठिनाइमा दिइएको चाउचाउ र विस्कुट अबको परिस्थिति केही सामान्य हुँदै गएपछि “चाहिन्न”“चाँहदैन” भन्न सक्नु पर्छ नत्रभने आउँदो केही वर्षमा त हाम्रा केटाकेटी कुपोषित भएर शारीरिक र मानसिक रुपमा दुर्बल हुनेछन् तपाई र हामीलाई नै आफ्नै बाली प्रयोग गरेर, कुपोषण हटाउन सक्छौं।
योजना बनाउने योजनकार , संघ संस्था, पोषण्विद ,बालरोग विशेषज्ञले पक्कै पनिे हाम्रा वरिपरि भएका महत्वपूर्ण पोषणलाई ध्यान दिनेछन् भने विश्वास छ। अब बिस्कुट र पत्रु खाना राहतमा नदिनुस् भनेर आवाज उठाउनै पर्छ उठाउनै पर्छ, ताकि हुरी र बर्षाको मार पछि बालबालिका कुपोषणको मारमा नपरुन्।
वि.सं.२०७५ चैत २६ मंगलवार ०९:४२ मा प्रकाशित


























