२४ कात्तिक, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरिने बताउनुभएको छ ।
धादिङको ढोलास्थित मण्डली आधारभूत विद्यालय भवनको मंगलबार उद्घाटन गर्दै उहाँले संविधान संशोधनका विषयमा प्रमुख विपक्षी नेकपा (एमाले) लगायतका सबै दलसँग छलफल गरिसकिएको जानकारी गराउनु भयो । उपप्रधानमन्त्री निधिले भन्नुभयो, “तीन तहको निर्वाचन, संविधानको कार्यान्वयनका लागि संविधान संशोधन अनिवार्य छ ।”
उपप्रधानमन्त्री निधिले २०७४ माघ ७ गतेभित्र निर्बाचन नभए संबिधान धरापमा पर्ने उल्लेख गर्नुभयो । संविधान सम्बोधन प्रस्तावमा सीमाङ्कन, राष्ट्रिय सभाको गठन प्रक्रिया, भाषा आयोग र नागरिकताको विषय समेटिने उहाँले उल्लेख गर्नु भयो । “नेपालको अन्तरिम संविधानमा उल्लेख भए अनुसार नै नागरिकताको विषयमा संविधान संशोधन हुनेछ” उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री निधिले राष्ट्रिय पुननिर्माण प्राधिकरणको कामप्रति सरकार सन्तुष्ट नभएको बताउदै सरकारले भूकम्पपीडितको छुट नामावली, पीडितले पाउनुपर्ने रु तीन लाख तत्काल वितरण र पुनःनिर्माण कार्य तीव्र रुपमा अगाडि बढाउन निर्देशन दिएको बताउनु भयो ।

