back
CTIZAN AD

आज चैतेदशैँ बिहानैदेखि देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड

वि.सं.२०७५ चैत ३० शनिवार

798 

shares

३० चैत, काठमाडौ । चैते दशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

यस वर्ष चैत ३० गते शनिबार चैत्र शुक्ल अष्टमी र नवमी अर्थात् चैतेदशैँ एवं रामनवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । अष्टमीलाई पूर्वान्ह् र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको उनले बताए ।

केही राम मन्दिरमा भने वैशाख १ गते आइतबार नव वर्षका दिन रामनवमी पर्व मनाइने जनाइएको छ । शनिबार अपराह्न र आइतबार पूर्वाह्नमा नवमी तिथि रहेको समितिले जनाएको छ । अपराह्नमा तिथि परेका दिन रामनवमी मनाउनेले आज र पूर्वाह्नका दिन नवमी तिथि मनाउनेले आइतबार पर्व मनाउन लागेका हुन् ।

राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामस्थित राममन्दिरलगायत देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । रामनवमी पर्वका अवसरमा बिहान ५ बजेदेखि नै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन एवं पुनःनिर्माण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा आज लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गर्नुभएको थियो । उहाँले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएको रामायणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । उहाँको जन्म भएको सम्झनाका आधारमा रामनवमी पर्व मनाउन थालिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

वि.सं.२०७५ चैत ३० शनिवार ०९:०२ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...