४ बैशाख, बिर्तामोड । बिर्तामोडमा एक बालिकामाथि यौन दुव्र्यवहार भएको छ । सोमबार दिउँसो पसलमा अजिना र हाजमोला किन्न गएकी बालिकामाथि पसलवालाले चुइगमको लोभ देखाएर यौन दुव्र्यवहार गरेका हुन् ।
बालिकाले आमासँग पसलको अंकलले चुईगम दिएर भित्र लगेर संवेदनशील अंग चलाएको भनेर सुनाएकी थिइन् ।
‘छोरीले धेरै दुख्न थाल्यो भन्दै पाउडर लगाइदिन भनिन् । पाउडर लगाउँदा गुप्तांग सुन्निएको देखे,’ बालिकाकी आमाले भनिन्, ‘ छोरीलाई सोधेपछि अंकलले काखमा राखेर चलाएका कारण दुखिरहेको भनिन् ।’ घटना थाहा पाउना साथ पसल पुगेको पनि उनले बताइन् ।
पसल संचालक प्रकाश तोलाङले सुरुमा घटना अस्वीकार गरेका थिए । बालिकाले कसरी ढाट्छन भनेपछि उनले उपचार खर्च दिने र घटना बाहिर नलैजान भन्दै धम्की समेत दिएको पीडितका परिवारको गुनासो छ ।
त्यस घटनामा प्रहरीले पनि वास्ता नगरेको भन्दै पीडित बालिकालाई साँझै मनमोहन अस्पताल लगेका थिए । बालिकाको उपचारमा संलग्न डाक्टरले उनको यौनांगमा चोट लागेको र शरीरमा निलडाम रहेको बताएका छन् । उनको भद्रपुर मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
प्रहरीले २४ घण्टापछि मात्र स्वास्थ्य परीक्षण गरेको छ । सोमबार बेलुका नै घटनाबारे जानकारी पाएको प्रहरीले मंगलबार दिउसो मात्रै मेची अस्पताल पुगेर बालिकाको स्वास्थ्य परीक्षण गरेको परिवारले बताएका छन् । बिर्तामोडका डीएसपी सुवास खड्काले मिल्न दवाव दिदैं पीडित र पीडकबीच छलफलको प्रयास गरेको परिवारको भनाई छ ।
उता डिसपी खड्काले राति भएकोले जाहेरी नलिएको र जाहेरी नभइकन पीडकलाई पक्राउ गर्न उचित नहुने बताएका छन् । उनले भने, ‘तर घटना संवेदनशील लागेर घटनाको जानकारी आएको केही बेरमै हामीले पक्राउ गर्यौ ।’ उनले जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको पनि बताएका छन् ।
सोहि घटनालाई लिएर बिर्तामोडकी उपमयर पवित्रा महतारा प्रसाईले तत्काल जाहेरी लिनुपर्ने र स्वास्थ्य परीक्षण गराउनुपर्नेमा प्रहरीले लापरबाही गरेको बताएकी छन् ।
घटनामा संलग्न प्रकाश प्रहरी हिरासतमा छन् । बुधबारको अन्न्पूर्णपोष्ट दैनिकमा बिर्तामोडबाट रविन भट्टराईले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख ४ बुधवार ०७:५१ मा प्रकाशित