१२ वैशाख, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवा तथा विद्यार्थी संगठनहरुले नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर तिर्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।
नेकपाका युवा संगठनहरु वाइसीएल र युवा संघ नेपाल तथा विद्यार्थी संगठनहरु अनेरास्ववियू र अखिल क्रान्तिकारीका अध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषणा गर्ने जनाएका हुन् ।
जारी विज्ञप्तिमा एनसेलले राज्यलाई बुझाउनु पर्ने करका सम्बन्धमा आनाकानी गरेको भन्दै सत्तारुण दलकै भातृ संगठनहरुले खेद व्यक्त गरेका छन् । सर्वोच्च अदालतको फैसलालाई समेत अवज्ञा गर्दै एनसेलले रवैया प्रवृत्ति देखाएको भन्दै खेद व्यक्त गरिएको हो । विज्ञप्तिमा भनिएको छ “कर तिर्न नपरोस, भन्ने मनसायले उसले गर्ने कुुनै पनि चालबाजी वा बाहनाबाजी हामीलाई किमार्थ स्वीकार्य छैन ।’
उनीहरुले एनसेलबाट राज्यले उठाउनु पर्ने कर जुनसुकै कानुनी प्रक्रिया अपनाएर भएपनि असुलीउपर गर्न नेपाल सरकार तथा सम्बद्ध निकायसमक्ष अनुरोध गरेका छन् । विज्ञप्तिमा एनसेललाई कर छुट दिने वा अन्य कुने प्रकारको विशेष सहुलियत दिने जस्ता राष्ट्रघाती निर्णय नगर्न पनि सम्बद्ध निकालाई अनुरोध गरिएको छ । साथै एनसेलले राज्यलाई कर नर्तिदासम्म एनसेलको सिम उपभोग नर्गन नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १२:३५ मा प्रकाशित





























