back
CTIZAN AD

विवशता

वि.सं.२०७६ वैशाख १४ शनिवार

888 

shares

एउटै कोठाका अरु साथीहरु मस्तले निदाएका छन् तर सन्ते घरको सम्झनाले गर्दा निदाउन सकेको छैन । करिब तीन महिना हुन लागेको छ, ऊ कतार आएको । तातो रेतमा सकिनसकी गोरुजस्तै जोतिएर काम गर्नुपर्ने बाध्यता छ । एकमनले भन्छ यसरी जोतिएर काम गर्नुभन्दा आफ्नै देशमा कुली ज्यामीको काम गरे हुन्थ्यो जस्तो लाग्छ तर साहुको ऋण झल्झली सम्झिन्छ । कतारमा आउँदा उसले आफ्ना वृद्ध आमा, स्वास्नी र पाँच वर्षीय छोरीलाई घरमा छोडेर सुखद जीवनको अभिलाषा साँचेर कतारमा आएको थियो । काम गरेर पैसा कमाउने घर बनाउने, स्वास्नीलाई कानको रिङ्ग हातमा औंठी र तिलहरी बनाउने ठुलो रहर पालेको थियो तर कतारको तातो रेतमा ज्यान बाजीमा राखेर गर्नुपर्ने कठिन काम सम्झिन्छ । अनि मनले ठान्छ, सोंचे जस्तो पैसा कमाउन पनि सजिलो कहाँ छ र ?

बिस्तारै ओछ्यानबाट उठ्छ, घरमा फोन गर्छ । स्वास्नीले मोबाईल उठाउँछे । सन्चो–बिसन्चो सोध्छ । केहीबेर दुवै बीच मायापिरतीको कुरा हुन्छ अनि स्वास्नीले भन्छे, “आज जमादार बा घरमा ऋणको ब्याज लिन आउनु भएको थियो । तीन महिनाको नदिए ठिक हुन्न है”, चर्किंदै भन्नु भो । “आमाले भोलि छोरालाई फोन गरेर पैसा पठाई दिनु भन्छु । छोराले पैसा पठाए पछि म आफै तिर्न आउँला” भनेर हात जोडेर बिन्ती गर्दै सम्झाइवरि पठाई दिनु भयो । स्वास्नीको कुरा सुनेर एकछिन् चुप लाग्छ । छोरीको बिषयमा सोध्छ, उ संग कुरागर्न ईच्छा व्यक्त गर्छ । मोबाईलमा छोरीको आवाज सुनिन्छ, “बाबा” । आँसु पुछ्दै सन्तेले भन्छ, हजुर ! तिमी कस्तो छौ छोरी ? छोरीले भन्छे, “बाबा, म राम्रै छु । हजुर छिट्टै घर आउनु होला है । हजुरको धेरै सम्झना आई रहन्छ । अनि आउँदा, मलाई राम्रो राम्रो नाना र पापा लिएर आउनु होला है ।” आँसु पुछ्दै सन्तेले भन्छ, हुन्छ छोरी ।

मोबाईलमा ब्यालेन्स नभएर होला, एकाएक कुराकानी बन्द हुन्छ ।

सन्ते भक्कानिएर रुन थाल्छ । रोएको सुनेर संगैको साथी राम निन्द्राबाट बिउँझेर सोध्छ, “किन रोएको सन्ते ? के भो तिमीलाई ?” सन्तेले घरको सम्झना र कतार आउँदा जमदारसंग लिएको ऋणका सबै कुरा खुलस्त बताउँछ । रामेले सान्त्वना दिदै भन्छ, “म पनि साहुसँग ऋण लिएर आएको हो । अनेक मिठामिठा सपना पालेर यहाँ आए । यहाँ आउँदा थाहा भो । पैसा कमाउन कम्ता गाह्रो छ । मरुभूमिको चर्को तातोमा खलखली पसिना बगाएर भोक प्यास नभनिकन ज्यान हत्केलामा राखेर कठिन काम गर्नुपर्ने । मान्छेले सम्झिन्छ कतारमा पैसा फल्छ । हामीले गरेको कठिन दुःख र पीडा कसले बुझ्छ ? यसरी ज्यानले सकिनसकी काम गरेको पीडा र घर परिवार साथीसंगीको सम्झना आउँदा आजै घर फर्किउ कि जस्तो लाग्छ तर के गर्ने ? साहुको ऋण सम्झिन्छु, मन बुझाएर बस्छु । न’रो सन्ते गरिबको जुनी यस्तै हो । पसिनाको दहमा भिजेर सुखको सपना देख्नु पर्ने । कसले बुझ्छ हामीले वैदेशिक रोजगारको क्रममा भोगेको दुःख पीडा र समस्या अनि हाम्रो गरिबी र गरिबीले निम्ताएको बाध्यता र विवसता ।”

प्रवासी हुनुको पीडामा दुखेर दुबै आपसमा अंगालो मारेर रुन थाल्छन ।

वि.सं.२०७६ वैशाख १४ शनिवार ०८:५७ मा प्रकाशित

बलेको मिठाई

बलेको मिठाई

गएको राति पनि म झसङ्ग ब्युँझिएँ । सपनामा बले आएको...

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग...