१५ वैशाख, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भर्ना अभियान–२०७६ अन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका दुई बालबालिकाको आज अभिभावकत्व ग्रहण गरी सामुदायिक विद्यालयमा भर्ना गराइदिएका छन् । मन्त्री बाँस्कोटाले पाँचखाल नगरपालिका–१ का आमाबाबु नभएका प्र्रीतम तामाङ र पाँचखाल –५ का बाबु नभएका निस्मा सुनारको अभिभाकत्व ग्रहण गरी कक्षा १ मा भर्ना गराइदिए। कार्यव्यस्तताका कारण टुहुरा बालबालिका भर्ना गर्न आउन नसकेका मन्त्री बाँस्कोटाको अभिभावकत्वका लागि सम्बन्धित वडाका अध्यक्षले सहयोग गरेका थिए ।
वडा १ का का वडाध्यक्ष अष्ट तामाङले भने, “मन्त्रीज्यू अनुपस्थित रहनुहुँदा पनि आज हामीले बालबालिकाका लागि उहाँको अभिभावकत्वलाई सहयोग गरेका हौँ ।” तामाङलाई पाँचखाल –१ स्थित ज्ञानेश्वरी माध्यमिक विद्यालय र सुनारलाई पाँचखाल –५ स्थित जनउद्धार प्राथमिक विद्यालयमा कक्षा १२ सम्मका लागि मन्त्री बाँस्कोटाले अभिभावकत्व ग्रहण गरी भर्ना गरिएको हो । मन्त्री बाँस्कोटाले गत साल पाँचखाल–१२ बालुवाका सुजन दनुवारको कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका थिए । दनुवार कक्षा १ को परीक्षामा दोस्रो भएका छन् ।
वि.सं.२०७६ वैशाख १५ आइतवार २०:०३ मा प्रकाशित





























