
१६ बैशाख, काठमाडौं । शनिबार र आइतबार धरानका एक नवविवाहित जोडी एकाएक अनलाईन मिडिया र सामाजिक संजालमा भाइरल भयो । कारण थियो दलित समुदायकी बेहुली र गैरदलित समुदायबीच मागी विवाह । बेहुला हुन्, हाल धरान उपमहानगरपालिका १३ का नविन राई । बेहुली धरान १५ की शुष्मा कालिकोटे –विश्वकर्मा) पुरातन नेपाली समाज र सोचको भाषामा भन्ने हो भने बेहुला कथित पानी चल्ने र बेहुली कथित पानी नचल्ने जात ।
यी दुई जातिबीच बिहेवारीलाई अझ पनि नेपाली समाजले पचाउन सकेको छैन । तर शुष्मा र नविनले आधा दशक लामा चिनजान र प्रेमलदाई सहज रुपमा विवाहमा परिणत गरे । उनीहरुको निर्णयलाई दुवैका परिवारले सहर्ष स्वीकार पनि गरे ।
प्रेम विवाह गरेका नवीनको परिवारले शुक्रबार साँझ सुष्माको माइती घरमा पुगेर रित अनुसार ‘चोरको सोर’ (भगाएर बिहे गरेपछि रीत बुझाउने चलन) बुझाएको थियो ।
यी दुवैको विवाहलाई सहज बनाउनका लागि नविनका बुवा मदन राईको विचारले मुख्य भूमिका खेलेको छ । पंचायतकालमा नै बामपन्थी राजनीतिमा थिए ।
त्यस्तै नविनका ठूला दाइ भिम ज्वाला राई पनि पत्रकारिता सँगै मजदूर राजनीतिमा सक्रिय छन् । ज्वालाले भने, ‘सामाजिक रुपान्तरणको कुरा भाषण गरेर मात्र हुँदैन । व्यवहारमा उर्तानुपर्छ भन्ने हामी कान्छा भाइ र बुहारीको निर्णयबाट असाध्यै खुसी छौं ।’ सोमबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ वैशाख १६ सोमवार ०७:५५ मा प्रकाशित