१९ बैशाख, काठमाडौं । नेपालमा बर्ड फ्लुका कारण पहिलोपटक एक युवाको मृत्यु भएको छ ।
इन्फ्लूएन्जा ए (एच५एन१) का कारण काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा ती युवाको चैत १५ गते मृत्यु भएको बताइएको थियो ।
मन्त्रालयका अनुसार चैत १० गते ती युवा ज्वरो र खोकी लागेको अवस्थामा अस्पतालमा भर्ना भएका थिए । उनलाई इन्फ्लुएन्जाको संक्रमण भएको आशंका गर्दै अस्पतालले घाटीको रयाल जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । तर, त्यहाँ पत्ता लाग्न नसकेपछि उक्त नमुना जाँचका लागि जापान पठाइएको थियो ।
विश्व स्वास्थ्य संगठनको कोलाबरेटिङ सेन्टर फर इन्फ्लुयूएन्जा जापानमा उक्त नमुनाको परीक्षण गर्दा ती युवालाई बर्डफ्लु भएको पृष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं.२०७६ वैशाख १९ बिहीवार १२:३६ मा प्रकाशित






























