back
CTIZAN AD

मेरी आमा चाहिँ आउँदिनन् आन्टी ?

वि.सं.२०७६ वैशाख २५ बुधवार

849 

shares

यी रोए पनि दुःख लाग्छ, यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन, यिनले बिर्से नि आमा भनी ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले गौरी शोककाव्यमा लेखेका यी हरफहरु चीनमा हुर्किरहेका अबोध बालबालिकाहरुमा ठ्याक्कै मेल खान्छ । तस्बिरमा देखाइएका अबोध चिनियाँ बालबालिकाहरु हाँसे भने उनका अभिभावकले ठम्याउनेछन्—यिनले आफ्नी आमालाई बिर्सिए । कहिलेकाहीँ उनीहरु रोएमा फेरि अभिभावकले सम्झन्छन् — यिनले आफ्नी आमालाई सम्झिए ।

आफ्नी आमाको बाटो विशाल हिमालले छेकेको छ भन्ने कुरा ती अबोध बालबालिकालाई थाहा छैन । आमाले छोडेर गएको डेढ वर्षभन्दा बढी भइसकेकाले उनीहरुको स्मृतिमा आमाको छाया धुमिल हुन थालेको हुनसक्छ ।

चितवनकी मेरिना गुरुङ (परवर्तित नाम) सात वर्षपहिले चीनको भित्री मंगोलिया प्रान्तका लिउसँग बिहे गरेर चीन आएकी थिइन् । उनले आफ्नो लिउबाट माया र चिनियाँ परिवारबाट राम्रै सम्मान पनि पाएकी थिइन् । उनको कोखबाट जन्मिएको छोरा अहिले साढे पाँच वर्षको भइसकेको छ । बिहे गरेर चीनमा आएपछि पनि उनी बीचमा दुईपटक नेपाल गइन् । नेपालबाट अरु केटीहरुलाई चीनमा बिहे गरेर आउन प्रेरित गरिन् । डेढ वर्ष अगाडि उनी नेपाल गएकी चीन फर्किनन् । ‘म त चीन फर्किने भनेर नेपाल आएकी थिएँ तर परिवन्दले गर्दा फर्कन सकिनँ’ मेरिनाले भनिन् ‘साथीसँगै आएकी थिएँ । साथीले बिहे गरेर सँगै चीन फर्कने भनेकी थिई । उसको बिहे दर्ता नै भएन । त्यही झमेलामा लाग्दालाग्दै मेरो भिसा सकिइहाल्यो ।’

मेरिनासँगै फर्केकी थिइन् नुवाकोटकी रिदम विक (परिवर्तित नाम) पनि । रिदम पनि चिनियाँ युवासँग बिहे गरेर आएकी थिइन् । उनकी छोरी अहिले चीनमा साढे चार वर्षकी भइन् । त्यसबीचमा रिदमको चिनियाँ श्रीमान्सँग केही असमझदारी उत्पन्न भयो । उनीसँग अर्का चिनियाँ युवा सम्पर्कमा आए । रिदमले आफ्नो श्रीमान्सँग सम्बन्ध छोडेरअर्का चिनियाँ युवासँग बिहे गर्नका नेपाल फर्कने बिचारले चिनियाँ साथीलाई समेत साथमा लिएर मेरिनासँग नेपाल गएकी थिइन् । उनले नेपाल गएर नयाँ चिनियाँ युवासँग बिहेदर्ता गरेर चीन फर्कने सोचाइ बनाएकी थिइन् । तर उनले पहिलो श्रीमान्सँग नेपालमा गरेको बिहे दर्ता कायमै थियो । कानुनी रुपमा उनले नेपालमा पहिलो चिनियाँ श्रीमानसँग सम्बन्ध विच्छेद गरेकै थिइनन् । फलतः उनको नयाँ चिनियाँ साथीसँग बिहे दर्ता हुन सकेन । चिनियाँसँग बिहे दर्ता नगरीकन उनी चीन फर्कन सक्ने थिइनन् । किनभने चीन फर्किएपछि उनलाई बसोबासका लागि कानुनी झन्झट थियो । पहिलेको श्रीमान्सँग उनी झगडा गरेर गएकी थिइन् । नयाँ श्रीमान्सँग बिहेदर्ता गर्नका लागि दलालको चक्करमा पर्दापर्दै उनको भिषा अवधि सकियो । उनीसँगै मेरिनाको पनि भिसा अवधि सकियो । मेरिना र रिदम दुवैजना बाछो छुटेका माउजस्ता भए । मेरिनाको छोरा र रिदमकी छोरी अहिले पनि चीनमा उनीहरुकी आमाको बाटो हेरिरहेका छन् ।

‘मेरी आमा चाहिँ आउँदिनन् आन्टी ?’ मेरिनाको छोराले भेट हुँदासोधेकोे कल्पना लामा बताउँछिन् । कल्पना पनि बिहे गरेर चीनमा बसिरहेकी नेपाली चेली हुन् । चीनमा उनको घर र मेरिनाको घर एउटै क्षेत्रमा पर्छ । कहिलेकाहीँ भेट हुँदा मेरिनाको छोराले मनै कटक्क हुने गरी आफ्नी आमाको बारेमा सोध्ने भएपछि कल्पना मेरिनाको घरको बाटै हिँड्न छोडेको बताउँछिन् । उनी भन्छिन् ‘त्यो बच्चाको अनुहार हेर्दा कस्तो माया लागेर आउँछ । मेरिना नेपालमा कसरी बसेकी होला कुन्नि ।’ चीनमा दूधे बच्चा छोडेर नेपाल फर्किनेमा परी (परिवर्तित नाम) थापा पनि हुन् । काठमाडौँ गोलढुङ्गाकी परी पनि सन् २०१३ मा चीनमा बिहे गरेर आएकी थिइन् । चार वर्षको छोरा छोडेर उनी पनि डेढ वर्षअगाडि नेपाल गएकी चीन फर्किइनन् ।

चीनको उत्तरपूर्वमा पर्ने हैलुङचाङ प्रान्तमा केही नेपाली चेलीले चिनियाँसँग बिहे गरेर आएका छन् । आठ÷नौ वर्षअगाडिदेखि यस प्रान्तमा नेपाली महिलाहरु चिनियाँसँग बिहे गरेर आउन थालेका हुन् । चीनमा पुरुषको तुलनामा महिलाको जनसंख्या थोरै छ । त्यसमाथि बिहे गर्नका लागि केटापक्षबाट ठूलो धनराशि खर्चहुने गर्दछ । बिहे गर्दा केटापक्षबाट केटी पक्षलाई धेरै पैसा दिनुपर्ने भएकाले चिनियाँ समाजमा बिबाह जटिल आर्थिक र सामाजिक समस्या बन्न थालेको छ । आर्थिक अवस्था कमजोर भएका चिनियाँ केटाले चिनियाँ केटीको सट्टा भियतनामी केटी बिबाह गर्ने चलन छ । पछिल्लो समय बंगलादेश, पाकिस्तान र नेपालसम्म पनि ‘बेहुली’ खोज्न चिनियाँहरु पुग्न थालेका छन् । एक लाख चिनियाँ युआन अर्थात् साढे १६ लाख रुपैयाँ खर्चगरेर चिनियाँ युवाले नेपाली केटी बिहे गरेर ल्याउने गरेका थिए । दलाललाई पैसा खुवाएर नेपाली महिलालाई चीनबाट हङकङ जान पाइन्छ र धेरै पैसा कमाउने अवसर हुन्छ भन्ने प्रलोभन देखाएर विभिन्न चोरबाटोबाट बिबाह दर्ता गरी चीनमा ल्याइने गरिन्थ्यो । चीनमा बिहे गरेर आएका केही नेपाली महिलाहरुले घरायसी हिंसा, भाषिक समस्या, सांस्कृतिक बेमेल भोग्न थाले । धेरै महिलाको चिनियाँ परिवारमा राम्रै भए पनि केहीले समस्या परेको भनी आफ्नो उद्दार गरिदिन नेपाली दूताबासलाई अनुरोध गरेपछि चारवर्षअगाडि आधा दर्जनको हाराहारीमा नेपाली महिलालाई चिनियाँ प्रशासनको सहयोगमा नेपाली दूताबासले उद्दार गरेर नेपाल पठायो । नेपाल फर्किएपछि ती महिलाहरुले आफूहरुलाई बिहे गराएर चीन पठाउने दलाल र म्यारिज ब्युरो विरुद्ध प्रहरीमा उजुरी दिए । त्यसपछि नेपाली प्रशासनले चिनियाँ केटासँग नेपाली केटीको बिबाह दर्तालाई रोकेको छ ।

अहिले चीनको हैलुङच्याङ, चिलिन, भित्री मंगोलिया, हपेइ, सान्तोङ प्रान्त लगायका ठाउँमा दुई दर्जनभन्दा बढी नेपाली महिलाहरु चिनियाँसँग बिहे गरेर बसेका छन् । बिहे गरेर बसेकामध्ये धेरैजसोका सन्तान पनि छन् । चिनियाँसँग बिबाहित नेपाली चेलीहरु समय समयमा नेपाल गएर केही महिना बसी चीन फर्केका पनि छन् ।

काखे बालबालिकालाई चीनमै छोडेर नेपाल गएर चीन नफर्केका कतिपय महिलाहरुले नेपालमै पुन बिबाह गरिसकेका छन् । बिहे गरेर नयाँ घरजम गरे पनि उनीहरुको छाती चीनमा रहेका आफ्ना छोराछोरीलाई सम्झेर रसाउने गर्छ । सामाजिक मर्यादाका कारणले उनीहरुले चीनमा पनि आफ्ना छोराछोरी छन् भन्ने कुरालाई गोप्य राखेका छन् । आफ्ना छोराछोरीलाई सम्झेर उनीहरु नेपालमा एकान्तमा भक्कानिन्छन् भने यता चीनमा नाबालकहरु आमाको बाटो हेरेर बसेका छन् । मेरिनाका चिनियाँ श्रीमान् लिउले मेरिनालाई फर्काउन धेरै प्रयास गरेको बताउँछन् । उनले मेरिनालाई फर्कन भनेर धेरै पैसा पनि पठाए । मेरिनाले आउँछु आउँछु भन्दै पैसा माग्दै गइन् । आफूसँग पैसा मात्र मागेर अलमल्याएको उनले धेरै पछि मात्र थाहा पाए । त्यसपछि उनले काठमाडौँस्थित चिनियाँ दूताबासमा पनि सम्पर्क गरे । तर, उनीसँग मेरिनालाई चीन फर्काउन बाध्य बनाउने कुनै कानुनी बाटो थिएन । लिउ भन्छन् ‘मेरिना फर्कने कुरामा म अझै आशावादी छु । उसको छोरासँगै म पनि बाटो हेरेर बसेको छु ।’

साभारः २०७६ बैशाख २५ गते बुधबारको नागरिक दैनिक ।

वि.सं.२०७६ वैशाख २५ बुधवार २०:२३ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...