२७ वैशाख । टीकापुर नगरपालिकाले कुपोषणको जोखिम कम गर्न गर्भवती महिलाका दम्पत्तीसँग छलफल शुरु गरेको छ । नगरपालिकाले गर्भजाँच गर्न आउने महिलाका श्रीमान्सँग अनिवार्य छलफल थालेको हो ।
एक हजार दिनका आमाको स्वास्थ्यमा ध्यान दिएमा बच्चा पनि कुपोषित हुनबाट बचाउन सकिने भएकाले गर्भवती महिलाका दम्पत्तीसँग छलफल थालेको नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक सुरक्षा उपशाखाका निरीक्षक सङ्गिता शाहले बताइन् ।
“गर्भमा बच्चा रहेदेखि नै खानपान र रहनसहनमा ध्यान दिनुपर्छ, बच्चा र आमाको स्वास्थ्य स्याहारका लागि श्रीमान्लाई जिम्मेवार बनाउन यस्तो कार्यक्रम ल्याएका हौं” उनले भनिन्, ‘‘समुदायमा गएर २०÷२० जोडी दम्पत्तीसँग गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, खानपान, परिवारको सहयोग, गर्भवतीका लागि आवश्यक वातावरणका बारेमा छलफल गर्छौ, कार्यक्रम निकै प्रभावकारी भएको छ ।” उक्त कार्यक्रमपछि धेरै पुरुष सचेत हुन थालेका छन् । टीकापुर–६ बेलुका श्याम नारायण चौधरीले आमा र बच्चाको स्याहारबारे धेरै ज्ञान मिलेको बताए ।
दम्पत्तीसँगको छलफलमा सहभागी टीकापुर–१ का उज्ज्वल सुनारले आमा र बच्चालाई शीघ्र कुपोषणबाट बचाउन परिवारको ठूलो भूमिका हुने बताए । यो क्षेत्रका धेरै पुरुष कामको सिलसिलामा भारतमा बस्छन् । श्रीमान् नभएका महिलाका सासू र ससुरासँग पनि छलफल गर्ने योजना नगरपालिकाले बनाएको निरीक्षक शाहले बताइन् ।
नगरपालिकाका अधिकांश वडाले शीघ्र कुपोषण व्यवस्थापनका लागि सुनौला हजार दिन कार्यक्रम समेत लागू गरेका छन् । कुपोषणको जोखिममा रहेका बालबालिकालाई तयारी खाना समेत खुवाइन्छ । नारायणपुर स्वास्थ्यचौकीका इञ्चार्ज हिमाल सारु मगरले अहिले १८ बालबालिकालाई शीघ्र कुपोषणको जोखिम देखिएकोले तयारी खाना दिइरहेको बताए ।
वि.सं.२०७६ वैशाख २७ शुक्रवार १८:१४ मा प्रकाशित