back
CTIZAN AD

कविता : ‘आमा’

वि.सं.२०७६ जेठ १८ शनिवार

3.1K 

shares

आमा, आज म जीवनमा पहिलोपटक
तिमी बिनाको त्यो आँगन टेक्दैछु
मुटु ढक्क फुलेको छ आमा, तिमी नभएको
त्यो आँगनको रुप कस्तो भयो होला ?
यतिबेला लागेको छ आमा,
त्यो मेरो जन्म घर नै होइन
तिमी बिनाको जन्मघरको माटो
म जन्मिएको माटो होइन
तिमी बिनाको त्यो माटोमा
साच्चै मेरो बालापन बितेका थिए र ?
त्यहि माटोमा म खेलेकी थिए र ?
अनि आमा,
त्यो माटोमा तिमीले मलाई औँलामा समातेर
ताते–ताते गरेर डो¥याएकी थियौ र ?
अ ह, आमा अहिले त मलाई तिमीबिना
यी सबै भ्रम जस्तै लाग्छन्
के यो जीवन नै भ्रम हो र ?
जन्मदेखि मृत्युबीचमा हुने यी सबै खेल
भ्रम नै हो त आमा !

थाहा छ मलाई तिमी यो धरतीमा छैनौ अब
तर, पनि म, घरका कोठा, चोटा र कुनामा
तिमी कतै छौ कि, भनेर खोजिरहेकी छु
धिमे प्रकाश छिर्ने त्यो अध्याँरो कोठामा
तिमी दमले आत्तिएर कुनै कुनामा
स्वाँ स्वाँ गर्दै पो बसेकी छौ कि ?
कतैबाट भन्छ्यौ कि, ‘मैया त आइस्’ !

यतिबेला लागेको छ आमा,
त्यो मेरो जन्म घर नै होइन
तिमी बिनाको जन्मघरको माटो
म जन्मिएको माटो होइन
तिमी बिनाको त्यो माटोमा
साच्चै मेरो बालापन बितेका थिए र ?
त्यहि माटोमा म खेलेकी थिए र ?

थाहा छ आमा तिमीले त्यो भन्ने छैनौ अब
दिनभरी हिँडेर माइती आएकी मलाई
थकाइ लाग्यो होला भनेर भाउजुलाई
चिल्लो लगाइदेउँ पनि भन्ने छैनौं
मेरा लागि घरमै नभएपनि गाउँबाट खोजेर
भएपनि पनि मिठो चोखो खानेकुरा
तिमी तयार गर्ने छैनौ अब
मेरा लागि आफ्नो छेउँमा बिछ्याउना
लगाइदिने छैनौ,
हो आमा,
रातभरी खोक्दै तिमीले
आफ्ना पीडा सुनाउने छैनौ अब
अनि, सोध्ने छैनौ मेरा पीडा पनि
तर, पनि आमा
लाग्छ तिमी कतै कुनामै बसेर
मलाई हेरिरहेकी छौं अनि भन्ने छौं,
मैया ‘मलाई एक डब्बी चुरोट ल्याइदेन्’

थाहा छ मलाई तिमी यो धरतीमा छैनौ अब
तर, पनि म, घरका कोठा, चोटा र कुनामा
तिमी कतै छौ कि, भनेर खोजिरहेकी छु
धिमे प्रकाश छिर्ने त्यो अध्याँरो कोठामा
तिमी दमले आत्तिएर कुनै कुनामा
स्वाँ स्वाँ गर्दै पो बसेकी छौ कि ?
कतैबाट भन्छ्यौ कि, ‘मैया त आइस्’ !

मेरो हातमा डब्बी बिजुली चुरोट छ आमा
बाटोमा आँउदा तिम्रा लागि किनेको स्याउँ,
अंगुर अनि केरा पनि मेरो साथमा छ
अनि तिम्रा लागि किनिदिएको
सूतीको धोती पनि मेरै साथमा छ आमा
तर, केवल तिमी छैनौ,
यो धरतीमै तिमी छैनौ आमा

तिमी शाहसी अनि संघर्षशील थियौं आमा
त्यसैले त २२ वर्षको उमेरमा बाबाले
छोडेर जाँदा पनि तिमीले हिम्मत हारिनौं
चार भाइ छोरा र म एक्ली छोरीको
लालन पालन गर्यौ
आज पनि सम्झना छ आमा मलाई,
तिमीले कसैको भारी बोकेरै पनि
हाम्रो मुखमा माड लगाइदिएकी थियौं अनि,
सहरबाट लामो बाटो नुन बोकेर पनि खुवाएकी थियौं
हातमा लगाएका चाँदीका रैँया बेचेर तिमीले
छोराछोरीको शिक्षाको लागि खर्च गरेकी थियौं
सोच्दैछु आमा जीवनको अन्तिम अवस्थामा पनि
तिमी पक्कै पनि संघर्ष गरेरै
यो संसारबाट बिदा भएकी थियौं

आमा, जन्मेपछि मर्नुपर्छ भन्ने
श्वासत सत्य बुझेकी छु
र, पनि मन मानिरहेको छैन मेरी आमा
तिमी बिनाको त्यो आँगन मैले कुन छातिले टेकु
कुन मनले तिमी बिनाको घरभित्र पसेर रात बिताउ
कुन आँटले खोलौ आमा,
तिमी बिनाको त्यो घरछिर्ने तगारो
अनि कुन आँटले के भनेर तिम्रो घरभित्र पसौं आमा ?
‘आमा’ भनेर सम्बोधन गर्दा तिमीले ‘हइ मैयाँ’ भन्ने छैनौ !
हो, आमा तिमी अब यो संसारमा छैनौं

 

वि.सं.२०७६ जेठ १८ शनिवार ०६:०१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

शम्भु गजुरेल, सिन्धुली १) सम्झाउन साह्रै गाह्रो तर सबैभन्दा त...

कविता : पाँच शब्द

कविता : पाँच शब्द

भुवन शिवाकोटी चौघरे,काठमाडौँ शून्य सबै शून्य छ तिमी विना सबै...

कविता : माया टाढाको जून

कविता : माया टाढाको जून

शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ माया साँच्चै टाढाको जून जस्तै...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

गजल

गजल

उत्तम विचार,नुवाकोट छोडी गइन् ममाथि शङ्का गरेर कोही आइन् यता...

कविता : अन्तिम पाना

कविता : अन्तिम पाना

भुवन शिवाकोटी चौघरे,काठमाडौँ लेख्दा लेख्दै मन छोयौ मनभित्र झन भित्र...