
९ असार । (एजेन्सी) इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकप(ICC World Cup Cricket 2019)मा पाकिस्तान(Pakistan)ले दोस्रो जित हासिल गर्दै आफ्नो यात्रालाई निरन्तरता दिएको छ ।
आइतबार रातीको खेलमा पाकिस्तानले दक्षिण अफ्रिका(South Africa)लाई ४९ रनले पराजित गरेको छ । ३ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५९ रनमा समेटिएको थियो ।
दक्षिण अफ्रिका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६३ रनको योगदान दिए भने क्विन डी ककले ४७ रनको योगदान गरे । यस्तै ही भान डेर डुसेनले ३६ र डेविड मिलरले ३१ रन बनाए । फेलुक्वाले अविजीत ४६ रन बनाए भने क्रिस मोरीसले १६ रन बनाए । बलिङमा पाकिस्तानका वाहेब रियाज र सहदाव खानले तीन तीन विकेट लिएका थिए।
पाकिस्तानको जितमा नायक बने तीब्र गतिका मोहम्मद आमिर । उनले १० ओभरमा १ मेडन सहित ४९ रन खर्चेर २ विकेट हात पारे । सादब खानले १० ओभरमा १ मेडन सहित ५० रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै वहाब रियाजले पनि १० ओभरमा ४६ रन खर्चेर ३ विकेट हात पारे । शाहिन शाह अफ्रिदीको नाममा १ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो ।
यो जितसँगै पाकिस्तान ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ । अब उसको आगामी खेल शक्तिशाली प्रतिस्पर्धीसँग सामाना गर्नुपर्नेछ । पाकिस्तानले २६ जुलाईमा यो विश्वकपमा कुनै पनि खेल नहारेको न्यूजील्याण्डसँग भिडने छ ।
बाहिरियो दक्षिण अफ्रिका
दक्षिण अफ्रिका इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।
आइतबार राती पाकिस्तानसँग ४९ रनले पराजित भएपछि अफ्रिकाको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लिग चरणका दुई खेल अगावै समाप्त भएको हो । ७ खेलमा १ मा जित र ५ खेलमा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिकाले बाँकी दुबै खेल जितेपनि सेमिफाइनलमा पुग्न सक्दैन ।
न्युजिल्यान्ड ६ खेलमा ५ मा जित निकाल्दै ११ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको अष्टेलियाले ६ खेलमा ५ मा जित र १ मा हारका साथ १० अंक बटुली सकेको छ । तेस्रो स्थानमा रहेको भारतले पनि ५ खेलमा ९ अंक जोडेको छ । घरेलु टोली इंग्ल्यान्डले ६ खेलमा ४ मा जित र २ मा हारका साथ ८ अंक बटुल्दै चौथो स्थानमा छ । यसअघि ६ खेलमा ६ मानै पराजित हुँदै पुछारमा रहेको अफगानिस्तान पनि तीन खेल अगावै लिग चरणबाट बाहिरि सकेको छ ।
अफगानिस्तान र दक्षिण अफ्रिका दुबैले बाँकी सबै खेल जिते ६ अंक मात्रै पुग्ने हुँदा लिग चरणबाटै बाहिरिएका हुन् ।
वि.सं.२०७६ असार ९ सोमवार १०:०५ मा प्रकाशित
























