२५ असार, काठमाडौँ । सर्वाेच्च अदालतले द्वन्द्वको समयमा हतियारसहित भागेका दुई सैनिकलाई जन्मकैदको फैसला सदर गरेको छ । सैनिक अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला कानुनबमोजिम भएको ठहर सर्वाेच्चले गरेको हो ।
न्यायधीसद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै सैनिक अदालतले गरेको फैसलालाई कानुनबमोजिम ठहर गर्दा दुई भगौडा सैनिकलाई जन्मकैद हुने भएको छ । सैनिक सिंहबहादुर शाही र झलकुमार भगतलाई सैनिक अदालतले जन्मकैदको फैसला सुनाएको थियो । सैनिक अदालतको फैसलाविरुद्ध दुवैजनाले सशश्त्र द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायमार्फत टुंग्याउनुपर्ने माग राखी आफूहरुलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित सर्वाेच्चमा रिट दर्ता गरेका थिए । सर्वाेच्चले संविधान र कानुनबमोजिम नै थुनामा राखिएकाले गैरकानुनी मानी बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने भन्दै रिट खारेज गरेको हो । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ असार २५ बुधवार ०८:२१ मा प्रकाशित






























